किन रोनाल्डो वर्षको सर्वोत्कृष्ट ?

एजेन्सी

फिफा बर्ष खेलाडी अवार्डसहित रियल म्याड्रिडका पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो ।

जुरिचः विश्व फुटबल महासंघ (फिफा) द्वारा प्रदान गरिने वर्षको ‘सर्वोत्कृष्ट फुटबल खेलाडी’ अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका छन् । स्विट्जरल्यान्डको जुरिचमा सोमबार राति आयोजित विशेष समारोहबीच रोनाल्डोलाई फिफा वर्ष खेलाडी अवार्ड प्रदान गरियो । सन् २०१६ मा आफ्नो राष्ट्र पोर्चुगल र क्लब रियल म्याड्रिडलाई महत्वपूर्ण उपाधि दिलाएकाले रोनाल्डोले उक्त अवार्ड पाएका हुन्।

पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान रोनाल्डो स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । उनले सन् २०१६ मा पोर्चुगललाई युरो कप र रियललाई युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ३१ वर्षीय स्ट्राइकर रोनाल्डोले अर्को स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसी र एट्लेटिको म्याड्रिडका फ्रान्सेली खेलाडी एन्टोइन ग्रिजम्यानलाई पछि पार्दै वर्ष खेलाडी अवार्ड हात पारेका हुन् ।

रोनाल्डोले गत डिसेम्बरमा फ्रान्स फुटबल म्यागजिनद्वारा प्रदान गरिने ‘बालन डी ओर’ अवार्ड पनि जितेका थिए । सन् २०१५ सम्म फिफा र फ्रान्स फुटबल म्यागजिनले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई संयुक्त रूपमा ‘फिफा बालन डी ओर’ अवार्ड प्रदान गर्ने गरेका थिए । तर सन् २०१६ देखि भने यी दुवै संस्थाले आपसी सम्बन्ध तोडेर फरकफरक नाममा पुरस्कार दिन थालेका हुन् । त्यसयता यी दुवै अवार्ड पाउने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । फ्रान्स फुटबल म्यागजिनले सन् १९५६ देखि ‘बालन डी ओर’ अवार्ड दिन थालेको हो ।

रोनाल्डोले फिफा वर्ष खेलाडी अवार्ड पाएको यो चौथो पटक हो । उनले यसअघि सन् २००८, सन् २०१३, सन् २०१४ र सन् २०१६ मा फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए । मेसीले भने हालसम्म पाँच पटक यो अवार्ड जितेका छन् । अर्जेन्टिनी स्ट्राइकर मेसीले सन् २००९ देखि सन् २०१२ सम्म लगातार र सन् २०१५ मा यो अवार्ड हात पारेका थिए ।

फिफाद्वारा सोमबार राति प्रदान गरिएको सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक अवार्डका लागि विश्वभरका राष्ट्रिय फुटबल टोलीका कप्तान, प्रशिक्षक र केही खेल पत्रकारले मतदान गरेका थिए । यसैगरी यसका लागि अनलाइन पोललाई पनि आधार बनाइएको थियो । प्रत्येक समूहलाई समान २५÷२५ प्रतिशत अंकभार प्रदान गरिएको थियो । यी सबै समूहको मतदानबाट रोनाल्डोले कुल ३४.५४ प्रतिशत मत प्राप्त गरे । यसैगरी मेसीले २६.४२ प्रतिशत र ग्रिजम्यानले केवल ७.५३ प्रतिशत मत प्राप्त गरेका थिए ।

हालसम्मको वर्ष खेलाडी अवार्डमा रोनाल्डो र मेसीले भने कहिले पनि एकअर्कालाई मतदान गरेका छैनन् । यी दुवै खेलाडीले आफ्नै टोलीका अन्य खेलाडीलाई मतदान गर्ने गरेका छन् । पोर्चुगलको कप्तानका रूपमा रोनाल्डोले गारेथ बेल, लुका मोड्रिच र सर्जियो रामोसलाई मतदान गरे । यसैगरी अर्जेन्टिनाको कप्तानका रूपमा मेसीले लुइस स्वारेज, नेमार र आन्द्रेस इनिएस्टालाई मतदान गरेका थिए ।

‘सन् २०१६ मेरा लागि निकै उपलब्धिपूर्ण रह्यो । खासगरी म युरो कप जित्दाको क्षण कहिल्यै भुल्न सक्दिनँ । यसैगरी युरोपियन च्याम्पियन्स लिग र क्लब विश्व कप जित्दाको क्षण पनि मेरा लागि अविस्मरणीय छ’, चौथो पटक वर्ष खेलाडी अवार्ड जितेपछि निकै प्रफुल्ल देखिएका म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी रोनाल्डोले भने, ‘मैले हालसम्म जितेका सबै अवार्डका लागि टोलीका मेरा साथी र शुभचिन्तकको पनि उत्तिकै हात छ, म सबैप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।’

रोनाल्डोलाई वर्ष खेलाडी अवार्ड दिलाउनमा उनले ४४ खेल खेल्दै गरेको ४२ गोलले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । उक्त अवधिमा उनले १४ वटा गोलका लागि आफ्ना साथीलाई पास पनि उपलब्ध गराएका थिए । यसैगरी उनी सन् २०१५÷१६ को अवधिमा च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । उनले उक्त अवधिमा च्याम्पियन्स लिगमा १६ गोल गरेका थिए । दोस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोवस्कीले नौ गोल गरेका थिए ।

लोयड सर्वोत्कृष्ट महिला खेलाडी
वर्षको सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड अमेरिकाकी कार्ली लोयडले जितिन् । ३४ वर्षीया लोयडले यो पुरस्कार पाएको लगातार दोस्रो पटक हो । सन् २०१५ मा पनि लोयड नै सर्वोत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन् । अमेरिकी राष्ट्रिय टोली र आफूले व्यावसायिक फुटबल खेल्ने क्लब हस्टन ड्यासबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड हात पार्ने क्रममा लोयडले चर्चित ब्राजिलियन खेलाडी मार्टा र जर्मन खेलाडी मेलानी बेहरिन्गरलाई पछि पारिन् । लोयडले २०.६८ प्रतिशत मत हात पारिन् । यसैगरी मार्टाले १६.६० प्रतिशत र बेहरिन्गरले १२.३४ प्रतिशत मत पाएका थिए । मार्टाले भने हालसम्म पाँच पटक यो अवार्ड हात पारेकी छन् । उनले सन् २००६ देखि सन् २०१० सम्म सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड पाएकी थिइन् ।

बेहरिन्गरले भने जर्मनीलाई ओलम्पिक खेलकुदमा स्वर्ण पदक दिलाए पनि अवार्ड हात पार्न सकिनन् । ‘इमानदार भएर भन्नुपर्दा मैलो यो अवार्ड पाउने कल्पनासम्म गरेकी थिइनँ । यो अवार्ड बेहरिन्गरको भागमा पर्लाजस्तो मलाई लागेको थियो’, अवार्ड वितरण समारोहमा निकै खुसी देखिएकी लोयडले भनिन् । उनले अनपेक्षित रूपमा अवार्ड हात पारेपछि निकै खुसी लागेको धारणा पनि व्यक्त गरिन् ।

रेनियरी र सिल्भिया सर्वोत्कृष्ट प्रशिक्षक
वर्षको सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार भने इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीका क्लाउडियो रेनियरीको पोल्टामा प¥यो । उनले विश्वभरका फुटबलप्रेमीको अनुमानविपरीत लेस्टर सिटीलाई प्रिमियर लिग उपाधि दिलाएकाले यो अवार्ड हात पारेका हुन् । उनकै प्रशिक्षकत्वमा लेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ सम्म पुगेको छ ।

इटालीका ६५ वर्षीय रेनियरीले रियल म्याड्रिडका जिनेदिन जिदान र पोर्चुगलको राष्ट्रिय टोलीका प्रशिक्षक फर्नान्डो सान्तोषलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । जिदानले प्रशिक्षकको भूमिकामा आफ्नो पहिलो प्रयासमै रियललाई च्याम्पियन्स लिगको उपाधि चुमाएका थिए भने सान्तोषले पोर्चुगललाई सन् २०१६ को युरो कप फुटबल प्रतियोगिताको उपाधि दिलाएका थिए ।

अवार्ड हात पार्ने क्रममा रेनियरीले २२.६ प्रतिशत मत प्राप्त गरे । यसैगरी जिदानले १६.५६ प्रतिशत र सान्तोषले १६.२४ प्रतिशत मत पाए । ‘मेरा लागि यो अवार्डले ठूलो अर्थ राख्छ, यो अवार्ड मैले बगाएको पसिनाको वास्तविक मूल्य हो’, उनले भने । सर्वोत्कृष्ट महिला प्रशिक्षकको अवार्ड भने जर्मनीकी सिल्भिया नेइडले जितिन् । ५२ वर्षीया प्रशिक्षक सिल्भियाले ओलम्पिक फुटबलमा जर्मनीलाई पहिलो पटक स्वर्ण पदक दिलाएकी थिइन् । त्यसलगत्तै उनले ११ वर्ष लामो प्रशिक्षक जीवनबाट सन्न्यास लिएकी थिइन् । सिल्भियाले २९.९९ प्रतिशत मत पाइन् । यसैगरी अमेरिकाकी प्रशिक्षक जिल एलिसले १६.६८ प्रतिशत र स्विडेनकी पिआ सुन्डागेले १६.४७ प्रतिशत मत पाएकी थिइन् ।

मोहम्मद फाइजलाई ‘पुस्कास अवार्ड’
मलेसियन खेलाडी मोहम्मद फाइज सुबरीले ‘पुस्कास अवार्ड’ जिते । वर्षको सर्वोत्कृष्ट गोललाई यो पुरस्कार प्रदान गरिन्छ । पेनाङ फुटबल क्लबबाट मलेसियन सुपर लिग खेल्ने स्ट्राइकर मोहम्मद फाइजले गरेको गोललाई सन् २०१६ को सर्वोत्कृष्ट गोल ठह¥याउँदै उनलाई पुस्कास अवार्ड प्रदान गरिएको हो । उनले मलेसियन सुपर लिगमा करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलले यो अवार्ड जितेको हो । मोहम्मद फाइजले ५९.४६ प्रतिशत मत पाए । कोरिन्थियन्सबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन खेलाडी मार्लोनले २२.८६ प्रतिशत र भेनेजुएलाको महिला फुटबल टोलीकी खेलाडी डानिउस्का रोड्रिग्वेजले १०.०१ प्रतिशत मत पाए ।

यसैगरी इङ्लिस क्लब लिभरपुल र जर्मन क्लब बोरुसिया डर्टमन्डका समर्थकले संयुक्त रूपमा विश्वको सर्वोत्कृष्ट समर्थकको अवार्ड पाए । गत अप्रिलमा भएको युरोपा लिगको क्वार्टरफाइनलमा यी दुवै टोलीका समर्थकले देखाएको व्यवहारका कारण उनीहरूलाई यो अवार्ड दिइएको हो । लिभरपुल र बोरुसियाका समर्थकले ४५.९२ प्रतिशत तथा आइसल्यान्डका समर्थकले ३१.३७ प्रतिशत मत पाए।

एट्लेटिको नासियोनललाई ‘फेयर प्ले’
यस वर्षको ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन क्लब एट्लेटिको नासियोनललाई प्रदान गरियो । एट्लेटिको नासियोनलले देखाएको खेल भावनाको कदर गर्दै उक्त क्लबलाई यो अवार्ड प्रदान गरिएको हो । आफूसँग कोपा सुडामेरिकन फुटबल प्रतियोगिताको फाइनल खेल्न आउँदै गरेको ब्राजिलियन क्लब चापेकोन्सका खेलाडी सवार विमान दुर्घटनामा परी ७१ जनाको मृत्यु भएपछि एट्लेटिको नासियोनलले कोपा सुडामेरिकन ट्रफी चापेकोन्सलाई प्रदान गर्ने घोषणा गरेको थियो । सोही खेल भावनाको कदर गर्दै फिफाले एट्लेटिको नासियोनललाई ‘फेयर प्ले’ अवार्ड प्रदान गरेको हो । उक्त विमान दुर्घटनामा परी चापेकोन्सका १९ जना खेलाडीको ज्यान गएको थियो । फाइनलको पहिलो लेग खेल खेल्न चापेकोन्सको टोली कोलम्बिया जाँदै गर्दा उक्त दुर्घटना भएको थियो ।

विश्व-११ टोली
म्यानुएल नेउर (जर्मनी-बायर्न म्युनिख), डानी आल्भेस (ब्राजिल-बार्सिलोना-युभेन्ट्स), सर्जियो रामोस (स्पेन-रियल म्याड्रिड), जेरार्ड पिके (स्पेन-बार्सिलोना), मार्सेलो (ब्राजिल-रियल म्याड्रिड), टोनी क्रुस (जर्मनी-रियल म्याड्रिड), आन्द्रेस इनिएस्टा (स्पेन-बार्सिलोना), लुका मोड्रिच (क्रोएसिया-रियल म्याड्रिड), लियोनल मेसी (अर्जेन्टिना÷बार्सिलोना), लुइस स्वारेज (उरुग्वे-बार्सिलोना) र क्रिस्टियानो रोनाल्डो (पोर्चुगल-रियल म्याड्रिड) ।

Notes Nepal
loading...

Loading...

ताजा समाचार