ग्यास ढुवानीमा नेपाली बुलेट

पुस २५, २०७३- बयालीस बर्षदेखिको भारतीय एकाधिकार तोड्दै नेपाली बुलेटले नै ग्यास ढुवानी गर्ने भएको छ । वीरगन्ज भन्सारले आइतबार ना ७ ख ९२७ र ना ७ ख ९२८ नम्बरका बुलेट पास गरेपछि भारतीय एकाधिकार तोडिएको हो । ‘भन्सार प्रक्रिया सबै पूरा गरेकाले आइतबार पास गरेर बुलेट लैजान भनेका छौं,’ भन्सार प्रमुख सेबन्त पोखरेलले भने । ती दुवै बुलेट एभरेस्ट ग्यास उद्योगका नाममा छन् ।

एलपी ग्यास उद्योग संघका अनुसार अन्य कम्पनीका पनि भारतमा बुलेट निर्माणको काम सम्पन्न भइसकेको छ । ‘सबै ग्यास उद्योगीको करिब ३ सय बुलेट तयारी अवस्थामा छन् । दुईवटा बुलेट नेपाली भन्सारमा रोकिँदा अन्य बुलेट आयातबारे अन्योलता छाएको थियो,’ संघका अध्यक्ष शिव घिमिरेले भने, ‘नेपाली बुलेट भित्रिएपछि भारतको एकाधिकार तोडिनेछ ।’

आर्थिक वर्ष ०७३/७४ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत दुईतिहाइ भन्सार छुट दिई नेपाली व्यवसायीले ग्यास बुलेट ल्याउन पाउने व्यवस्था गरे पनि भन्सारमा प्रक्रिया पूरा नहुँदा करिब ३८ दिनदेखि नाकामै अलपत्र परेका थिए ।  संघका अनुसार ०७३ मंसिर १७ मा वीरगन्ज नाकामा नेपाली ग्यास बुलेट आए पनि जाँचपाँस नहुँदा नाकामै अलपत्र थिए । व्यवसायीले ल्याएका दुई बुलेट नेपाल भित्रन नपाएपछि प्रक्रियामा रहेका थप तीन सय बुलेट भारतमै छन् ।

व्यवसायीको भाषामा चेसिस (इन्जिन) र ट्यांक (बुलेट) सहितलाई ग्यास बुलेट भनिन्छ । तर, भन्सार विभाग ग्यास भर्ने ट्यांकरलाई मात्रै छुट दिन खोज्दा समस्या भएको थियो । व्यवसायीहरूले भने चेसिससहित छुट मागेका थिए । ‘छुट दिने गरी आर्थिक ऐन पास भए पनि व्यवहारमा लागू हुन सकेको थिएन । ढिलै भए पनि कार्यान्वयन भएको छ,’ घिमिरेले भने, ‘बाँकी तीन सय बुलेट पनि छिट्टै भित्रिनेछन् ।’

आयल निगमले ०७३ असार २४ मा उद्योगलाई बुलेट खरिद गर्न अनुमति दिएको थियो । सोहीअनुसार व्यवसायीले बुलेट खरिदको तयारीमा जुटेका हुन् ।

निगमले उद्योगीलाई उपलब्ध गराएको चिठीमा १२ देखि १८ टनको हुने गरी एलपी ग्यास ढुवानी गर्ने नेपाली नम्बरको बुलेट राख्न स्वीकृति दिएको उल्लेख थियो । संघका अनुसार ५३ वटा ग्यास उद्योगका लागि ७ सय ७५ बुलेटको अनुमति थियो । ती बुलेट खरिदमा ५ अर्ब ४२ करोड ५० लाख रुपैयाँ लगानी भएको संघको दाबी छ ।

हाल खाना पकाउने ग्यास भारतीय आयल निगम (आईओसी) बाट ढुवानी गर्दा उतैका बुलेट प्रयोग गर्ने गरिएको छ ।

नेपाली व्यवसायीका बुलेट हालसम्म छैनन् । ग्यास ढुवानी गर्दा बर्सेनि २ अर्ब ५० करोड रुपैयाँ भारतीय ट्रान्सपोर्ट कम्पनीहरूलाई बुझाउनुपरेको संघको दाबी छ । हाल करिब साढे ६ सयवटा भारतीय बुलेटमार्फत ग्यास ढुवानी हुँदै आएको छ । यस्तो क्रम करिब ४२ वर्षदेखि जारी छ ।

जाडो मौसममा भारतले पर्याप्त मात्रामा ग्यासको कोटा दिने निर्णय गरे पनि ढुवानी गर्न बुलेटको अभाव हुँदै आएको छ । व्यवसायीका अनुसार भारतीय आयल निगमले सोही समयमा गर्ने नयाँ टेन्डरबाट ढुवानीकर्ता भारतीय बजारतर्फ नै बढी आकर्षित हुन्छ । जसले गर्दा ग्यास ढुवानीमा समस्या हुन्छ ।

ग्यास ढुवानीका लागि ठुलो रासी बाहिरिए पनि सहज रूपमा ग्यास नपाएपछि सरकारले नेपाली व्यवसायीले नै बुलेट खरिद गर्न पाउने व्यवस्था गरेको हो ।

बुलेटबारे आयल निगम, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आपूर्ति मन्त्रालय, संसदीय समितिबीचमा समेत मतभेद देखिएको थियो ।

व्यवस्थापिका संसद्को उपभोक्ता हित सम्बन्ध समितिले पटकपटक नेपाली बुलेट खरिद गर्न निर्देशन दिएको थियो । सोहीअनुसार नेपाल आयल निगमले ०७२ असोज ५ मा स्वदेशी बुलेट आयात गर्न पाउने निर्णय गरेको थियो । ०७२ असोज ८ मा पत्रपत्रिकामा सूचना प्रकाशित गरी व्यवसायीलाई आह्वान गरियो । विनाविनियमावली बुलेट खरिद गर्न दिएको भन्दै मन्त्रालयले खरिदमा रोक लगाएको थियो । मन्त्रालयले रोक लगाएपछि समितिले पुन: निर्देशन दिएको थियो ।

मन्त्रालय र निगमबीच विवाद बढेपछि नेपाली व्यवसायीले बुलेट खरिद गर्न पाउने विषयका फाइल अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगेको थियो । मतभेदका बीच व्यवसायीले ल्याएका दुई बुलेट भन्सार नाकामै रोकिएका थिए । निगमका अनुसार अनुसन्धानपश्चात् आयोगले फाइल फिर्ता पठाइसकेको छ ।

करिब एक साताअघि निगम सञ्चालक समितिले एलपी ग्यास ढुवानी विनियमावली २०७३ पारित गरेपछि बुलेट भन्सारबाट पास भएको हो । उद्योगीले पाएको कोटा अनुसार भारतको दिल्ली, बरौदा, पुणे र हरियाणालगायत सहरमा बुलेट बनाएको जनाएको छ । एउटा बुलेट खरिद गर्न उद्योगीले करिब ७० लाख नेपाली रुपैयाँ खर्च गरेका छन् ।

eKantipur

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार