रूपन्देहीका होटेलमा २५ अर्ब लगानी

प्रकाशित मिति :2017-01-12 07:48:59

बुटवलः रूपन्देहीको मणिग्राममा पाँचतारे होटेल टाइगर प्यालेस सञ्चालनमा आउँदैछ । होटेलको सिभिल निर्माण सकिएको छ । होटेलमा धमाधम साजसज्जाको काम भइरहेको छ । अस्ट्रेलियन बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले होटेल सञ्चालन गर्न लागेको हो । होटेलमा झण्डै साढे तीन अर्ब रुपैयाँ लगानी हुँदैछ ।

लुम्बिनीको पर्साचोक नजिकै पाँचतारे होटेल पवन प्यालेस बनिरहेको छ । पवनको पेडाबाट ख्याती कमाएका पवनकुमार हलुवाइले होटेल सञ्चालन गर्न लागेका हुन् । होटेलको सिभिल निर्माण अन्तिम चरणमा छ । यो होटेलमा एक अर्ब ३५ करोड रुपैयाँ लगानी हुँदैछ ।

भैरहवामा तीनतारे होटेल नान्स चलाइरहेका चन्द्रप्रकाश श्रेष्ठले बेलहियामा पाँचतारे होटेल सञ्चालनको तयारीमा छन् । होटेलको सिभिल निर्माण सकिएर डेकोरेसनको काम भइरहेको छ । नयाँ होटेलमा ८० करोड लगानी हुने उनी बताउँछन् ।

भैरहवा-नवलपरासी सडकखण्डमा सञ्चालित बोधी रेडसन होटेलको धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । होटेलमा झण्डै आधा अर्ब लगानी गरेर पाँचतारेमा स्तरोन्नति गर्न लागिएको हो । कोठा बढाउन छुट्टै भवन निर्माण गरिएको छ । कोठा संख्या एक सय ६ पुर्‍याउने र क्यासिनो पनि सञ्चालन गर्ने तयारी भइरहेको छ ।

बुटवलको सेमलारमा डबल स्विमिङ पुलसहितको आरम्भ रिसोर्ट निर्माण भएको छ । रिसोर्टमा २० करोड रुपैयाँ लगानी भएको छ । पछिल्लो ६ महिनामा डार्सिज, आम्रपाली, बृन्दावन, एसियन, एभरेस्ट, डेनेभो, ग्रिन हाउस, अतिथि होटेल सञ्चालनमा आइसकेका छन् । सिद्धार्थ कटेज, न्यु एरा, सिन्दुर होटेलले क्षमता र सेवा-सुविधा विस्तार गरेका छन् ।

बुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा तारे होटेल खुल्ने क्रम बढ्दोछ । दर्जनौं स्तरीय होटेल सञ्चालनमा आइसकेका छन् । एक दर्जनभन्दा बढी होटेल सञ्चालनको तयारीमा छन् । सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका पर्यटकस्तरीय होटेलमा २५ करोडभन्दा बढी लगानी भएको छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै होटेलमा लगानी ओईरिएको हो । भैरहवा विमानस्थल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वास गरिएको छ ।

भैरहवा लुम्बिनी क्षेत्रमा झण्डै ५० वटा पर्यटकस्तरीय होटेल सञ्चालनमा छन् । यसमध्ये १० वटा ठूला होटेल हुन् । ठूला होटेलमा झण्डै चार अर्ब लगानी भएको छ । साना ४० वटाजति पर्यटकस्तरीय होटेलमा तीन अर्बभन्दा बढी लगानी भएको सिद्धार्थ होटेल एसोसियसन अफ नेपाल (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । यी सबै होटेलले पर्यटकलाई सेवा सुविधा उपलब्ध गराउन सक्छन् ।

बुटवलमा सञ्चालित होटेलमा झण्डै सात अर्ब रुपैयाँ लगानी भएको रूपन्देही होटेल व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसीले बताए । उनका अनुसार बुटवलमा पछिल्लो समयमात्रै दुई दर्जन स्तरीय होटेल सञ्चालनमा आइसकेका छन् । नयाँ सञ्चालनमा आउन लागेका होटेलमा झण्डै १० अर्ब लगानी हुन लागेको बताइन्छ । सञ्चालनको तयारीमा रहेका चारवटा पाँचतारे होटेलमा मात्रै साढे ६ अर्ब रुपैयाँ लगानी हुँदैछ ।

बुटवल भैरहवा क्षेत्रमा सञ्चालित ठूला होटेलमा होटेल कसाई, बुद्धमाया गार्डेन, होटेल होक्के, तीनतारे होटेल नान्स, बोधी रेडसन, होटेल निर्भाणा, होटेल जाम्बाला, होटेल लुम्बिनी गार्डेन न्यू क्रिस्टल, होटेल यती, होटेल ड्रिमल्यान्ड गोल्ड रिसोर्टलगायत हुन् । लुम्बिनी र भैरहवा आउने पर्यटक यिनै होटेलमा बस्ने गर्छन् । यी होटेलले पर्यटकलाई स्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएका छन् । यहाँका धेरैजसो होटेलमा स्वदेशी लगानी छ, कतिपय होटेल विदेशी लगानीमा पनि सञ्चालित छन् ।

पाँचतारे होटेल

अहिलेसम्म बुटवल, भैरहवा र लुम्बिनीमा पाँचतारे होटेल छैनन् । आगामी दुई वर्षभित्र यहाँ चारवटा पाँचतारे होटेल सञ्चालनमा आइसक्ने छन् । पाँचतारे टाइगर प्यालेस आगामी सिजनदेखि सञ्चालनमा आउने तयारीमा छ । यो नै पहिलो पाँचतारे होटेल हुनेछ । यो होटेलमा पहिलो चरणमा सयवटा डिलक्स कोठा हुनेछन् । दोस्रो चरणमा तीन सय पुर्‍याउने लक्ष्य छ । खर्चालु पर्यटकलाई लक्षित गरिएको यो होटेलका १४ कोठा र स्वीमिङ पुल आपासमा जोडिएका छन् ।

लुम्बिनीमा बनिरहेको पवन प्यालेसमा एक ४७ कोठा हुने बताइएको छ । यो होटेल यही अक्टोबरदेखि सञ्चालनमा ल्याउने पवनकुमार हलुवाई बताउँछन् । बोधी रेडसनको स्तरोन्नती गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ । नयाँ बिल्डिङ तयार भइसकेको छ । बेलहियामा बनिरहेको पाँचतारे नान्स पनि यही अक्टोबरदेखि सञ्चालनमा आउने शर्मा बताउँछन् ।

बुटवलमा पछिल्लो समय होटेल बढ्दै गएका हुन् । व्यावसायिक गतिविधि र पर्यटक बढ्न थालेपछि होटेलमा लगानी बढ्न थालेको हो । स्वीमिङ पुलसहित होटेल बनाउने प्रतिस्पर्धा छ । क्लव डेनोभो ५५ करोड खर्चिएर स्वीमिङ पुलसहित सञ्चालनमा ल्याएको प्रबन्धक नवराज बेलबासेले बताए । बुटवल पुरानो सहर हो । यहाँ खर्चालु मानिस बढ्दै गइरहेका छन् ।

लुम्बिनी आएका पर्यटक स्थलमार्ग भएर पोखरा जाने रुट बुटवल हो । पोखरा जाने पर्यटकलाई बुटवलमा भुलाउन सकिने विश्वास होटेल व्यवसायीको छ । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा लुम्बिनी आउने पर्यटकलाई त्यहाँका होटेलले थेग्न नसक्ने भएकाले बुटवल क्षेत्रमा लगानी बढेको हो । त्यसो त भैरहवा र लुम्बिनीभन्दा बुटवल शान्त र शितल छ । पर्यटक भैरहवा र लुम्बिनी घुमेर बास बस्नका लागि सितल ठाउँ खोज्दै बुटवल आउने विश्वास पनि गरिएको छ ।

होटेलको नयाँ गन्तव्य

होटेल व्यवसायीका लागि रूपन्देही नयाँ गन्तव्य बनेको छ । काठमाडौं, पोखरा र चितवनमा लक्जरी होटेल चलाइरहेका व्यवसायीको ध्यान भैरहवा लुम्बिनीमा खिचिएको छ । ठूला व्यावसायिक घराना लुम्बिनीमा होटेल खोल्ने तयारीमा छन् । पुराना पर्यटन व्यवसायी कर्ण शाक्यले काठमाडौं, पोखरा, सौराहा र लुम्बिनीमा स्तरीय होटेल सञ्चालन गरेका छन् । उनले चार ठाउँका होटेललाई जोडेर प्याकेज बनाई पर्यटकलाई सेवा दिइरहेका छन् । अरु व्यवसायीले पनि चार ठाउँमा चेन विस्तार गर्ने सोचाइमा देखिन्छन् ।

होटेल तिब्बत काठमाडौंले लुम्बिनीमा तारे होटेल खोल्न जग्गा खरिद गरिसकेको छ । एसिया फर्मास्युटिकल्सले भैरहवाको बर्मेली टोलमा चारतारे होटेल सञ्चालन गर्न लागेको छ । स्थानयी होटेल व्यवसायी राम थापाले पनि लुम्बिनीमा तारे होटेल खोल्न लागेका छन् । उनले जग्गा खरिद गरिसकको बताए । चर्चित बुटिक होटेल द्वारिकाजले लुम्बिनीमा होटेल खोल्न जग्गा किनिसकेको छ । द्वारिकाजको काठमाडौं बत्तीसपुतली र धुलीखेलमा लक्जरी होटेल सञ्चालनमा छन् ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै होटेलमा लगानी ओईरिएको हो । भैरहवा-लुम्बिनी क्षेत्रमा झण्डै ५० वटा पर्यटकस्तरीय होटेल सञ्चालनमा छन् । यसमध्ये १० वटा ठूला होटेल हुन् ।

पाँचतारे सोल्टीले पनि लुम्बिनीमा होटेल खोल्ने तयारी गरिरहेको छ । अहिले नेपालगन्जमा चारतारे होटेल निर्माण गरिरहेको सोल्टीले लगत्तै पोखरामा पनि होटेल निर्माण सुरु गर्ने बताएको छ । त्यसपछि लुम्बिनीमा होटेल खोल्ने सोल्टीको तयारी हो । विनोद चौधरीले पनि लुम्बिनीमा होटेल खोल्नका लागि जग्गा खोजिरहेका छन् । पोखरा र सौराहामा सञ्चालित ल्यान्डमार्क होटेलको चेन लुम्बिनीमा खोल्ने तयारी भइरहेको छ । ल्यान्डमार्क होटेलका लागि जग्गा खरिद भइसकेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि लुम्बिनी भ्रमणमा आउने बुद्धिष्ट पर्यटक बढ्ने निश्चित छ । सिधा उडान सुविधा भएपछि विश्वभरका बुद्धिष्ट पर्यटकको ध्यान लुम्बिनीले खिच्ने श्रेष्ठ बताउँछन् । सुनौली नाकाबाट आउने पर्यटकको संख्या पनि बढ्दो छ । नेपाल प्रवेश गर्दा अनअराइभल निःशुल्क भिषा पाइने भएपछि सुनौलीबाट पर्यटक आउने गरेको उनले बताए ।

तर, सुनौलीबाट आउने पर्यटक लुम्बिनीमा आएपछि लन्च खाएर भारत फर्किहाल्ने उनको गुनासो छ । उनले सुनौलीबाट भित्रिने पर्यटकलाई पनि १÷२ बस्ने गरी सरकारले नीति बनाउनुपर्ने सुझाव दिए ।

बुटवलदेखि बेलहियासम्म ६ लेनको सडक निर्माण भइरहेको छ । बुटवल-पोखरा र बुटवल-नारायणगढ सडक चार लेनको बनाउने तयारी छ । भैरहवा-लुम्बिनी सडक पनि स्तरोन्नति हुँदैछ । यसका लागि एसियाली विकास बैंक (एडीबी)ले अर्बौं रुपैयाँ लगानी गरिरहेको छ । भैरहवा विमानस्थल एडीबीको ऋण सहयोगमा बन्न लागेको हो । विमानस्थल सस्टेन गराउनका लागि एडीबीले भैरहवा र लुम्बिनीको पर्यटन पूर्वाधार विकासमा मोटो रकम खर्च गरिरहेको छ ।

लुम्बिनी, भैरहवा, देवदह, तिलौराकोट जोडेर चक्रपथ बनाइँदैछ । सरकारले चिनियाँ रेल काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म ल्याउन लागेको छ । यसले पनि यस क्षेत्रमा पर्यटकीय सम्भावना बढाएको स्थानीय व्यवसायी बताउँछन् । पोखरा र काठमाडौं पुग्ने सडक चार लेनको भएमा पर्यटक भैरहवा हुँदै सडकमार्गबाट जानेछन् ।

पछिल्लो समय भैरहवा व्यावसायिक हब बनिरहेको छ । ठूलाठूला उद्योग खुलिरहेका छन् । कतिपय उद्योग सञ्चालनको तयारीमा छन् । मुलुकको पहिलो सेज भैरहवामा सञ्चालनमा आउँदैछ । भैरहवा सिमेन्ट हब बनिसकेको छ । भैरहवा नाकाबाट आयात निर्यात बढ्दै गइरहेको छ । यसले पनि यस क्षेत्रको महिमा बढाएको छ । व्यावसायिक गतिविधि बढ्दै जाँदा होटेल व्यवसायको सम्भावना पनि बढ्दै गइरहेको छ ।

Notes Nepal

ताजा समाचार