कक्षा ८ मा पढ्दै ७४ वर्षीय वृद्ध

रामेछाप: पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप  गर्जाङ–२, धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अंग्रेजी, नेपाली दुवै विषय पढ्छन् ।

इच्छा भए उपाय अवश्य निस्कन्छ भनेझैं नातिनातिनाका हजुरबुबा भइसकेका उनलाई चुचुरे स्वास्थ्य चौकीका प्रमुख जागिर यादवको प्रेरणा र सहयोग मिल्यो । सुरुमा चुचुरे स्वास्थ्य चौकीमा कार्यालय सहयोगीका रूपमा काम गर्दा हस्ताक्षर गर्न, औषधिको नाम चिन्न उनलाई ‘कालो अक्षर भैंसीबराबर’झैं हुन्थ्यो । “अनि मैले पनि पढेमा अवश्य सक्छु भन्ने जाँगर चल्यो”, उनी भन्छन्, “त्यसपछि २०६५ सालमा विद्यालय गएर भर्ना गरेको हुँ ।”

विद्यालयमा भाइभतिजा अनि नातिनातिनासँगै पढ्दा आफूलाई हजुरबुवा भनेर सम्बोधन गर्दा कुनै असजिलो नलाग्ने उनी बताउँछन् । वृद्धावस्थामा पनि विद्यालयमा पढ्न आएको देख्दा र आफ्नै दाइ र हजुरबुवाजस्ता व्यक्तिलाई पढाउन पाउँदा विद्यालयका शिक्षक–शिक्षिका पनि उत्तिकै खुसी रहेको जट्टेश्वरी उच्च माविका प्रधानाध्यापक मोहनकुमार खड्काले बताए । कुनै रोग नलागे अझै पढेर समाजमा केही गरेर देखाउने उनको चाहना छ ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार