साढे छ लाख महिला मतदाता थपिए

प्रकाशित मिति :2017-01-12 11:28:38

काठमाडौं। मतदाता नामावलीमा ६ लाख महिला मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार ०७० भाद्र देखि ०७३ असारसम्म ६ लाख ५६ हजार ४ सय ९ महिला मतदाताको सुचिमा थपिएका छन् । महिलाको संख्या बढेसँगै महिला मतदाता ६८ लाख भन्दा बढि पुगेका छन् ।

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन अनुसार ०७० भाद्र देखि ०७३ असार सम्म मतदाताको कुल संख्या १ करोड ३६ लाख ७७ हजार ६ सय ३६ पुगेको छ । यीनमा महिला मतदाताको संख्या ६८ लाख २३ हजार २ सय ३८, पुरुष ६८ लाख ५४ हजार २ सय ४२ र तेस्रो लिङ्गी १ सय ५६ रहेका छन् ।

०७० मंसिर ४ मा भएको संविधानसभाको दोस्रो निर्वाचन अघिसम्म महिला मतदाताको संख्या बढि भएपनि अहिले पुरुषको संख्या बढि देखिन्छ । २०७० भदौसम्म महिला मतदाता ६१ लाख ६६ हजार ८ सय २९ र पुरुष मतदाता ५९ लाख ८० हजार ८ सय ८१ मात्र रहेका थिए । यो हिसाबले झण्डै ९ लाख पुरुष मतदाता थपिएका छन् ।

मतदाता नामावलीमा महिलाको संख्या बढेपनि जनसंख्याको अनुपातमा बढ्न नसकेकोले पुरुष भन्दा महिलाको संख्या कम देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सन् २०१५ मा कुल जनसंख्या २ करोड ८० लाख ३७ हजार ९ सय ४ मध्ये महिला १ करोड ४४ लाख ४४ हजार ८ सय ३५ र पुरुष १ करोड ३५ लाख ९३ हजार ६९ को संख्यामा रहेका छन् ।महिला खबरमा समचार छ ।

कुल जनसंख्याको आधाभन्दा बढि संख्या महिलाको भएपनि मतदाता नामावलीमा दर्ता हुने महिलाको संख्या उल्लेख्य रुपमा बढ्न नसकेकोले निर्वाचन आयोगले निर्वाचन शिक्षामा महिलालाई संलग्न गर्ने क्रम तीव्र पारिरहेको निर्वाचन आयोगका निर्वाचन आयुक्त इला शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दर्ता कम भएकै हो, त्यहि भएर अहिले निर्वाचन शिक्षाका कार्यक्रममा धेरै महिला ल्याउने काम भइरहेको छ ।’

Notes Nepal

ताजा समाचार