राजनीतिमा प्रवेश गरेपछि रेखाले भनिन्– म हिन्दू नायिका, प्रधानमन्त्री बन्न सक्छु (अन्तर्वार्ता)

प्रकाशित मिति :2016-12-12 17:05:14

अक्सर चर्चामा रहने अभिनेत्री हुन् रेखा थापा । केही न केही कारणले उनी चर्चाको विषय बन्ने गरेकी छन् । यतिखेर पनि उनको चर्चा चुलिएको छ । आज अचानक राप्रपामा प्रवेश गरेपछि उनको चर्चा चुलिएको हो ।
थापाको राप्रपा प्रवेशको विषयमा विभिन्न आडकलबाजी भइरहेका छन् । आखिर किन रोजिन् रेखाले राप्रपा ? रातोपाटीकर्मी कुवेर गिरीले रेखासँग कुराकानी गरेका छन् ।

आधिकारीक रुपमा अहिले नै हो पार्टीमा प्रवेश गरेको भन्नु भयो । यसअघि माओवादीमा प्रवेश गर्नु भएको होइन र ?
त्यतिबेला चुनावको तयारी हुँदै रहेछ । त्यो बेला टिका लगाएर मलाई पार्टी (माओवादी केन्द्र) मा भित्र्याइयो । तर, पार्टीकोसदस्यता लिएर र बुझेर छिरेको अहिले मात्र हो । यस अगाडि म कुनै पनि पार्टीको सदस्य छैन । सबैले बुझ्दा हुन्छ ।

पहिले प्रचण्डलाई हिरो मान्नुहुन्थ्यो । अहिले कमल थापाबाट प्रभावित छु भन्नु हुन्छ नि ?
त्यतिबेला मैले मात्र होइन । गणतन्त्रको हिरोको रुपमा सबैले लिन्थे, उहाँलाई । समय परिवर्तनशील छ । अहिलेको समयमा हेर्ने हो, भने कमल थापा हिरो हुन् । हिजो माओवादीले बोकेको एजेन्डा कति कार्यान्वयन भयो त्यतातिर पनि ध्यान दिनुपर्र्छ । अहिले कुन पार्टीले महत्वपुर्ण एजेण्डा बोकेको छ । यो सबैभन्दा महत्वपुर्ण कुरो हो । मेरो कुरा छोड्दिनुस् न । प्रचण्डसँगै जनयुद्ध लडेर आएका डा.बाबुराम भट्टराईले पनि त उहाँलाई छोड्नु भएको छ । म त सदस्य पनि थिइन । म जहाँ पनि जान पाउँछु । यो मेरो स्वतन्त्रता हो ।

माओवादीबाट उम्मेद्धारी बन्न नपाएर राप्रपा रोज्नु भएको त होइन नि ?
होइन, होइन । त्यो समय जनताले माओवादी पार्टीलाई अथाहा विस्वास गरेका थिए । तर सो विस्वास पुरा हुन सकेन । पछिल्लो घटना परिघटनाले पनि यो देखाएको छ । मेरो कुरा गर्ने हो भने पनि वैचारिक रुपमा कार्यकर्ता नै बन्छु भनेर झोला बोकेर पनि माओवादीमा हिँडेको हैन । त्यो बेला टिका लगाएर पार्टीमा छिर्ने लहर थियो । त्यो लहरमा धेरै ब्यक्तिको साथमा म पनि थिएँ ।

भोलिका दिनमा अर्काे पार्टीमा जाने सम्भावन छ कि छैन ?
छैन । अब म कुनै पनि पार्टीमा जान्न । किनभने मलाई फुर्सद नै छैन । म समाज र देशको सेवा गर्न चाहने मानिस हुँ । म हिन्दू नारी । राष्ट्रवादी महिला हँु । जुन हिसावले हेर्दा पनि यो मेरा लागि आत्मसन्तुष्टि मिल्ने पार्टी हो ।

कसका लागि राजनीति गर्न चाहनु हुन्छ ?
म समाज सेवाका लागि राजनीतिमा होमिएकी हुँ । यो पार्टीमा लागेर जनताको सेवा गर्छु ।

जनता गणतन्त्रको पक्षमा छन् । तपाईको राप्रपाले हिन्दू राज्यको कुरा बोकिरहेको छ । यो पार्टीमा लागेर राजनीति गर्दा जनताको विरुद्ध हुन्छ जस्तो लाग्दैन ?
लाग्दैन । मलाई लाग्छ प्रत्येक नेपाली जनता राष्ट्रियताको पक्षमा छन् । म पनि त्यही पक्षमा हुँदा उहाँहरुको विरुद्ध कसरी हुन्छ ?

तपाई राजा चाहिन्छ भन्ने पक्षमा हो ?
यो पार्टीमा भर्खर म प्रवेश गरेको छु । त्यो विषयमा अहिलै मैले केही बोल्न मिल्दैन । महाधिवेशन पछि पार्टीले जुन दिशा लिन्छ त्यो मलाई मञ्जुर छ । अहिलेलाई केही बोल्दिन ।

तपाई भन्दा पहिले परिवारका कुनै सदस्य यो पार्टीमा आवद्धता थिए कि ?
मेरो काका र हजुरबुबा राप्रपामा लाग्नु भएको थियो ।

केही पहिले तपाईँको आमा एमाले भन्ने हल्ला थियो नि ?
होइन, होइन । मेरो ममीले मित बुबालाई सघाउनु भएको हो । उहाँ एमालेको उम्मेद्वार हुनु हन्थ्यो । (रेखासँगै उनकी आमा सरस्वती पनि राप्रपामा प्रवेश गरेकी छिन् )

राप्रपा प्रवेश गर्नुअघि माओवादीका नेतासँग कुरा भएको छ कि भएन ?
म माओवादीको कुनै पनि घेराभित्र थिइनँ । कार्यकर्ता पनि होइन । म स्वतन्त्र मान्छे हुँ । यस हिसावले पनि मैले पार्टीलाई सोध्नु पर्ने, अनुमती लिनुपर्ने भन्ने केही छैन । तर मलाई आज बिहानै फोन गरेर नारायकाजी श्रेष्ठजीले केही कुरा गर्नु भो । हामी बीच केही डिस्कस पनि भयो । पछि उहाँले पनि शुभकामना दिनु भयो ।

राप्रपा प्रवेश गर्दा तपाईँले राखेको मन्तब्यमा माओवादीमा लाग्दा आत्मासम्मानमा ठेस पुगेको आशय राख्नु भयो । माओवादीमा लाग्दा अप्ठ्यारा आएका हुन् ?
मेरो दर्शक, शुभचिन्तक लगायत सबैले मलाई कहिल्यै पनि माओवादीका रुपमा हेर्नु भएन । मलाई कलाकारकै रुपमा हेर्नु भएको छ । तर कहिले काहिँ मन्दिर जाँदा तपाई पनि आउनु भयो भन्थे । ति ब्यक्तिले राजनीति बुझेर होला सायद । मलाई सबैले राष्ट्रवादी नायिका, हिन्दू नायिका भनेर बुझ्छन् । अबका दिनमा पनि त्यसरी नै चिनिन चाहन्छु ।

माओवादीका सागर थापालाई भाई बनाएर टिका लगाउदै आउनु भएको छ । त्यसले निरन्तरता पाउँछ कि पाउदैन ?
माओवादीमा टिकाटालोको संस्कार रहेनछ । मैले टिका लगाउँदै आएको थिए । यो बर्ष भएन ।

केही पहिले मेरो नेचर कान्तिकारी हो । चलचित्रमा पनि यस्तै भुमिका निर्बाह गर्दै आएको छु । भन्नु भएको थियो होइन र ?
क्रान्तिकारी त अहिले पनि छु र हुँ पनि । ममा अग्रगामी सोच अहिले पनि छ । दुर्दर्र्शिता अहिले पनि छ । यो माओवादीको शब्द मात्र होइन नि । मेरो चलचित्रले पनि त यहि देखाएको छ ।

राजनीतिमा लागेर के गर्ने लक्ष्य लिनु भएको छ ?
यो मेरो कार्य र भोलिको दिनमा यसमा लाग्ने सक्रियताले निर्धारण गर्दछ । अहिले नै यसो भन्न सक्दिन ।

भित्रि इच्छा त केही न केही होला नि ?
म चलचित्र क्षेत्रमा आउँदा वा पहिलो चलचित्र अभिनय गर्दा नेपालको नम्बर वान हिरोइन बन्ने लक्ष्य थियो । त्यो पूरा भयो पनि । त्यस्तै राजनीतिमा पनि त्यस्तो सोच निश्चय नै छ । राजनीतिको चुरोमा पुग्न चाहन्छु ।

अभिनेत्री करिष्मा मानन्धर राजनीतिमा आउँदा राष्ट्रपतिको दावेदारको रुपमा चर्चा थियो । तपाईको पनि केही न केही लक्ष्य त होला नि ?
जसरी म चलचित्र क्षेत्रबाट जनताको मन जित्न सफल छु । त्यसैगरी राजनीतिबाट पनि जित्न सकेँ भने देशको ठुलो पदमा हुनेछु ।

तपाईलाई कार्यकारी प्रधानमन्त्री राम्रो लाग्छ कि राष्ट्रपति ?
जो कोही पनि कार्यकारी प्रधानमन्त्रीको कार्य गर्न चाहन्छ ।

आगामी निवार्चनमा तपाईलाई उम्मेद्वारको रुपमा देख्न पाइन्छ कि पाइँदैन ?
अवस्य पनि पाइन्छ । मन्त्री वा प्रधानमन्त्री चाँही त्यो मेरो भोलिका दिनले निर्धारण गर्छ । ‘म सभासद बन्छु , मन्त्री वा प्रधानमन्त्री बन्छु’ भन्ने कुरा सबैको मन भित्र छ । त्यो चहाना कसलाई हुँदैन र !

Rato Patiबाट


ताजा समाचार