कोरियामा नेपाली युवाहरुलाई व्यवसायिक खेतीका लागि कृषि कक्षा संचालन गरिदै

प्रकाशित मिति :2017-01-02 18:42:01

लिलु डुम्रे, दक्षिण कोरिया

किम्हे ग्लोबल सेन्टरले दक्षिण कोरियामा रहेका नेपाली  युवाहरुलाई व्यवसायिक खेतीका  लागि कृषि कक्षा संचालन गर्ने भएको छ । सैदान्तिक र व्यवहारिक शिक्षा प्रदान गरिने कृषि कक्षा एक बर्षको अवधिमा सकिने छ ।

किम्हे ग्लोबल सेन्टरले संचालन गर्ने व्यवसायिक कृषि कक्षाको संयोजन सेन्टरमा आवद्ध  सस्था किम्हे माइग्रेन्ट हाउसले गर्नेछ । कृषि तालिममा युवाहरुलाई तिन  चरणको कक्षा संचालन गरिने सेन्टरले जानकारी गराएको छ । पहिलो चरणमा युवाहरुलाई उत्प्रेणा शिक्षा प्रदान गरिनेछ । उत्प्रेरणा कक्षामा  दक्षिण कोरियाको इतिहास र  कृषि क्षेत्रमा गरेको तिब्र विकास बिषयमा  शिक्षा  प्रदान गरिने छ । दोश्रो चरणमा आधुनिक प्रबिधिको तरकारी खेती प्रणाली , बालीहरुमा  अपनाइने उन्नत प्रणालीहरुका बिषयमा कक्षा संचालन हुनेछ । साथै युवाहरुले ग्रिन हाउस निर्माण  र  संचालन प्रक्रियाको  पनि शिक्षा प्राप्त गर्नेछन ।

कृषि तालिममा औजारहरुको प्रयोग बिधि  सिकाउने  ग्लोबल सेन्टरले जानकारी गराएको छ । कृषि औजारका प्रयोग र मर्मत गर्ने तरिकाहरु व्यवहारिक शिक्षामा प्रदान गरिने छ । कृषि क्षेत्रमा नेपालमा उच्चतम प्रयोग गर्न सकिने हाते ट्रयाक्टरको संचालन तथा मर्मत बिधिको   व्यवहारिक ज्ञान पनि युवाहरुले प्राप्त गर्नेछन । तालिमको अन्तिम चरणमा प्राप्त ज्ञानको माध्यमबाट युवाहरुले बाली उत्पादन पनि गर्नुपर्छ ।

युवाहरुले प्रत्येक आइतबार एक  देखि पाँच बजेसम्म कृषि कक्षा लिनुपर्छ । एक बर्षे तालिम समयमा सेन्टरले आधा समय कक्षा तालिम दिनेछ भने बाकी समय युवाहरुले फर्म  क्षेत्रमा कार्य गर्नुपर्छ ।

किम्हे नगरपालिकाको कृषि तालिम केन्द्रमा कक्षा संचालन गरिने छ । कृषि तालिमका लागि सेन्टरलाई किम्हे नगरपालिकाले दक्ष प्राविधिक तथा प्रशिक्षक उपलब्ध गराउने छ । नगरपालिकाको कृषि फर्ममा युवाहरुले दक्ष प्राबिधिक  मार्फत प्रशिक्षण लिनेछन ।

कृषि तालिम लिन इच्छुक युवाहरुले अन्तर्वार्ता पनि दिनुपर्नेछ । अन्तर्वार्तामा आधारभूत कोरियन भाषा , तालिम लिन इच्छाशक्ति र निरन्तरता लगायतका बिषयमा प्रश्नहरु सोधिनेछ । तालिम पश्चात नगरपालिकाले उपलब्ध गराएको जग्गामा उब्जाउ गरि देखाउन पर्नेछ । नेपाल फर्के पश्चात जीविकोपार्जन गर्नसक्ने कृषि कर्मी बनाउने उदेश्य रहेकोले युवाहरुको तालिममा निरन्तरता अनिवार्य  रहेको किम्हे ग्लोबल सेन्टरका अध्यक्ष यज्ञराज सुबेदीले बताए ।

तालिम लिन इच्छुक र दुरी टाढा रहेका युवाहरु किम्हे माइग्रेन्ट हाउसमा सनिबार बास बसि  आइतबार कक्षा लिन सक्नेछन । मार्चको पहिलो साता देखि तालिम संचालन गरिने सेन्टरले जनाएको छ । कृषि तालिम अन्य सहरमा पनि विस्तार गरिने सेन्टरको अवधारणा रहेको छ  । कोरियाका अन्य क्षेत्रमा रहेका युवाहरुको लागि सम्बन्धित नगरपालिकासंग एमओयु गरि तालिम संचालन गरिने सुबेदीले बताए ।

प्राप्त सिप नेपालमा प्रयोग गर्ने युवाहरुको लागि सेन्टरले समन्वय गर्नेछ । युवाहरुले स्वदेशमा संचालन गरेको फर्मलाई सेन्टर मार्फत किम्हे नगरपालिकाले आवश्यक सहयोग गर्नेछ । नेपालमा पनि कृषि तालिम केन्द्र संचालन गर्ने सोच रहेको सुबेदीले जानकारी गराए ।

अधिकांश नेपाली युवाहरु उधोग क्षेत्रमा रहेकोले नेपाल फर्के पश्चातको सिप प्रयोग बिहिन भएको छ । कृषि क्षेत्रमा कार्य गरि फर्केका तर जीविकोपार्जन त्यहि क्षेत्र रोजेका युवाहरुको संग्ख्या नगन्य छ । टनेल खेति र बंगुर फर्ममा कार्य गरि फर्केका युवाहरु सिप स्वदेशमा न्यून प्रयोग भएको छ । दक्षिण कोरियामा तिन रोपनी जग्गामा एक परिवार पालिएर दुइ जना कामदारलाई रोजगारी दिन सकिने अवस्था रहेको छ ।

 


ताजा समाचार