भारतीय नोट सटहीबारे अन्योल कायमै

प्रतिबन्धित ५ सय र १ हजार दरका भारतीय नोट ब्याङ्कमा जम्मा गर्ने म्याद भारतमा गुज्रिसकेको छ तर नेपालका ब्याङ्क, वित्तीय संस्था र व्यक्तिहरुसँग भएका प्रतिबन्धित भारु नोटबारे के गर्ने भन्ने अन्योल कायमै छ।

नेपाल राष्ट्र ब्याङ्कका अधिकारी भन्छन्, अनौपचारिक कुराकानीमा नेपालमा रहेको नोटको व्यवस्थापनका लागि पहल भइरहेको भारतीय अधिकारीहरुले बताउने गरेपनि लिखित रुपमा गरिएको आग्रहको जवाफ आइसकेको छैन।

भारत पठाउने भनिएको राष्ट्र ब्याङ्कको टोलीसमेत समय नपाएका कारण छलफलका लागि दिल्ली जान सकेको छैन।

आग्रह

कालोधन नियन्त्रणका लागि भन्दै नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजारका नोटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

तर शुक्रबारसम्मको म्याद दिएर प्रतिबन्धित नोटको सीमा तोकेर भारतीय ब्याङ्कमा रहेका खातामा जम्मा गर्नसक्ने व्यवस्था लागू गरिएको थियो।

त्यो व्यवस्थाभित्र नेपाल नपरेपछि नेपालका थुप्रै ब्याङ्क, वित्तीय संस्था, सटहीका लागि अनुमति पाएकाहरु र सर्वसाधारणसँग भएका उक्त दरका नोट हालसम्म साटिएका छैनन्।

नेपाल राष्ट्र ब्याङ्कका तर्फबाट लिखितपत्र नै पठाएर नेपालमा भएका नोटहरु फिर्ता लिइदिन आग्रह गरिएको थियो।

तर भारतीय केन्द्रिय ब्याङ्क ‘रिजर्ब ब्याङ्क अफ इण्डिया’ कातर्फबाट शुक्रबारसम्म पनि त्यसको जवाफ नआएको राष्ट्र ब्याङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।

उनले भने, “हामी भारतीय पक्षबाट निकाससहितको केही जवाफ आउँछ भन्ने पर्खाईमै छौं। अहिलेसम्म केही पनि आइसकेको अवस्था छैन, धेरै पटक गभर्नरको तहमा, विभागको स्तरमा कुराकानी भएको छ र त्यो पहल जारी रहेको छ।”

भारतअनुमान

तर अनौपचारिक कुराकानीमा भारतीय अधिकारीहरुले नेपालमा रहेका नोट सटहीको समस्याको निकास निकाल्न पहल भइरहेकाले केही दिन पर्खन आग्रह गर्ने गरेको उनले बताए।

यस विषयमा कुरा गर्न राष्ट्र ब्याङ्कको एउटा टोली भारत पठाउने तयारी गरेपनि भारतका अधिकारीहरुसँग भेटघाटका लागि समय नपाएका कारण जान नसकेको बताइएको छ।

शुक्रबारमात्रै भारतभित्रै रहेका नोटको व्यवस्थाको काम सकिएकाले अब नेपालमा रहेका नोटबारे छिट्टै जवाफ आउने आशा राष्ट्र ब्याङ्कका अधिकारीहरुको छ।

भारतीय प्रतिबन्धित नोट धेरै रहेको ठानिएको निजी क्षेत्रले उक्त नोट साट्न राजनीतिक रुपमै पहल गर्न सरकारलाई आग्रह गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, “अझै पनि समस्याको समाधान गर्न सकिन्छ भन्ने लाग्छ। वैधानिक रुपमै चलेका ती नोटहरु सरकारले भारत सरकारसँग राजनीतिक पहल गरेर फिर्ता गराउने काम गर्नुपर्छ”।

नेपालको ब्याङ्किंग प्रणालीमा साढे ३ करोड जति ५ सय र १ हजार दरका भारतीय नोट रहेको राष्ट्र ब्याङ्कले भारत पठाएको पत्रमा उल्लेख गरिएको छ।

व्यवसायी र सर्वसाधाणसँग त्यो भन्दा निकै ठूलो परिमाणमा उक्त दरका नोट रहेको अनुमान गरिएको छ।

तर त्यसको यकीन तथ्याङ्क भने कसैसँग छैन।

Notes Nepal
loading...

Loading...

ताजा समाचार