महिलाका लागी असुरक्षित बन्दै सार्वजनिक स्थल

प्रकाशित मिति :2017-01-12 08:51:40
Loading...

धेरैजसो महिलाले बाटो हिँडदा वा बाहिर निस्कँदा दैनिकजस्तो दुर्व्यवहार व्यहोर्नुपर्छ त्यसैले यसलाई उनीहरू सामान्य रुपमा लिने वा वेवास्ता गर्ने गर्छन् । यस्ता दुर्व्यवहारमा उजुरी कसरी र कहाँ गर्ने भन्नेबारे उनीहरू अनभिज्ञ छन् ।

ललितपुर । काठमाडौं महानगरपालिकाकी कुचीकार देवी नेपाली एका विहानै वागदरवार र सुन्धारा क्षेत्रमा सडक बढार्न जान्छिन् । विहान पाँच बजे जब उनी आफ्नो कार्यक्षेत्रमा पुग्छिन्, वरीपरीका होटल र लजमा बस्नेहरूको हर्कतले उनलाई दिग्दारै बनाउँछ ।

झ्यालमा उभिएर बोलाउने, जिब्रो पड्काउनेदेखि कपडा खोलेर अश्लिल हाउभाउ गर्नेसम्मको हर्कतबाट आजित छन्, उनी । उनीमात्रै होइन त्यो क्षेत्रमा सरसफाइ गर्न जाने जो कोही महिला होटेलमा बस्नेहरूको यस्तो व्यवहारबाट हैरान छन् । होटल मालिकलाई उजुरी गर्‍यो, तर ती फेला पर्दैनन् ।

देवी भन्छिन् ‘सुन्धारा क्षेत्रका होटल र लजमा बस्नेहरू नाङ्गै झ्यालमा उभिएर अश्लिल हाउभाउ गर्दै हामीलाई दुर्व्यवहार गर्छन्, काम छोडुँ भने रोजीरोटीको सवाल छ, गरौं भने कुनै उत्साह हुँदैन ।’

दिनदिनै यस्तो व्यवहार सहनुपर्दा मानसिक तनाव हुन थाल्यो देवीलाई । एकदिन उनले सँगै काम गर्ने साथीहरू लिएर सुन्धारा क्षेत्रका प्रहरीलाई आफ्ना समस्या बताइन् । तर, प्रहरीले उनीहरूको कुरालाई उल्याएर उल्टै हाँसोको पात्र बनाए । ‘प्रहरीले किन हाम्रा कुरा सुन्दैनन् ? हाम्रो समस्या किन बुझ्दैनन् ?’ नेपाली प्रश्न गर्छिन् ।

यसखाले दुर्व्यवहारबाट स्वयं प्रहरी नै पीडित भइरहेका देखिन्छन् । थापाथलीको ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी जवान दिलीषा नेपाली (नाम परिवर्तन) पुरुष यात्रुबाट विभिन्न दुर्व्यवहार खेप्नुपर्ने महिला ट्राफिकको नियति नै भएको बताउँछिन् । उनी भन्छिन् ‘यात्रुले अश्लिल शब्द बोलेर दुर्व्यवहार गर्छन्, अहिले त यस्तो बोलेको सामान्य जस्तो लाग्छ ।’

महिला प्रहरीहरू पुरुष चालकका कारण पीडित बनेपनि महिला चालक चाँही पुरुष यात्रुका कारण पीडित भइरहेका देखिन्छन् । जस्तोकी, काठमाडौंमा टेम्पो चलाउने सर्लाहीकी सोनी तामाङ यात्रुले नजिस्क्याएको कुनै दिन नभएको बताउँछिन् ।

बिहान ५ बजेदेखि बेलुका ६–७ बजेसम्म ट्याम्पु चलाउने सोनीले खासगरि बिहान र बेलुकाको समयमा यात्रुले भाडा माग्दापनि मुख छाडेर गाली गर्ने र अश्लिल शब्द प्रयोग गर्ने गरेको बताइन् । ‘सीधा काम गरी खान पनि गाह्रो छ हामीलाई, गाडी चढ्छन्, भाडा माग्दा उल्टै तथानाम गाली सुन्नुपर्छ,’ उनी भन्छिन् ।

तराइतिर खासगरी गर्मी महिनामा महिलालाई बाटो हिँड्न समेत समस्या हुने गरेको छ । कैलाली बेलोदेवीपुरकी रितु चौधरी भन्छिन् ‘गर्मीका बेला बाटोमा हिँड्ने अर्धनग्न पुरुषहरूले विभिन्न अश्लिल संकेत गरेर दुर्व्यवहार गर्छन्, घरबाहिर हिँड्न पनि कठिन हुन्छ ।’

कैलाली बेलोदेवीपुरकै किशोरी रीता चौधरीले त दुर्व्यवहारका कारण स्कुल नै छाडिन् । दैनिक साइकलमा स्कुल जाने आउने गर्ने रीता बाटोमा जिस्किन खोज्ने ट्रयाक्टर चालक र यात्रुलाई नदेखे झैं गर्थिन् । त्यस्तै परे साइकल तीव्र गतिमा कुदाएर बेपत्ता हुन्थिन् । हुँदा हुँदा ट्रयाक्टर चालक उनको हातै समाउन आएपछि उनी डरले त्यो बाटो एक्लै हिड्न छोडिन् ।

यस्तै अनुभव छ, कञ्चनपुर दैजी गाविसकी मीना चौधरी (नाम परिवर्तन) को पनि । एकदिन कामले घरबाहिर हिंडेको बेला पुलमा बसेका एक हुल केटाहरूले उनलाई देख्ने बित्तिकै जिब्रो पड्काउने र सीट्ठी बजाउने गर्न थाले । उनलाई पुल पारी जानु थियो, तर त्यसपछि उनका पाइला अघि बढ्न सकेनन् । केहिबेर त्यसै अल्मलिएर बसिरहँदा अरु महिला बटुवा पनि आइपुगे । उनले त्यही हुलमा मिसिएर पुल तरिन् ।

जताततै असुरक्षित महिला

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १२ देखि २५ प्रतिशत महिलाले जीवनमा कुनै न कुनै यौनजन्य हिंसा व्यहोरेको उल्लेख गरेको छ । नेपालमा गरिएको एक अध्ययनले पनि यस्तै बताएको छ ।

०७२ मा गरिएको महिला सुरक्षा परिक्षण नामक अध्ययनले अध्ययनमा संलग्न ७८ प्रतिशत बालिका र किशोरीले आफूहरू कहीँ पनि सुरक्षित भएको अनुभव नगरेको बताएका छन् । महिलाका लागि सार्वजनिक स्थानहरू कति सुरक्षित छन् भनेर गरिएको सो अध्ययनमा ५८ प्रतिशत महिला तथा बालिकाले आफ्नै घरमा समेत सुरक्षित नरहेको बताएका थिए ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र तराईका छ जिल्ला बारा, पर्सा, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी ९ जिल्लामा गरिएको सो अध्ययनमा सहभागी ९० प्रतिशत पुरुषले भने आफूहरूका लागि जुनसुकै ठाउँ सुरक्षित रहेको बताएका थिए ।

अध्ययनमा संलग्न महिला तथा बालिकाले एकान्त ठाउँ, जङ्गल, धेरै पुरुषहरू तथा जँड्याहा, जुवाडे र लागु औषध दुर्व्यसनीको बाक्लो उपस्थिति हुने ठाउँ, मन्दिर, गाविस कार्यालय, स्वास्थ्य चौकी, सार्वजनिक यातायात र भीडभाड हुने सार्वजनिक ठाउँलाई असुरक्षित बताएका थिए । अध्ययनको क्रममा सबैभन्दा असुरक्षित समय विहान र बेलुकाको भएको सहभागीले बताएका छन् ।

अध्ययनमा सहभागी अधिकांश बालिका तथा किशोरीले विद्यालय तथा कलेज जाने र फर्किने समयमा मानिसहरूले जिस्काउने, बाटो छेक्ने र अपशब्द बोल्ने गरेको बताएका थिए ।महिला खबरमा समाचार छ

अनुसन्धानमा संलग्न ५ प्रतिशत महिलाले मात्रै यसखाले हिंसाविरुद्ध प्रहरीको सहयोग लिएको बताएका थिए । धेरैजसो महिलाले यस्ता व्यवहार दैनिक रुपमा व्यहोरी रहेकाले यसलाई सामान्य रुपमा लिने गरेको बताए । यसैगरी, यस्ता व्यवहारमा उजुरी कसरी र कहाँ गर्ने भन्नेबारे अनभिज्ञ रहेको बताएका थिए । कतिले भने उजुरी गरेपनि आफ्नो समस्यालाई गम्भीरतापूर्वक नलिएको वा उल्टै दुर्व्यवहार सहनुपरेका बताएका छन् ।

Notes Nepal
Loading...

Loading...

ताजा समाचार