१६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा

प्रकाशित मिति :2016-11-11 18:21:26

thankaकाठमाडौँ, २६ कात्तिक । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा १६ राष्ट्रका कलाकारले बनाएको विश्वको सबैभन्दा ठूलो थाङ्का आजदेखि प्रदर्शनीमा राखिएको छ।

मनाङ सेवा समाजको आयोजनामा दशरथ रङ्गशालामा नेपाली कलाकार सूर्यबहादुर थकाली र जापानी कलाकार यासुका तातागीको नेतृत्वमा निर्माण गरिएको ७० मि लम्बाइ र ५० मि चौडाइको सो थाङ्काले गौतम बुद्धको जीवनीलाई प्रस्तुत गरेको छ ।

सो प्रदर्शनीको उद्घाटन गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुद्धले देखाएको बाटो नै मानवसभ्यताको दिगो बाटो भएकाले उनको सन्देश विश्वभरि फैलाउनुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “बुद्धको सिद्धान्तलाई विश्वसामु चिनाउन यो थाङ्काले महत्वपूर्ण भूमिका खेलेको छ ।”

नेपालका लागि जापानी राजदूत मासासी ओगावाले थाङ्का प्रदर्शनीले नेपाल–जापान सम्बन्ध अझै बलियो हुने बताउँदै सम्बन्धको ६० औँ स्थापनाका अवसरमा राजदूतावासले विभिन्न कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

पूर्व श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले विश्वकै सबैभन्दा ठूलो थाङ्कालाई सरकारले नेपालमा राख्न सके नेपाल पर्यटकको आकर्षकको केन्द्रबिन्दु हुन सक्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कलाकार थकाली, जापानी कलाकार तातागी लगायतले १२ वर्षको अथक प्रयासले गर्दा उक्त थाङ्का निर्माण भएको र यसमा बुद्धको जन्मदेखि परिनिर्वाणसम्मको अवस्थालाई समेटेको जानकारी दिनुभयो।

उक्त थाङ्का आज र शनिबार काठमाडौँमा, आगामी मङ्सिर ५ र ६ गते पोखरामा र मङ्सिर ११ र १२ गते लुम्बिनीमा प्रदर्शन गरिने छ ।


ताजा समाचार