नेपाली राजनीतिमा परिवारवाद : कम्युनिष्टदेखि काँग्रेससम्म, छोरादेखि नातीसम्म

काठमाडौँ । एउटा पुस्ताले अपनाएको राजनीतिक बाटो र विरासतलाई पछ्याउँदै जब सोही परिवारबाट अर्को पुस्ता आइपुग्छ, त्यतिबेला परिवारवादको आरोप लाग्ने गर्छ । परिवारवादको प्रभाव विश्व राजनीतिमै देखिन्छ । तर दक्षिण एसियाको राजनीतिमा यसको प्रभाव अझ गहिरो छ। त्यो प्रभावबाट नेपालको राजनीति पनि मुक्त छैन ।

नेपालका अधिकांश नेताका छोराछोरीदेखि नातिसम्मका पुस्ता कुनै न कुनै रुपमा राजनीतिमा सक्रिय देखिन्छन् । कुन नेताका कुन छोराछोरी नेपालको राजनीतिमा सक्रिय छन् भन्ने विषयमा संक्षिप्त सिंहावलोकन गरिएको छ ।

– नेपालको राजनीतिमा कोइराला परिवारको विशेष प्रभाव र योगदान रहेको छ । किनकी वि.सं. २००७ सालका क्रान्तिका कमाण्डर बिपी कोइरालाको सम्पूर्ण पुस्ता नै राजनीतिमा समर्पित भएका लागेका छन् । उनको तीन पुस्ता नै राजनीतिमा सक्रिय छ । उनका भाई गिरिजाप्रसाद कोइराला नेपालमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बनेका नेता हुन् ।

बिपीका छोरा प्रकाश कोइराला पनि कुनै समय राजनीतिमै थिए । उनी वि.सं. २०५६ सालको आमनिर्वाचनमा रौतहटबाट निर्वाचित भएका थिए । वि.सं. २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रीमण्डलमा विज्ञान तथा प्रविधि मन्त्री बन्न गएपछि उनी हाल निष्क्रिय सरह छन् । राजाको त्यतिबेलाको कदमलाई ‘प्रजातन्त्र ट्र्याक’मा ल्याउने कदमका रूपमा व्याख्या गर्दै मन्त्रीमण्डलमा सहभागि भएपश्चात हाल उनी असामयिकप्राय बन्न पुगेका छन् ।

बिपीका भाई र छोराहरू मात्रै नभएर उनको तेस्रो पुस्ता पनि नेपाली काँग्रेसको राजनीतिमा चर्चित छन् । शंशाक कोइराला हाल नेपाली काँग्रेसका महामन्त्री छन् । त्यस्तै शेखर कोइराला र सुजाता कोइराला पनि काँग्रेसमा कोइराला परिवारको विरासत थाम्ने समकालीन नेताहरू हुन् ।

– कोइराला परिवारपछि राजनीतिमा पारिवारिक विरासतलाई अघि बढाउन दश वर्षे सशस्त्र विद्रोहबाट शान्तिपूर्ण राजनीतिमा आएका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कम योगदान दिएका छैनन् । उनले युद्ध अवधिभर आफ्नी श्रीमती सीता दाहाललाई सँगसँगै लिएर हिँडे ।

प्रचण्डका छोरा प्रकाश दाहाल पनि युद्धकालदेखि नै राजनीतिमा सक्रिय थिए । शान्तिपूर्ण राजनीतिमा आइसकेपछि उनले बाबुको छायाँको रुपमा रहेर स्वकीय सचिवका रूपमा कार्य गरे । वि.सं. २०७४ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनअघि हृदयघातका कारण असामयिक निधन हुन पुगेका प्रकाशको भूमिकामा यतिबेला प्रचण्डकै छोरी गंगा दाहाल सक्रिय छिन् ।

प्रकाश दाहालकी कान्छी श्रीमती अर्थात् प्रचण्डकी बुहारी बीना मगर यतिबेला खानेपानी मन्त्रीको भूमिकामा छिन् । विद्यार्थी राजनीतिबाट आएकी मगर प्रचण्डसँग पारिवारिक नाता जोडिएकै कारणले मन्त्री हुन सफल भएको चर्चा बेलाबेला चल्ने गर्छ ।

उता प्रचण्डकै अर्की छोरी रेनु दाहाल भरतपुर महानगरपालिकामा मेयर छिन् । पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद समेत बनेकी दाहाल दोस्रो संविधानसभा निर्वाचनमा भने काठमाडौँबाट पराजित भएकी थिइन् ।

– नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि राजनीतिमा सक्रिय छिन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यायलमा विद्यावारिधि गर्दागर्दै पढाईलाई बिचमै छाडेर उनी राजनीतिमा लागेकी हुन् । अध्यनमा जेहेन्दार विद्यार्थीको रुपमा चिनिने मानुषीले त्रिभुवन विश्वविद्यालयबाट स्वर्ण पदक समेत प्राप्त गरेकी छन् ।

– वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र स्वर्गीय नेता मदन भण्डारीका दुई छोरीमध्ये जेठी छोरी उषाकिरण भण्डारी राजनीतिमा सक्रिय छिन् । तत्कालीन नेकपा (एमाले)को भगिनी संगठन अखिल नेपाल महिला संघको विदेश विभाग प्रमुख समेत रहिसकेकी भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत हुन् ।

– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी नै कुनै न कुनै रूपमा राजनीतिमा सक्रिय छन् । उनका जेठा छोरा निर्मल महरा ‘एटम’ तत्कालीन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य थिए । सेना समायोजन हुनु अघिसम्म उनी विद्रोही जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर समेत थिए । उनका कान्छा छोरा राहुल पनि राजनीतिमै छन् । त्यस्तै जेठी छोरी उन्नती र कान्छी छोरी कुश्मा पनि राजनीतिक रूपमा सक्रिय नै छन् ।

– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव समेत पछिल्लो समय राजनीतिमै छन् । फार्मेसीमा भारतबाट स्नातक तहको अध्ययन सिध्याएर फर्किएपछि उनी राजनीतिमा लागेका हुन् । समाजवादी युवा फोरमका केन्द्रीय सदस्य र विदेश विभाग प्रमुखका रुपमा उनले राजनीति गरिरहेका छन् ।

– पूर्व राष्ट्रपति रामवरण यादवका जेठा छोरा डा. चन्द्रमोहन यादव पनि राजनीतिमा सक्रिय नेताका छोराछोरीहरू मध्येमै पर्छन् । उनी २०६५ सालको संविधानसभा उपनिर्वाचनमा धनुषा–५ बाट निर्वाचन लडेका थिए । उक्त निर्वाचनमा पराजय बेहोरे पनि २०७० सालको निर्वाचनमा उनी विजयी भएका थिए । पूर्वराष्ट्रपति यादवका कान्छा छोरा चन्द्रशेखर यादव इन्जिनियरिङ पेशामा छन् । त्यस्तै उनकी कान्छी छोरी अनिता यादव सामाजिक कार्यहरूमा सक्रिय देखिन्छिन् ।

– वि.सं. २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमा सिंहका छोरा प्रकाशमान सिंह राजनीतिमा स्थापित भइसकेका नेता हुन् । पटक–पटक उप–प्रधानमन्त्री भइसकेका प्रकाशमानका छोरा प्रभासमान पनि राजनीतिमै लागेका छन् । अष्ट्रेलियाबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका प्रभासमान तरुण दलका पार्षद् हुन् ।

– स्व. पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा र नाति नै राजनीतिमा लागेका छन् । राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री समेत भइसकेका सुर्यबहादुरका छोरा सुनिलबहादुर दुई पटक मन्त्री समेत भइसकेका छन् । त्यस्तै सुनिलबहादुरका छोरा सिद्धार्थले पनि बाबु–बाजेकै पदचिह्न पछ्याएका छन् । बेलायतबाट डबल बिए गरेका सिद्धार्थले अमेरिकाबाट ग्रामीण विकास विषयमा एमए गरेका छन् । हाल उनी प्रजातान्त्रिक युवा संघका केन्द्रीय सदस्य छन् ।

– गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकले पनि बाबुकै राजनीतिक बाटोलाई पछ्याएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका चार छोराहरूमध्ये जेठा छोरा जयन्त राजनीतिमा सक्रिय छन् । उनी राप्रपाका महामन्त्री समेत भइसकेका छन् ।

-नेपालीपत्रबाट साभार