हरेक पुरूषले महिलाको ठाँउमा आफूलाई उभ्याएर हेर्नु पर्छ अनि थाहा हुन्छ विभेद : कप्तान खड्का

नेपालको चर्चित क्रिकेटर पारस खडका लैंगिक हिंसाविरुद्धको सदभावदूत नियुक्त भएका छन् । एउटा क्रिकेटरलाई यस्तो के आईलाग्यो भन्ने त लागेको छैन ? भनेर महिला खबर डटकमका अरुणा रायमाझीको प्रश्नमा खड्का भन्छन्– ‘छैन बरु महिला हिंसाविरुद्ध केही योगदान दिनसक्छु कि भनेर पो यो अभियानमा सहभागी भएको हुँ।’ पढ्नुस उनीसँगमहिला खबर डटकमले गरेको कुराकानी ।

लैंगिक हिंसाविरुद्धको सदभावदूत नियुक्त हुनु भो । के आईलाग्यो भन्ने त लागेको छैन ?

पटक्कै छैन । समाजमा व्याप्त रहेको लैंगिक हिंसा अन्त्य गर्न मबाट केही योगदान पुग्छ भने, किन नगर्ने भनेर सहभागी भएको हुँ । म क्रिकेटरभन्दा पहिला कसैको नाती, छोरो र श्रीमान हो । समाजमा रहेको लैंगिक हिंसा अन्त्य गर्नु मेरो पनि कतव्र्य हो । मन्त्रालयबाट दुई वर्षसम्मको लागि जुन भूमिका दिनुभएको छ मेरा लागि त्यो धेरै महत्वपूर्ण छ ।

अहिलेसम्म कुनै हिंसा पीडित महिलाको कुरा सुन्नुभएको छ ? भए कुनै अनुभूति सुनाई दिनुस् न ?

हिंसा पीडितको कुरा त सुनेको छैन । मेरो नजिकको परिवारमै मारपिट त होइन, हिंसाका विभिन्न रुपहरू देखेको छु । महिलालाई होच्याउने, छोरी जन्मदा नाक खुम्च्याउने, दोस्रो दर्जाको व्यवहार गर्ने र कतिपय घरमा त बुहारीलाई घरको सोफामा समेत बस्ने अनुमति छैन । यस्तो व्यवाहार शिक्षित भनिएको परिवारमा पनि देख्न पाइन्छ ।

राज्यले लैंगिक हिंसाविरुद्ध सदभावदूत नियुक्त गरेको छ । अब तपाईको भूमिका के हुन्छ ?

समाजमा परिचित व्यक्ति भएकाले हामीलाई यसको लागि चुन्नु भएको हो जस्तो लाग्छ । हाम्रो भूमिका भनेको सर्वसाधारणको बीचमा गएर लैंगिक हिंसाविरुद्ध बोल्ने र समानताको लागि सचेत गराउनु हो । विभिन्न माध्यमबाट हरेक घरमा समानताको आवाज पु-याउने हो । हामीले आफ्नो अनुभव अरुसंग साट्ने र मान्छेको सोचमा परिवर्तन ल्याउन इमान्दार कोशिश गर्ने हो । धेरै नभए पनि एक जनाले पाँच जनालाई परिवर्तन गर्न सक्यौं भने त्यो ठूलो उपलब्धी हुनेछ । त्यसले मानिसमा सकारात्मक भएर बाँच्न सिकाउनेछ । हामीले मानिसमा सकारात्मक सोचको विकास गराउने प्रयास मात्र गर्ने हो । परिवर्तन व्यक्ति आफैँले ल्याउनुपर्छ ।

तपाईको बुझाइमा अहिले नेपाली महिलाको अवस्था के छ ?

नेपालको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति र सभामुख पाएका छौं । यो एउटा सकारात्मक संकेत हो । विस्तारै परिवर्तन आउँदैछ ।

लैंगिक समानता र महिला हिंसाविरुद्धको अभियानमा पुरुष सहभागिता कत्तिको आवश्यक देख्नुभएको छ ?

लैंगिक हिंसा अन्त्यको लागि सबैभन्दा ठूलो भूमिका पुरुषको हुन्छ । महिलामाथि हिंसा गर्ने घटनामा अहिलेसम्म पुरुष नै संलग्न छन् । पुरुषमा छोरी भनेको विवाह गरेर अर्काको घर जाने हो भन्ने सोच हुन्छ । त्यो सोच परिवर्तन गराउन सचेत पहल त्यो पनि पुरुषबाट हुनपर्छ । मैले यहाँ सबै पुरुष यस्ता हुन्छन भनेको होइन । धेरैमा त्यो सोच देखिन्छ । लडाई महिला र पुरुष बिचको होइन । को ठूलो भन्ने प्रतिस्पर्धा पनि होइन, मात्र एकले अर्कोको सम्मान गरे पुग्छ । गलत सोचलाई परिवर्तन गरे पुग्छ ।

लैंगिक आधारमा हुने जति पनि हिंसा छन्, तीनको अन्त्यका लागि राज्यले खेल्नुपर्ने भूमिका के के हुन ?

पहिलो राज्यका सबै निकायमा महिलाको समान सहभागिता र महिला अनुकूल राज्यको नीति हुनुपर्छ । दोस्रो भएका कानुनको सही कार्यन्वय र समाजमा समानताका लागि जनचेतना जगाउनुपर्छ ।

गर्भबाटै सुरु हुने लैंगिक हिंसालाई राज्यले गैर कानुनी भनेर मात्र रोकिन्छ ? अथवा यसको अन्त्यका अरु केही उपाय देख्नुभएको छ ?

गर्भमै छोरीको पहिचान गरी हत्यामा संलग्न हुनेलाई कानुनको कठघरमा उभ्याएर कडा सजाय सुनाउनुपर्छ । जबसम्म मानिसलाई समाज र राज्यको डर हुँदैन मान्छे, मारेपछि पैसा तिरेर छुट्न सकिन्छ भन्ने लाग्छ तबसम्म गर्भमै छोरीहरूको हत्या भैरहन्छ । मेरो विचारमा अहिलेसम्म लाखौं छोरीको हत्या भैसकेको छ । छोराछोरी बराबरी भन्ने चेतना मानिसमा जगाउनुपर्छ ।

लैंगिक विभेदको बारेमा साथीहरूबीच छलफल हुन्छ ?

यस बारेमा साथीहरूसँग पनि कुरा गर्छु । हामीले विवाह गरेर केटी हाम्रो घरमा ल्याउँछौ तर, हामी विवाहपछि केटीको घर जानुप¥यो भने कस्तो हुन्छ ? भन्दा उनीहरू एक्कै स्वरमा भन्छन्, ‘त्यो त हामी सोच्न पनि सक्दैनौँ ।’ यदि केटाहरूले केटीको घरमा विवाह गरेर जाने कुरा कल्पना पनि गर्न सक्दैनन् भने केटीहरू आफ्नो जन्मघर छोडेर हाम्रो घरमा आउँछन् । उनीहरूलाई कस्तो हुँदो हो । तसर्थ उनीहरूलाई हामीले गर्ने व्यवहार परिवर्तन गर्नैपर्छ । हाम्रो अहिलेसम्मको सामाजिक परम्परा विवाहपछि केटी केटाको घरमा जाने चलन छ । यो परम्परा पनि मानिसले नै बनाएको हो । यसलाई परिवर्तन गर्न सकिन्छ । कानुन पनि हामीले नै बनाएको हो त्यसलाई पनि परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्छ ।

नेपाल प्रहरीको रेर्कड अनुसार एक वर्षमा १० हजार घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् । उनीहरूलाई कसरी न्याय दिने होला ?

आफूमाथि भएको शारीरिक, मानसिक जुनसुकै हिंसा बाहिर ल्याउनु प-यो । विवाहपछि आमाबुबालाई के भन्नु भनेर आफूमाथि भएको हिंसा लुकाउनु भएन । हिंसा जति सहनु हुन्छ त्यति नै बढ्दै जान्छ । त्यसकारण हिंसा अन्त्यका लागि समयमै बोल्नुपर्छ । पीडितलाई हामीले साथ दिनुपर्छ । यदि एउटा गाउँबाट एक जना हिंसा पीडित महिला आँट गरेर बाहिर आउनुभयो, राज्यले उहाँलाई संरक्षण ग-यो र हामीले साथ दियौं भने मलाई लाग्छ त्यो गाउँ हिंसा मुक्त हुन्छ । हिंसा सहेर बस्ने इच्छा कसैलाई हुँदैन । सबै सम्मानका साथ बाँच्न चाहन्छन् । यहाँ त हिंसा पीडित बोलिहाले पनि त्यसपछि कहाँ जाने ? त्यसैले महिला आफूमाथि भैरहेको हिंसा लुकाउन बाध्य छन् ।

न्याय खोज्न एउटी महिला घरबाट निस्किन भने उनी फर्केर जाने ठाउँ हुँदैन । यदि गई हालिन् भनेपनि उनले हरेक पल हिंसाको शिकार हुनुपर्छ । फेरि विवाह भएकी छोरी माइती जानुहुँदैन भन्ने गलत सोचले हाम्रो समाजलाई बाँधेर राखेको छ । त्यसकारण हिंसा पीडित महिलालाई आश्रय दिनेकाम राज्यले गर्नुपर्छ ।

उनीहरूलाई सेफ हाउमा राखेर, आत्मबल बढाउन र जिविकोपार्जनका लागि आर्थिक आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्छ । ताकि उनीहरूलाई त्यो विश्वास हुनुप-यो, म हिंसाविरुद्ध बोल्दा राज्य मेरो साथमा छ । बल्ल महिलाले हिंसाविरुद्ध बोल्ने आँट गर्छन् । होइन भने उनीहरू हिंसा सहन बाध्य हुनेछन् । मलाई लाग्दैन राज्यसँग लगानीको कमी छ । हिंसा मुक्त समाज निर्माणका लागि राज्यले लगानी गर्नैपर्छ । महिलाको विकासको अवस्था हेरेर राज्यको संरचना कस्तो छ भन्ने अनुमान लगाउन सकिन्छ ।

क्रिकेट मै पनि त विभेद छ । तपाईहरू तलब पाउनु हुन्छ, महिला क्रिकेटरले पाउँदैनन् ? यो समस्या कसरी अन्त्य गर्ने ?

हो, यो क्षेत्रमा लैंगिक विभेद हुनुहुन्न भन्ने हामी सबैले चाहेका छौं । पुरुषको तुलनामा महिलाको क्रिकेट त्यति प्रख्यात छैन । हामीले पनि पारिश्रमिक पाउन थालेको करिव २ वर्ष हुन थाल्यो । मैले यो विषयमा धेरै कुरा उठाउँदै आएको छु र उठाउने छु । लैंगिक हिंसा विरुद्धको अभियान मैले क्रिकेट क्षेत्रबाट सुरु गर्नुपर्छ ।

अहिले क्रिकेटको गतिविधि एकदमै कम छ । यस्तो विभेद अन्त्यका लागि मैले सम्बन्धित निकायमा दवाव सृजना गर्नुपर्छ । त्यसको लागि महिला क्रिकेट टीम पनि अगाडि आउनुपर्छ । महिलालाई पनि विश्वस्तरमा खेलाउनको लागि राज्यले अहिलेदेखि नै लगानी गर्नुपर्छ । उनीहरूमा क्षमता भरपुर छ तर, त्यसको लागि चाहिने श्रोत, साधन छैन । हाम्रो देश यस्तो छ, जहाँ कुरा हुन्छ काम हुँदैन ।

कार्यक्रम हुन्छ कुरा उठ्छ । पत्रपत्रिकामा आउँछ हामी पढ्छौ, गाली गर्छौ अरु केही हुँदैन । त्यो क्रम दोहोरीरहन्छ । मलाई लाग्दैन हामीले गरेका कुरामाथि बस्नेलाई कुनै मतलब छ । राज्यको प्रष्ट नीति नबन्दासम्म हामीले बोलेर परिवर्तन हुने कुरा अत्यन्तै न्यून हुनेछ । फेरि पनि परिवर्तनका लागि हामी सबैले आवाज उठाई रहनुपर्छ ।

खेलक्षेत्रमा पनि त महिला र पुरुष बीच विभेद हुन्छ । यसको अन्त्यका लागि तपाइँको के विचार छ ?

यो क्षेत्रमा राज्यको लगानी अत्यन्तै न्यून छ । राज्यले महिला र पुरुष खेलाडी सबैलाई समान व्यवहार गर्नुपर्छ । तर, राज्यकै धारणा कस्तो छ भने पुरुषको खेलको बजार राम्रो छ, महिलाको ठिकै मात्र । यहाँ मात्र होइन, विश्वकपमा पनि पुरुषको तुलनामा महिलामाथि विभेद छ । यूएस ओपन पुरुषले जिते भने २.५ मिलियन दिइन्छ भने महिलाले जिते जम्मा १.२ मिलियन ।

नेपालमा पनि महिला र पुरुष खेलाडीलाई दिने पुरस्कार राशीमा ठूलो विभेद छ । यसलाई अन्त्य गर्न कहीँ न कहीँबाट सुरुवात गर्नैपर्छ । अहिलेको अवस्थामा वराबर हुन नसके पनि महिला राष्ट्रिय क्रिकेट टोलीलाई पारिश्रमीक दिनुपर्छ । मैले गर्नसक्ने भनेको सम्बन्धित निकायमा मुद्दा उठाउने हो । त्यो म गर्छु । यसका लागी मैले मात्र होइन, सबैले आफ्नो आफ्नो ठाउँबाट बोली दिनुप-यो । त्यसपछि सकारात्क नतिजा आउँछ कि ?

बेलाबेला चल्ने हिंसाविरुद्धको अभियान कत्तिको सार्थक देख्नुभएको छ ?

हिंसाविरुद्धको अभियान चलाउनु राम्रो कुरा हो । अभियानपछि त्यसको अनुगमन गर्नुपर्छ । दिवसहरू त हरेक वर्ष आउँछन । ती भाषण, गोष्ठी र प्रचार प्रसारमै सिमित हुन्छन् । परिणाम के त ? खोज्नु प-यो भन्ने मेरो मान्यता हो । १६ दिने अभियान जस्ता अन्य अभियानहरू निरन्तर गर्ने र त्यसको अनुगमन अनिवार्य हुनुपर्छ । त्यसका लागि राज्यले ठोस योजना ल्याउनु प-यो, क्षेत्र तोक्नु प-यो । मानौँ बानेश्वर एरियामा १ लाख घरधुरि छन्, भने त्यहाँको स्थलगत अध्ययन गरेर त्यही अनुसारको योजना बन्नुपर्छ न कि डोनरले जे भन्यो त्यही । महिलाले फरक ठाउँमा फरक समस्या भोगेका हुन सक्छन् र त्यसलाई हल गर्ने तरिका पनि फरक, फरक हुन्छ ।

लैंगिक हिंसा बढ्नुको मुख्यकारण के हो जस्तो लाग्छ ?

मानिसको सोचाई हो । कुनै पनि पुरुष आमा, श्रीमती र छोरीलाई आफू सरह हेर्छ भने त्यहाँ समस्या हुँदैन । मत भन्छु हरेक पुरुषले एक पटक महिलाको ठाउँमा आफूलाई उभ्याएर हेर्नुपर्छ अनि मात्रै थाहा हुन्छ विभेद । उनीहरूले महिलामाथि भैरहेको जस्तो विभेद सहन सक्थे वा सक्दैनथे ।

हिंसा अन्त्यका लागि युवा पुस्तालाई तपाईको सुझाव के छ ?

पुरानो भन्दा नयाँ पुस्तामा केही परिवर्तन आएको छ । आफूले सिकेका कुरा घरमा आमाबुबालाई सिकाउनु प-यो । उहाँको पुरानो सोचलाई विस्तारै परिवर्तनको लागि पहल गर्नुपर्छ । यसबारेमा जति घरमा छलफल भयो त्यति सोचमा परिवर्तन आउँछ । आफ्नो घर हिंसा मुक्त छ भनेर अर्को घरमा महिलाले भोगेको हिंसालाई कसैले नजरअन्दाज गर्नु हुँदैन । उनीहरूको पारिवारिक समस्या हो भनेर पछि हट्नु पनि हिंसा हो भन्ने सोच्नुपर्छ । हिंसा न्यूनिकरणमा युवा पुस्ताको ठूलो योगदान हुनुपर्छ । महिला खबरमा समचार छ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार