एक हजार रुपैयाँमा एसएसलीको सर्टिफिकेट

प्रकाशित मिति :2017-01-05 07:09:17

काठमाडौं,२१ पुस

विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ऐनबहादुर थापा मगरलाई पक्राउ गरेपछि प्रहरी एसएलसीको नक्कली प्रमाणपत्र बनाइदिने गिरोहसम्म पुग्न सफल भएको हो । सो गिरोहले एसएलसीको प्रमाणपत्र चाहिने भन्दै आउनेलाई १ हजार रुपैयाँ लिई सहजै बनाइदिने गरेको थियो । गिरोहले नक्कली प्रमाणपत्र बनाएर विदेश जाने सोझा कामदारका लागि एसएसली पास गरेको धेरै प्रमाणपत्र वितरण गरिसकेको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार विदेश पठाउँछु भन्दै ठगेको आरोपमा जमलबाट पक्राउ परेका ऐनबहादुरका साथमा यमबहादुर थापा नामको एसएलसीको प्रमाणपत्र भेटिएको थियो । सो प्रमाणपत्र नक्कली थियो । त्यसमाथि अनुसन्धान गर्दै जाँदा नक्कली प्रमाणपत्र बनाएर ‘सुपथ मूल्य’ मा बेच्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरीे सफल भएको हो । ‘एसएलसीको प्रमाण पत्र पनि १ हजार रुपैयाँमा पाइन्छ भन्दा प्रहरी त्यो बनाउने गिरोहसम्म पुग्न सफल भयो,’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने ।

पक्राउ परेका ऐनले एसएलसीको नक्कली प्रमाणपत्र रानीबारीस्थित आईटी भेट टेक्नोलोजीका सञ्चालक तथा त्यहीँ काम गर्ने भगवान भण्डारीले १ हजार रुपैयाँमा बनाएको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । ऐनलाई नै लिएर रानीबारी गएको प्रहरीले भण्डारीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले साइबर सञ्चालक विकास रम्तेललाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ऐनलाई लिएर जाँदा सो गिरोह एसएलसीको प्रमाणपत्र बनाउन सहजै तयार भए र १ हजारमा नक्कली प्रमाणपत्र बनाइदिए । त्यस प्रमाणका आधारमा प्रहरीले साइवरमा चेकजाँच गर्दा एसएलसीका साथै उच्च माध्यमिक शिक्षा परिषद्अन्तर्गतका नक्कली प्रमाणपत्र, छाप, लेटरप्याड फेला पारेको थियो ।

यसअघि महाशाखाकै टोलीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराएर प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला पाँचजनालाई कम्प्युटरका साथै अन्य कागजातसहित पक्राउ गरिएको थियो ।

त्यसबेला प्रहरीले कम्प्युटर डिजाइनर गाबहालका २९ वर्षीय अंकित खड्का, सोहि स्थानमा नोकरी गर्ने नख्खिपोटका ४४ वर्षीय सुबित खड्कालाई पक्राउ गरेको थियो । यस्तै सिलगढी नगरपालिका ३ का २८ वर्षीय हितेश सिंह, खोटाङ बाकसिला ८ का २६ वर्षीय विद्यार्थी पूजनकुमार खत्रीलाई पनि पक्राउ गरेको थियो । त्यसैगरी, काठमाडौं बश्रढानिलकण्ठ ३ का विद्यार्थी २६ वर्षीय सनत श्रेष्ठलाई पनि पक्राउ गरेको थियो । नक्कली प्रमाणपत्रधारी इन्जिनियरहरू रहेको भन्ने सूचनाका आधारमा त्यतिबेला कम्युटरसहित उनीहरूलाई पक्राउ गरेको थियो ।

त्यसैगरी, प्रहरीले नक्कली लाइसेन्स बनाउने, ब्लुबुक बनाउने तथा स्टिकर होलोग्राम बनाउनलगायका गिरोहलाई पनि पक्राउ गर्दै आएको थियो ।

Notes Nepal

ताजा समाचार