‘जेष्ठ रेडियोकर्मी’ आचार्यको निधन

गोरखा-  गोरखाको पुरानो रेडियो, ‘रेडियो गोरखा ९२.८ मेगाहर्ज’ मा क्रियाशील रेडियोकर्मी ८७ वर्षीय नेत्रमणि शर्मा आचार्यको आज निधन भएको छ ।

रेडियोमा नियमित बज्ने धार्मिक कार्यक्रमका प्रस्तोता गोरखा नगरपालिका–५ हिलेपोखरीका आचार्यको आज (शनिबार) काठमाडौँमा निधन भएको हो ।

राजधानीको प्रदशर्नीमार्गस्थित मानविकी क्याम्पसमा आयोजित नियमित मासिक साहित्यिक श्रृङ्खला ‘साहित्य सन्ध्या’ मा कविता वाचन गरेपछि अर्धचेत (बेहोस) हुनुभएका आचार्यको मोडल अस्पतालमा उपचारका क्रममा आज निधन भएको उनका नाति सञ्जय अधिकारीले जानकारी दिए ।

‘झल्को लाग्छ कुन्नी किन हो मलाई त्यो १७÷१८ वर्षको’ शब्द रहेको छन्दले भरिएको कविता सुनाएपछि बेञ्चमा बस्नुभएका आचार्य बेहोस भई ढलेपछि आयोजकको सक्रियतामा उपचारका लागि अस्पताल पु¥याइएको थियो । कविता वाचन गर्न मञ्चमा पुग्दा हँसिलो र ताजा देखिएका आचार्य कविता वाचनपछि एक्कासी ढलेको बताइएको छ । उनको निधन के कारणले भएको भन्नेबारे जानकारीमा आइनसकेको पारिवारिक स्रोतले जनाएको छ ।

आचार्यले ‘रेडियो गोरखा’मा दिनहुँ धार्मिक कार्यक्रम प्रस्तुत गर्दै आएका थिए । आचार्य बिरामी श्रीमतीको उपचारका लागि केही समयदेखि काठमाडौँमा रहँदै आएका थिए । आचार्यले रेडियोका साथै गोरखाको पहिलो दैनिक ‘दरौँदी’ दैनिकमा पनि साप्ताहिकरुपमा धार्मिक लेख, कविता प्रकाशित गर्दै आएका थिए । “आचार्यको निधनले गोरखाली साहित्यिक क्षेत्रमा ठूलो क्षति पु¥याएको छ”– साहित्य सङ्गम गोरखाका अध्यक्ष शिव अप्रियले भने, “एउटा साहित्यिक धरोहरको विलय भयो ।”

देशभरका रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोराव) का वरिष्ठ उपाध्यक्ष एवम् रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजङ्ग थापा आचार्यको निधनले रेडियो, पत्रकारिता र साहित्यिक क्षेत्रमा ठूलो क्षति पुगेको बताउँछन् । थापाले भने, “८७ बर्से आचार्यले रेडियोमा नियमित कार्यक्रम गरिरहनुहुन्थ्यो । नेपालभरका रेडियोमा कार्यक्रम गर्ने रेडियोकर्मीमध्ये सम्भवतः आचार्य एक्लो जेष्ठ व्यक्ति हुनुहुन्थ्यो ।” आचार्यले विसं २०६४ देखि नियमित रेडियोमा धार्मिक कार्यक्रम गर्दै आएका थिए ।

विसं २०३१ मा श्री ५ वीरेन्द्र राज्याभिषेक पदक प्राप्त गर्नुका साथै नेपाल प्रज्ञा–प्रतिष्ठान, हरि सांस्कृतिक केन्द्र गोरखा, तथा साहित्य सङ्गम गोरखालगायतबाट सम्मान तथा पुरस्कार प्राप्त आचार्यले पच्चीस थुङ्गा, शिलान्यासलगायत दर्जन भन्दाबढी पुस्तक प्रकाशित गरेका थिए ।

आचार्यका श्रीमती, तीन छोरा र तीनजना छोरी छन् । उनी नेपाल सरकारका पूर्वकर्मचारी पनि हुन् ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार