साइकलमा दूध बेच्न आएका वृद्धलाई भारतीय नम्बरको स्कार्पियोले ठक्कर दिँदा घाइते

जनकपुर । जनकपुरमा आईतबार बिहान भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट एक वृद्ध घाइते भएका छन् ।वृद्ध राम नारायण यादवलाई बी.आर. ३२ पि.ए. ३३५९ नम्बरको भारतीय सेतो रंगको स्कार्पियोले जनकपुर ७ स्थित वशिष्ठ चौकमा साईकलमा दूध बेच्न जाँदै गर्दा यादवलाई पछाडिबाट ठक्कर दिएको छ ।

जनकपुरको जीरो माइल तर्फबाट पश्चिम रामानन्द चौक जाने बाटोमा भारतीय नम्बरको उक्त गाड़ीले दूध बेच्ने यादवलाइ ठक्कर दिएको स्थानीयले जनाएका छन् ।

अत्याधिक गतिमा रहेको गाड़ीले ठक्कर दिएर तत्काल स्कार्पियो चालक फरार भएको देखेपछि स्थानीयहरुले घाइते यादवलाई उठाएर प्राथमिक उपचार सुरु गरेका थिए । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।

स्थानीयको सहयोगमा प्रहरीले तत्कालै चालक लुकेर बसेको ठाउँमा पुगी पक्राउ ग़री जनकपुर जीरो माइलस्थित जीरो माइल प्रहरी चौकीमा राखिएकाे छ ।

घाइते महोत्तरी निवासी यादवलाई थप उपचारका लागि अञ्चल अस्पतालमा लगिएको छ । घाइते यादवको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ । दूध बेन्न प्रयाेग गरिने साईकल पूर्ण रूपले क्षति भएको छ ।