पाथीभरामा एकै दिन ९ हजार दर्शनार्थी

ताप्लेजुङ — हिमपात र वर्षाका कारण शनिबार पाथीभरा दर्शनमा गएका तीर्थयात्री प्रभावित भएका छन् । बिहान ९ बजेदेखि परेको वर्षासँगै मध्याह्न १२ बजेपछि हिउँसमेत थपिएपछि यात्रुहरू समस्यामा परेका हुन् । प्रतिकूल मौसम भए पनि शनिबार एकै दिन ९ हजार जना पाथीभरा पुगेका छन् ।

दिउँसो ३ बजेसम्म अविरल वर्षा भइरहँदा यात्रीहरू प्लास्टिक ओढेर यात्रा गरिरहेका थिए । यात्रुलाई प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकले सहजीकरण गरेका थिए । शुक्रबार साँझसम्मै अधिक तीर्थयात्री गएपछि सदरमुकाम फुङलिङबाट नेपाल प्रहरी र सशस्त्रको थप टोली परिचालन गरिएको थियो ।

प्रहरीको अस्थायी प्रहरी चौकी माथिल्लो फेदीमा पनि छ । सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालका अनुसार शुक्रबार २ सय ६१ यात्रुवाहक सवारीसाधनताप्लेजुङ भित्रिएका थिए ।

यात्रु बोक्ने बस र साना गाडीमात्रै यत्तिको संख्यामा आएको ढकालले बताए । फुङलिङ नगरपालिका ७ हेलिप्याडको सशस्त्र प्रहरी जाँच चौकीमा सवारीसाधनको विवरण राखिन्छ । पाथीभरा मन्दिरमा गएकाहरूलाई सदरमुकामसम्म फर्काउन खाली सवारीसाधनलाई तत्काल फर्काइहाल्ने र मोटरबाटो अवरुद्ध हुन नदिन एस्काभेटर प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

‘बिहानैदेखि सडकमै छु,’ थापाले भने, ‘यात्रु अलपत्र नपरुन् र कम्तीमा सदरमुकाम फुङलिङसम्म आइपुगुन् भनेर खाली भएका सवारीसाधनलाई तुरुन्तै पठाइरहेका छौं ।’ साँझसम्म फर्कन नसकेका यात्रुलाई काफ्लेपाटी र आसपासका होटलमा सुरक्षित ढंगले बस्ने व्यवस्था मिलाइने उनले बताए ।

पाथीभरामा शनिबार ९ हजार बढीले दर्शन गरेका छन् । माथिल्लो फेदीमा रहेको तथ्यांक संकलन केन्द्रका अनुसार बिहान ११ बजे ९ हजार तीर्थयात्री फेदीबाट पाथीभरातर्फ गएका थिए । यो सिजनकै सबैभन्दा धेरै संख्या भएको प्रहरीले जनाएको छ । तथ्यांक टोलीका अनुसार अघिल्लो शनिबार १ हजार ३ सयले मन्दिरमा पूजा गरेका थिए । चैते दसैंको सिजनमा पाथीभरामा अधिक तीर्थयात्री आउने गरेका छन् । अझ शनिबार र मंगलबार यात्रुको चाप बढी हुन्छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेकाले धेरै तीर्थयात्री आउने चैत, वैशाख, असोज र कात्तिकमा स्वयंसेवक परिचालन गर्ने गरिएको छ । सुकेटार विमानस्थलदेखि काफ्लेपाटीसम्मको सडक कच्ची भएकाले बस लगायतका ठूला सवारी र साना गाडी पनि यो सडकमा चल्दैन । साना फोरहवील गाडीमात्रै चल्ने गरेको छ ।

यसमा अधिकतम १६ यात्रु अटाउँछन् । त्यसैले यात्री व्यवस्थापनमा समस्या हुने गरेको छ । काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म उच्च हिमाली क्षेत्र भएकाले लेक लाग्ने जोखिम धेरै हुन्छ । यसलाई न्यूनीकरण गर्न र यात्रुहरूलाई असुविधा नहोस् भनेर माथिल्लो फेदीमा प्राथमिक उपचार केन्द्र राखिएको छ ।

लाइनलगाएर पूजा
चैत, वैशाख, असोज र कात्तिकमा यात्रुलाई लाइनमा लगाएर पूजा गराउने गरिएको छ । स्वयंसेवकको टोलीले लाइन लगाउन सहजीकरण गर्छन् । यो सिजनका लागि १० स्वयंसेवक परिचालन गरिन्छ ।

उनीहरूले यात्रुलाई सहयोग गर्ने, वृद्ध, बालक हिँड्न नसके गन्तव्यमा पुर्‍याउन मद्दत गर्ने, बासको व्यवस्थापनगरिदिने र गन्तव्यमा पुग्न सहयोग गर्ने गरेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका सचिव लक्ष्मी काफ्ले बताउँछन् ।

पाथीभरा दर्शनका लागि नेपाललगायत भारतको आसाम, सिक्किम, मणिपुर, दार्जिलिङ र पश्चिम बंगालदेखिका तीर्थयात्री आउने गरेका छन् ।