टोड्केका मुलाको चाना, पाहुनालाई ‘कोसेली’ मायाको सम्झना

प्रकाशित मिति :2017-01-12 09:26:12
Loading...

उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्के गाउँ मुला खेतीका लागि उत्कृष्ट मानिन्छ । जिल्लाको पुलाचौर, कुहुँ र झिँ गाविसको सिमानामा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला उत्पादन हुँदै आएको छ । धौलागिरि अञ्चलमै मुला खेतीमा प्रख्यात टोड्के गाउँका स्थानीयले लोकल सेतो र रातो जातको मुला लगाउँदै आएका छन् । उनीहरुले आफ्ना बाबुबाजेको पालादेखि विभिन्न ठाउँबाट बिउ लिएर लगाउने मुला खेतीलाई अहिले पनि निरन्तरता दिएका छन् ।

समुन्द्री सतहदेखि २ हजार ५ सय मिटरको उचाइमा रहेको टोड्केमा मुलासँगै आलु खेती पनि गर्ने गरिएको छ । ५ घरधुरी बसोबास रहेको टोड्केमा स्थानीय रातो र सेतो जातको मुला उत्पादन हुँदै आएको छ भने उनीहरुको मुख्य पेशा मुला तथा आलुखेती रहेको छ । म्याग्दी सदरमुकाम बेनीदेखि करिब २० किलोमिटर कच्ची सडकबाट पुग्न सकिने टोड्के क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण गन्तव्यका रुपमा मानिन्छ । टोड्केबाट धौलागिरि, अन्नपूर्णसहित विभिन्न हिमश्रृङ्खलासँगै सुर्योदय, गुराँसे जङ्गल र रमणीय दृश्यहरुको अवलोकन गर्न पाइन्छ ।

विषादिरहित मुला उत्पादनः
देशका विभिन्न ठाउँहरुमा विषादियुक्त मुला, तरकारी खेतीलगायत उत्पादन भैरहेका बेला टोड्केका स्थानीयले भने विषादिरहित मुला उत्पादन गर्दै आएका छन् । परम्परागत खेती प्रणाली अपनाएर मुला लगाउँदै आएका उनीहरुले विषादीको प्रयोग नगरीकनै मुला खेती लगाउँदै आएका हुन् । आफुहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बिउ लिएर लगाएको र अहिले पनि ३ रोपनीमा मुला खेती गरेको मुला व्यवसायी तिजमाया पाईजाले बताउनुभयो । गतवर्ष भन्दा यसपाली मुला उत्पादन राम्रो रहेको र आफुहरुले विषादिरहित मुला लगाउँदै आएको उहाँले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँका दरले गोटाअनुसार बिक्री गर्ने गरिएको छ ।
मुलासँगै आलुलगायतका खेतीबालीमा विषादी प्रयोग नगरी अग्र्यानिक खेती गर्ने गरेको उनीहरुको भनाई छ । विषादी प्रयोग नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुने भएकाले अग्र्यानिक खेती गर्ने गरिएको महिला उद्यमी समेत रहेकी तिजमाया पाईजा बताउनुहुन्छ ।

एउटै मुलाको तौल ५ केजीः
टोड्केका बारी तथा पाखोमा लगाइने एउटै मुलाको तौल झण्डै ५ केजी हुने गरेको स्थानीयले बताएका छन् । परम्परागत खेती प्रणालीमा आधारित रहेर कम्पोष्ट मलको प्रयोग गरेपछि मुलाको तौलमा भारी वृद्धि हुने गरेको अर्का मुला व्यवसायी मिनबहादुर थजालीले बताउनुभयो । उहाँका अनुसार एउटै मुलाले घर परिवारलाई एकदुई छाक अचार खाना सजिलै पुग्छ । थोरै बारी र पाखोमा पनि राम्रोसँग खेती गरेमा उत्पादन बढ्ने थजालीको भनाई छ ।

मुलाबाट विभिन्न परिकार निर्माण
थोरै मेहनेत गर्ने र समय दिने हो भने मुलाको प्रयोगबाट विभिन्न प्रकारका परिकारहरु बनाउन सकिन्छ । टोड्केका स्थानीयले मुलाबाट जस्तैः चटनी, धजरा, सिन्की (गुन्द्रुक), तरकारी, अचार, सलादलगायतका परिकारहरु बनाउने गरेका छन् । उनीहरुले मुलाबाट यस्तै खालका परिकारहरु निर्माण गरी बिक्री वितरण समेत गर्दै आएका छन् । व्यवसायिक मुला खेती गर्दै आएका टोड्केवासीले मुलालाई आम्दानीको मुख्य आयस्रोत मानेका छन् ।
प्रचारप्रसार गर्न मेला महोत्सवः

मुला र आलु उत्पादनमा प्रख्यात टोड्के क्षेत्रका बासिन्दाहरुले टोड्केको प्रचारप्रसारका लागि बेलाबेलामा मेला महोत्सव पनि आयोजना गर्दै आएका छन् । पर्यटकीय क्षेत्र घोषित टोड्केमा उत्पादित उत्पादनको प्रचारप्रसार तथा पर्यटन प्रवद्र्धन गर्न गुराँस महोत्सव लगाउने गरिएको छ । टोड्केमा पुग्ने पाहुनालाई स्थानीयवासीले मुलाबाट बनाइएका विभिन्न परिकारहरु जस्तैः अचार, मुलाका चाना, धजरा, सिन्कीलगायतका सामग्री उपहार र मायाको चिनो कोसेलीका रुपमा प्रदान गर्ने गर्छन् ।

मुलाको खरिद–बिक्री घट्योः
अग्र्यानिक खेती हुँदै आएको टोड्केमा उत्पादित मुला पछिल्लो समय खरिद बिक्री हुन छाडेको छ । आधुनिक रहनसहनसँगै मानिसहरुमा मुलाको परिकार खानेतर्फ कम चासो हुन थालेपछि यसको खरिदको क्रम घटेको हो । गाउँको पहिचानको रुपमा ख्याति कमाएको मुला खरिद गर्ने क्रम घटेपछि मुला खेती गर्ने कृषकको संख्या घट्न थालेको छ । मुला खेतीमा प्रसिद्ध टोड्केमा अहिले अन्न र नगद लिएर मुला किन्न जाने मानिसहरु भेटिँदैनन् ।

पहिले मुला लिनका लागि जिल्लाको राखु, अर्थुङ्गे, बेनी, बराङ्जा, अर्मन, रत्नेचौर, पर्वतको मल्लाज, धाईरिङ र बागलुङ जिल्लाबाट समेत मानिसहरु त्यहाँ पुग्ने गरेको स्थानीय बताउँछन् । तर, पछिल्लो समय मुला लिनै भनेर पहिलेजस्तो ग्राहक आउन छाडेको स्थानीयको भनाई छ ।‘टोड्के गाउँ, मुला पाइने ठाउँ’ भनिए पनि प्रचारप्रसारको अभाव, उत्पादन लागत कम पर्नु, सदरमुकामको पहुँचदेखि टाढा र व्यवस्थित बजारको अभावमा टोड्केको मुला खेती ओझेलमा परेको छ । गाउँमा उत्पादित मुलाको बजार सुनिश्चित नभएको मुला व्यवसायी बताउँछन् ।

Notes Nepal
Loading...

Loading...

ताजा समाचार