बाघ हमलाले हैरान

सिंगो बस्ती नै त्रासमा

केबी राना

कावासोती ।। २९ कात्तिकमा कावासोतीको रातमाटे जंगलमा घाँस काट्न गएका डिलबहादुर श्रेष्ठ साँझसम्म घर फर्किएनन् । आफन्तहरू खोज्न जंगलतर्फ जाँदा बाघ आक्रमणले क्षतविक्षत् लास मात्र भेटियो । ४ कात्तिकमा नवलपरासीकै अम्रसामा आज्ञावती रानामगर र १० मंसिरमा दुम्कीबासकी आसमती मश्रागीले उस्तै प्रकृतिको घटनामा ज्यान गुमाए । नवलपरासीका यी तीनवटै स्थान झन्डै २० किलोमिटर आसपासमा छन् । नजिकैको चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका बाघले एक महिनाकै अन्तरालमा यसरी तीन जनाको ज्यान लिएपछि स्थानीय त्रस्त छन् ।

त्यसो त गैँडा र जंगली हात्तीको सास्तीसमेत उत्तिकै झेल्नुपर्छ उनीहरूले । ०७२/०७३ मा बाघ आक्रमणबाट दुई जना, गैँडा आक्रमणबाट दुई जना र हात्ती आक्रमणबाट एक जनाले ज्यान गुमाए । ४९ जना घाइते भएका थिए । ०७१/०७२ मा गैँडा आक्रमणबाट पाँच र बाघबाट तीन जनाले ज्यान गुमाएका छन् । १९ जना घाइते भएका थिए ।

बाघले खाइदिने घरपालुवा जनावरको त लेखाजोखा नै छैन । “मानिसहरूमा बाघ फोबिया नै भएको छ,” मध्यविन्दु नगरपालिकाका रामप्रसाद महतो भन्छन्, “जंगलमा घाँस–दाउरा गर्ने काम त ठप्प भयो नै, साँझमा कसैलाई अप्ठ्यारो पर्दासमेत धेरै सोचेर मात्र निस्किनुपर्ने भइसक्यो ।”

छिटोछिटो एकै प्रकृतिका घटना भएपछि मानिसहरूलाई कतै बाघ नरभक्षी भएको त होइन भन्ने त्रासले पिरोलेको छ । बाघलाई नियन्त्रण गर्न पीडित स्थानीयहरू निकुञ्ज प्रशासनसम्म पुगे तापनि ठोस काम नभएको बताउँछन् । कावासोतीका स्थानीय लालप्रसाद बरालले आक्रोश पोखे, “निकुञ्जले केही नगर्ने हो भने हामीले आफ्नै उपाय लगाउनुपर्नेछ । कतिन्जेल यस्तो त्रासमा बस्ने ?”

बाघ आक्रमण बढेसँगै एक टोली पठाएर स्थलगत अध्ययन गरिएको निकुञ्ज प्रशासन बताउँछ । तर, उनीहरूले अहिलेसम्म बाघ भेट्टाउन भने सकेका छैनन् । बाघ नरभक्षी भएको जस्तो प्रारम्भिक अनुसन्धानबाट नदेखिएको अधिकारीहरू बताउँछन् । निकुञ्जका सूचना अधिकृत लुरेन्द्र अर्याल भन्छन्, “नरभक्षी भएको भए बाघ मानव बस्ती छेउछाउमा भेटिनुपथ्र्यो तर त्यस्तो पाइएन ।”

मध्यवर्ती क्षेत्रका मानिसहरू स्वाभाविक रूपमा सचेत हुनुपर्नेमा लापरबाहीले पनि त्यसो भएको हुनसक्ने बताउँछ, निकुञ्ज । निकुञ्जका निमित्त संरक्षण अधिकृत देव खड् का भन्छन्, “जंगल पस्दा जनावरका पाइला, आवाज, बस्ने ठाउँहरूको विशेष ख्याल गर्नुपर्छ ।” पछिल्ला हमला मध्यवर्ती क्षेत्रसँग जोडिएका बस्तीमा भएका छन् ।

निकुञ्जले बेलाबखत मध्यवर्ती क्षेत्रका स्थानीयहरूलाई जनावरको स्वभाव र उनीहरूसँग जम्काभेट हुँदा जोगिने तालिम दिने गर्छ । गैँडा, हात्तीलाई जंगलबाट मानव बस्तीमा जान रोक्नका लागि बारिएको तारमा करेन्ट छाडिन्छ । नन्द भाउजू मध्यवर्ती उपभोक्ता समिति, कोल्हुवाका अध्यक्ष दुमन भण्डारी भन्छन्, “दिउँसोमा खोला–खोल्साबाट छिर्ने गरेकाले तार हुँदैमा पूरै सुरक्षित महसुस गर्न सकिँदो रहेनछ ।”

जंगली जनावरहरू ओहोदोहोर गर्ने एउटा चक्र नै हुन्छ । हिउँदमा उनीहरू गाउँमा बाली, तरकारी, उँखु खान मानव बस्तीमा प्रवेश गर्छन् । मौसम फेरिँदा समेत अनुकूल ठाउँ खोज्न उनीहरू बाहिर निस्किने सम्भावना हुन्छ । त्यस्तो बेला आक्रमण हुने सम्भावना हुन्छ ।

संख्या बढ्दो
पछिल्ला वर्षमा बाघ र गैँडाको संख्यामा समेत वृद्धि भएको छ । सन् २०११ को गणनामा ५ सय ३ गैँडा रहेकामा सन् २०१५ मा बढेर ६ सय ५ पुगेको छ । सन् २००९ को तथ्यांक अनुसार निकुञ्ज क्षेत्रमा ९१ वटा बाघ थिए, जो बढेर सन् २०१३ सम्म आइपुग्दा १ सय २० पुगेका छन् । त्यसयता उनीहरूको संख्या बढेको हुन सक्ने निकुञ्ज प्रशासनको अनुमान छ ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार