दिनेलाई भन्दा लिनेलाई लाज

Loading...

विश्वसनीयता र साखबिनाका नेपाली फिल्म अवार्ड

गोकर्ण गौतम

उत्कृष्ट फिल्मको अवार्ड जित्दा निर्देशक खुसी र गर्वले गद्गद हुनुपर्ने हो । तर, १० पुसमा दुबईमा सम्पन्न नेफ्टा अवार्डमा पशुपतिप्रसादले उत्कृष्ट फिल्मको अवार्ड जित्दा यसका निर्देशक दीपेन्द्र के खनाल ट्रफी ग्रहण गर्न स्टेजमै उक्लेनन् । तालीको गडगडाहट छुटिरह्यो, सञ्चालकले दीपेन्द्रलाई बोलाइरहे तर उनी आफ्नो कुर्सीबाट टसमस भएनन् । कार्यक्रममा सन्नाटा छाउँदै गएपछि दीपकराज गिरीले अवार्ड लिइदिएर आयोजकको ‘लाज’ बचाइदिए । ट्रफी र प्रमाणपत्र खनाललाई थमाइदिन खोजे तैपनि उनले लिएनन् ।

आखिर बहिष्कार नगर्नु पनि कसरी जब कि निर्देशन, पटकथा, कथा र अन्य महत्त्वपूर्ण विधामा पशुपतिप्रसादले कुनै अवार्ड नै जितेको थिएन । पशुपतिप्रसादबाट यस वर्ष राष्ट्रिय पुरस्कारसहित प्राय: सबै अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड जितेका खनाल भन्छन्, “प्रमुख विधाहरूमै फेल भएको फिल्म कसरी उत्कृष्ट हुन सक्छ ? सोही कारण अवार्ड लिन मेरो नैतिकताले दिएन ।” पछि आफूकहाँ आइपुगेको उक्त अवार्ड आयोजक नेपाल चलचित्र प्राविधिक संघलाई फिर्ता गरिसकेको उनको भनाइ छ  ।

खनालले अवार्ड बहिष्कार गरेका मात्र के थिए, नेफ्टाविरुद्ध फिल्मवृत्त र सामाजिक सञ्जालमा आलोचनाका स्वर सुनिन थाले । अवार्ड समारोह सकिँदा नसकिँदै क्लासिकका निर्देशक दिनेश राउतले फेसबुकमा आयोजकमाथि व्यंग्य कसे । उत्कृष्ट निर्देशकको मनोनयनमा समेत रहेका उनले लेखेका छन्, ‘रुद्रीको प्रसाद जतिधेरैलाई बाँड्यो, त्यति धेरै धर्म ।’ दीपकराज गिरी पनि किन चुप बस्न सक्थे
र ? फेसबुकमा पोखिइहाले, ‘..अनि, सबै विधामा हार्ने फिल्मचाहिँ कसरी बेस्ट फिल्म
हुन्छ ?’ हुन त उत्कृष्ट फिल्म र निर्देशकको मात्र होइन, अन्य विधामा वितरण गरिएको अवार्ड पनि त्यसभन्दा माथि थिएन । उदाहरणका लागि, फन्कोजस्तो कमजोर फिल्मबाट उत्कृष्ट पटकथाको अवार्ड सुवर्ण थापाले पाए । कथा अब्बल मानिएको पशुपतिप्रसादलाई चाहिँ संवाद अनि संवादबाट वाहवाही कमाएको कबड्डी कबड्डीलाई उत्कृष्ट कथाको अवार्ड दिइयो ।

अर्थात्, ठ्याक्कै उल्टो । फलत: दुबईको अल नासर लिजरल्यान्डमा सानदार स्टेज र कुशल व्यवस्थापन गरे पनि नेफ्टाका पदाधिकारीले जस लिन पाएनन । बरू, तिरस्कार सहनुपर्‍यो । कतिसम्म भने आलोचना बढ्दै गएपछि संघका महासचिव सुरज आचार्यले राजीनामै दिएका छन् । राजीनामा पत्रमा उनले ‘अवार्डमा भएको मनोमानी र यसका कारण संघलाई लागेको कालो धब्बालाई रोक्न नसक्दा महासचिव पदमा बसिरहन आत्माले नदिएको’ उल्लेख गरेका छन् ।

हाल वितरण भइरहेका मध्ये सबभन्दा पुरानो अवार्ड हो, नेफ्टा । पाँचौँ संस्करणदेखि विदेशमा समारोह गरेर नेफ्टाले धेरेथोर प्रशंसा नबटुलेको होइन । तर, हरेक वर्ष यसपालिको जस्तै आरोप खेपिरहेकै छ । अझ विगतमा त खराब व्यवस्थापनको सिकार पनि हुन्थ्यो ।

नेफ्टा मात्र होइन, नेपालमा आयोजना हुने फिल्मी अवार्डको हबिगत सारमा यस्तै हो, न साख छ, न विश्वसनीयता । फिल्म निर्देशक कुमार भट्टराई भन्छन्, “अब त हुँदाहुँदा दिनेले भन्दा लिनेले सरम महसुस गर्न थालेका छन् । अवार्डको गरिमा करिब–करिब ध्वस्त भइसकेको छ ।” उनी यसलाई ‘राम्रा’लाई भन्दा ‘हाम्रा’लाई अवार्ड दिने प्रवृत्ति हाबी हुनुको परिणाम मान्छन् । त्यसो नहुँदो हो त हरेक अवार्ड किन गहिरो विवादको दलदलमा फस्थे ?

गत साउनमा पोखरामा सम्पन्न आठौँ सिने अवार्डमा उत्कृष्ट निर्देशक पशुपतिप्रसादबाट खनाल र पटकथामा सोही फिल्मका खगेन्द्र लामिछानेले पाए । तर, उत्कृष्ट फिल्म अवार्ड चाहिँ क्लासिकलाई दिइयो । जब कि, क्लासिकमा हिरोइन नम्रता श्रेष्ठ र सम्पादक सुरेन्द्र पौडेलले मात्र प्रशंसालायक काम गरेका थिए । साउनमा चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्ड त मनोनयनमै विवादमा फसेको थियो, संघकै सदस्यद्वय सविन श्रेष्ठ र अशिष्मा नकर्मीलाई क्रमश: सहअभिनेता र सहअभिनेत्रीलाई मनोनयनमा पारेपछि । रेशम फिलिलीबाट चौतर्फी चर्चा कमाएका हरिया अर्थात् कामेश्वर चौरसिया नवनायकको मनोनयनमै परेनन् । बरू, नाई नभन्नु ल २ बाट अढाई वर्षअघि नै करिअर सुरु गरेकी हिरोइन वर्षा सिवाकोटीलाई पशुपतिप्रसादबाट नवअभिनेत्रीको सूचीमा राखियो । उत्कृष्ट कोरियोग्राफरको मनोनयनमा परेकी रेनशा बान्तवा राईले त फान अवार्ड नै बहिष्कार गरिन् । भारतको सिक्किममा सम्पन्न इनास अवार्ड पनि विवादमुक्त रहेन । खराब व्यवस्थापन त छँदै थियो, अवार्ड वितरण पनि न्यायोचित भएन । कतिसम्म भने उत्कृष्ट निर्देशकको जुरीतर्फको अवार्ड क्लासिकका दिनेश राउतलाई दिँदा कार्यक्रम हलमै हाँसो भएको थियो ।

कलाकार तथा निर्माता दीपकराज गिरीका बुझाइमा स्वार्थप्रेरित आयोजक र अयोग्य जुरीका कारण अवार्डको साख धुमिलिँदै गएको छ । न पाउनेले शिर ठाडो गर्न सक्छन्, न नपाउनेले चित्त बुझाउने ठाउँ रहन्छ । उनका अनुसार एउटा कोटिका निर्णायक यस्ता हुन्छन्, जो फिल्म निर्माणमा कुनै न कुनै रूपमा सक्रिय भइरहेको हुन्छ, त्यसैले उनीहरू स्वाभाविक रूपमा आफू नजिकको फिल्म र फिल्मकर्मीसँग बफादार हुन्छन् । अर्काथरी निर्णायकचाहिँ, कपाल सेतै पाकेका तर सिनेमामा आएको युगान्तकारी परिवर्तनलाई नस्वीकार्ने प्रवृत्तिका हुन्छन् । गिरी ठाडै भन्छन्, “यी दुवै प्रवृत्तिका जुरी हानिकारक छन् । अब उनीहरूको क्षमता, योग्यता र नियतमाथि प्रश्न उठाउनुपर्ने बेला आएको छ ।”
यस्तै लाजमर्दो स्थितिकै कारण उनी जुरी र आयोजक छानेर मात्र अवार्डमा सरिक हुने निर्णयमा पुगेका छन् । यसअघि पनि उनले फान अवार्ड बहिष्कार गरेका थिए । पशुपतिप्रसादका अभिनेता तथा पटकथाकार खगेन्द्र लामिछाने पनि न कुनै अवार्ड समारोहमा उपस्थित हुन्छन्, न अवार्डबारे मिडियालाई कुनै प्रतिक्रिया नै दिन्छन् ।

संसारमा जति पनि फिल्म अवार्ड छन्, विवादरहित सायदै कुनै होलान्, धेरै र थोरै भन्ने मात्र हो । त्यसैले हामीकहाँ हुने अवार्ड सर्वस्वीकार्य हुनुपर्छ भन्ने अपेक्षा राख्नु व्यावहारिक नहोला तर अनुभव र दक्षता नभएका व्यक्तिलाई जुरीमा राख्नु समस्याको जड हो । यो वर्ष एलजी फिल्म अवार्डको आयोजना गरेका निर्माता तथा निर्देशक दिनेश डीसी पनि अवार्डले विश्वसनीयता गुमाउँदै जानुको मुख्य कमजोरी जुरीलाई नै दिन्छन् । यसअघि पनि दर्जनभन्दा बढी अवार्डमा संलग्न भएका डीसी भन्छन्, “कुरा काटेजस्तो सुनिएला, त्यस्तो होइन तर पूर्वाग्रही र पहिल्यै दिमागमा निर्णय बोकेर आउनेलाई जुरी बनाउनै हुन्न ।” विगतको अनुभवबाट पाठ सिकेरै आफूले जुरीको समूहलाई अनुगमन गर्ने अर्को ‘सुपर जुरी’ राखेको उनी बताउँछन् । अवार्ड आयोजकले प्रवेश शुल्क लिने गरेका कारण पनि अवार्ड निष्पक्ष हुन नसकेको हो । डीसी भन्छन्, “बाहिरी स्पोन्सर र कर्पोरेट हाउसबाट विज्ञापन नलिई फिल्मकर्मीबाटै विभिन्न शीर्षकमा पैसा उठाएर अवार्ड गरिँदा स्वीकार्य र निष्पक्ष हुने सम्भावना न्यून हुन्छ । पैसाको प्रभाव त पर्छै पर्छ ।”

नेपालमा बर्सेनि एक सयको हाराहारीमा फिल्म बन्छन् । मुस्किलले आठ फिल्मले लगानी उठाउँछन् । चारवटा नाफामा जान्छन् तर यो वर्ष मात्र १० वटा अवार्ड समारोह भए । बलिउडको सिको गर्दै विदेशी भूमिमा समेत अवार्ड आयोजना हुन थालेका छन् । नेफ्टा दुबईमा, सिक्किममा इनास अनि ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा । स्वदेशमै हुने अवार्डको पनि तामझाम चर्को छ । तर, अवार्डको विश्वसनीयता, गरिमा र साखचाहिँ गिर्दो छ । गिरी भन्छन्, “यति धेरै अवार्ड नै आवश्यक छैन । एक–दुई अवार्ड भए काफी हुन्छ । सिर्फ निष्पक्ष र गर्वलायक हुनुपर्‍यो ।”

‘अब अवार्डको क्रेज घट्छ’
– दीपेन्द्र के. खनाल, निर्देशक

निर्देशन, पटकथा, अभिनेता, सिनेमाटोग्राफी, सम्पादन, निर्देशनमध्ये दुई विधामा मात्र अवार्ड जितेको भए पनि उत्कृष्ट फिल्मको अवार्ड स्वीकार्थें । तर, हरेक महत्त्वपूर्ण विधामा अब्बल नभएको फिल्मलाई एक्कासि बेस्ट फिल्म भनिदिँदा एक खालको अपमान महसुस गरेँ । मेरो इमान र नैतिकताले अवार्ड ग्रहण गर्न दिएन । फेरि मैले निर्देशकको अवार्ड नपाएर बहिष्कार गरेको होइन तर पशुपतिप्रसाद उत्कृष्ट फिल्म हुने आधार त चाहियो नि ? वडा नम्बर ६ लाई नै दिएको भए पनि मेरो चित्त दुखाइ थिएन । प्रसादजसरी अवार्ड बाँड्नु त भएन ।

स्टेजमा नगएपछि ट्रफी र प्रमाणपत्र होटलमा आइपुग्यो । बोकेर आउन मन त थिएन तर विदेशी भूमिमा अवार्ड छोड्न झन् मनले मानेन । त्यसैले नेपाल आएर नेफ्टालाई बुझाइदिएँ, पत्र लेखेरै । पछि संघका अध्यक्ष पुष्कर लामा र महासचिव सुरज आचार्यले ‘सरी’ भन्नुभयो । जुरी संयोजक भरत शाक्य कार्यक्रमको बीचबाटै उठेर हिँड्नु भएछ । आयोजक र जुरीकै यो ताल भएपछि कसलाई के भन्नु छ र ? बरू मैले पाठ सिकेँ, अर्को सालदेखि राष्ट्रिय चलचित्र अवार्ड र क्रिटिक्स अवार्डबाहेक अरूमा भाग नलिने निर्णयमा पुगेको छु ।

अवार्डप्रति अनुराग छैन मेरो । झोले पनि कतै सहभागी गराइनँ तर ‘ठूलो मान्छे भयो’ भनेर कुरा काट्ने क्रम बढ्यो । फिल्म बनाउँदा गाह्रो बनाइदिन्छ भन्ने डर पनि थियो । त्यसैले अवार्डमा सहभागी हुन थालेँ तर नेफ्टामा अति भएपछि जे पर्ला–पर्ला भनेर बहिष्कार गरेँ ।

अवार्ड समारोहमा नयाँ–पुराना सबै कलाकारको जमघट हुने भएकाले ‘सेलिब्रेसन’को माहौल बन्छ, आत्मीयता बढ्छ । तर, यस्ता बेकामे अवार्डचाहिँ नभएकै जाती । अवार्ड पाएर गर्व गर्ने अवस्थै रहेन । अब बिस्तारै अवार्डको क्रेज घट्छजस्तो लाग्छ । बेइज्जत हुने भएपछि अवार्डमा सहभागी हुनु पनि कसरी ?

Notes Nepal
Loading...

Loading...

Loading...

ताजा समाचार