अझै पनि वागमतीबाट मात्रै स्मार्ड लाइसेन्स

काठमाडौंः यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’ वितरण सुरू गरेको एक वर्ष पुग्दा पनि त्यसलाई उपत्यकाबाहिर अझै विस्तार गर्न सकेको छैन । त्यसमा पनि विभागले वागमती अञ्चल यातायात कार्यालय एकान्तकुनाबाट मात्रै स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ ।

२०७२ मंसिरबाट विभागले स्मार्ट लाइसेन्स वितरण सुरु गरे पनि सेवाग्राहीले भने पुस पहिलो साताबाट मात्र पाएका थिए । उपत्यकाबाहिरबाट सवारी चालकले स्मार्ट लाइसेन्स लिन अझ वर्ष दिन कुनुपर्ने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । कार्ड अभावका कारण उपत्यकाबाहिरबाट लाइसेन्स वितरण गर्न नसकिएको उनको भनाइ छ । विभागसँग अब ३० हजार माात्र स्मार्ट कार्ड उपलब्ध रहेको उनले बताए ।

विभागले आर्थिक वर्ष २०७३/७४ को सुरुवातसँगै उपत्यकाबाहिरका अञ्चल कार्यालयबाट पनि स्मार्ट लाइसेन्स वितरणको तयारी गरेको थियो । तर कार्ड अभाव हुँदा उक्त काम रोकिएको विभागको भनाइ छ । विभागले उपत्यकाबाहिरका अञ्चल कार्यालयबाट स्मार्ट लाइसेन्स र स्मार्ट ब्लुबुक वितरणका लागि निजीक्षेत्रलाई जिम्मा दिने तयारी गरेको छ ।

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा विभागले स्मार्ट लाइसेन्स वितरण गरेको हो । एडीबीको सहयोगमा भारतको मद्रास सेक्युरिटी कम्पनीले स्मार्ड कार्ड वितरण सुरु गरेको थियो । कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको कार्डबाटै विभागले अहिलेसम्म उपत्यकाबाट मात्रै स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ । दोस्रो चरणको कार्ड छपाइको काम भएको छैन ।

कम्पनीले विभागलाई उपलब्ध भएको एक लाख ६० हजारमध्ये एक लाख ३० हजारभन्दा बढी स्मार्ट काड वितरण गरिसकिएको छ ।

विभागले तत्काल समस्या समाधान गर्ने भन्दै साविकको शुल्कमा १ दशमलव २६ अमेरिकी डलरमा मद्रास प्रिन्टरसँग ५४ हजार हाराहारीमा कार्ड ‘अर्डर’ गरेको श्रेष्ठले बताए । ‘अर्डर’ गरिएको कार्ड नेपाल आइपुग्न महिना दिन लाग्ने उनको भनाइ छ । त्यसैले, विभागले उपत्यकामा थप गरिएका कार्यालबाट पनि फागुनअघिसम्म स्मार्ट कार्ड वितरण नगर्ने भएको छ । नयाँ कार्यालयबाट लाइसेन्स र ब्लुबुक नवीकरण मात्र गरिने श्रेष्ठले जानकारी दिए ।

पाँचबर्से योजना सात वर्ष

विभागले स्मार्ट लाइसेन्स वितरण सुरु गर्दा देशभरका सवारी चालकको हातमा पाँच वर्षभित्र उक्त कार्ड वितरण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको थियो । तर, कार्ड अभाव भएपछि आफूहरूले राखेको लक्ष्यमा समेत असफल भएको श्रेष्ठले स्विकारे । विभागले कार्ड वितरण गर्न सक्ने अवस्था नदेखेपछि त्यसको जिम्मा निजीक्षेत्रलाई दिने तयारी थालेको छ ।

कार्यालयले दैनिक आठ सय मोटरसाइकल तथा स्कुटर र दुई सय ठूला सवारी चालक अनुमतिपत्र वितरणका लागि फाराम भरिरहेको छ ।

पाँच वर्षभित्र काम सक्ने गरी कार्ड वितरणका लागि निजीक्षेत्रलाई दिने तयारी भएको उनले बताए । त्यसका लागि आगामी एक महिनाभित्रै ग्लोबल टेन्डर गरिने उनले जानकारी दिए । टेन्डरमा छनोट भएको कम्पनीले काम सुरू गरेको पाँच वर्षभित्र स्मार्ड लाइसेन्स र ब्लुबुक वितरण गर्नेछ । यो प्रक्रिया सुरु हुनकै लागि एक वर्षको अवधि थपिने उनको भनाइ छ । यसबाट पनि उपत्यकाबाहिरका अञ्चल कार्यालबाट स्मार्ट कार्ड वितरण कार्य अझै एक वर्ष लम्बिने निश्चित छ ।

उपत्यकाका चारवटै कार्यालयबाट स्मार्ट कार्ड वितरणका लागि विभागले मन्त्रालयसमक्ष दुई लाख ५० हजार कार्ड छपाइ गर्न निवेदन पेस गरेको छ । मन्त्रालयबाट मन्त्रिपरिषद् हुँदै पारित भएको अवस्थामा विभागले थप दुई लाख ५० हजार कार्ड छाप्न पाउने श्रेष्ठको भनाइ छ । यसपछि उपत्यकाका सेवाग्राहीले आजको भोलि नै स्मार्ट लाइसेन्स पाउने उनको दाबी छ ।

ट्रायल पास भएको २१ दिनमा लाइसेन्स

यातायात व्यवस्था कार्यालय वागमतीले सवारी चालक अनुमतिपत्र ट्रायल पास भएको २१ दिनमा मात्रै वितरण गर्दै आएको छ । ट्रायल पास भएर राजस्व बुझाएको एक सातामै लाइसेन्स लिन पाउने सेवाग्राहीले २१ दिनसम्म पालो कुर्नपर्ने अवस्था छ । तर कार्यालयले सहजताका लागि राजस्व दाखिला गर्ने समयमै लाइसेन्स नम्बर दिएर सेवाग्राहीलाई चित्त बुझाउँदै आएको छ ।

यता विभागका महानिर्देशक श्रेष्ठले भने कार्यालयबाट राजस्व तिरेको रसिद नम्बर विभागमा आउनासाथ प्रिन्ट गरेर लाइसेन्स पठाउने गरिएको दाबी गरे । ‘स्मार्ट लाइसेन्स वितरणमा किन ढिला भयो भन्ने विषयमा कार्यालयसँगै सोध्नुहोस्’, उनले भने ।

कार्यालयले भने विभागबाटै लाइसेन्स प्रिन्ट गरेर आउन ढिला हुँदा वितरणमा समस्या भएको दाबी गरेको छ । कार्यालयले दैनिक आठ सय मोटरसाइकल तथा स्कुटर र दुई सय ठूला सवारी चालक अनुमतिपत्र वितरणका लागि फाराम भरिरहेको छ ।

Annapurna Post बाट साभार

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार