२०७३ को ख्रीष्टमसमा त विदा भयो, अब २०७४ मा के हुन्छ?

झन्डै विगत दश वर्षदेखि दिइएको ख्रीष्टमसको सार्वजानिक विदा यसअघिको सरकारले अचानक खोस्यो । खोसिएको बेलामा खासै धेरै सक्रियता नदेखिएको भए पनि ख्रीष्टमसको नजिकैतिर ख्रीष्टियान जगत विदा फिर्ता गराउन दिलोज्यानले लाग्यो । विदा फिर्ता गराउनका निम्ति राष्ट्रिय ख्रीष्टियान महासंघ, नेपाल ख्रीष्टियान समाज लगायत अरू थुप्रै संघसंगठन तथा समूहहरूले खेलेको भूमिका साँच्चिकै अतुलनीय रह्यो । जे होस्, विदा फिर्ता भयो, हामी पनि यो देशका नागरिक हौँ भन्नका लागि सानो भए पनि आधार हामीले पायौं ।

भनिन्छ, “एक माघले जाडो जाँदैन ।” हाम्रो खोसिएको विदा फिर्ता भयो अब सकियो भनेर हामीले सोच्नुहुँदैन । यसपालिको ख्रीष्टमसको विदा मन्त्रीस्तरीय निर्णयबाट मात्रै आएका कारण अब आउने वर्षको क्यालेण्डरमा पनि सरकारले अघिल्लो वर्षकै निर्णय नदोहोर्याउला भन्न सकिंदैन । यदि हामीले बेलैमा ध्यान पुर्याएनौं भने यी सबै कुराहरू हाम्रा निम्ति “हात्ती आयो हात्ती आयो फुस्सा” मात्रै हुन पनि सक्छ ।

मन्त्रीपरिषदको बैठकले हरेक वर्ष फाल्गुन चैततिर आउने वर्षको निम्ति सार्वजानिक विदाको सुची निर्क्योल गर्ने काम गर्छ । यही निर्क्योल गर्ने क्रममा केपी ओली नेतृत्वको अघिल्लो सरकारले ख्रीष्टमसको सार्वजानिक विदा खोस्ने काम गरेको थियो । अघिल्लो मन्त्रीपरिषदको उक्त निर्णयलाई ख्रीष्टमसको २-३ दिन अघि बसेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदको बैठकले कुनै सम्बोधन नगरी २४ तारिख अबेर मात्रै गृहमन्त्रालयबाट विदाको सुचना निकालिएको थियो । यो अवस्था हेर्दा सरकारले “सर्प पनि मर्ने र लौरो पनि नभाँचिने” तरिका अपनाउन खोजेको भान हुन्छ । विदा दिएजस्तो गर्ने तर अबेर विदा घोषणा गरेर प्रायजसो ठाउँहरूमा कार्यान्वयन हुन नपाओस् भन्ने चलाखी सरकारले अपनाएको थियो ।

अब हामी २०७३ सालको करिब करिब उत्तरार्धतिर छौं । २०७४ सालमा दिइने सार्वजानिक विदाहरू निर्क्योल गर्नका निम्ति मन्त्रीपरिषदको बैठक अब छिट्टै नै बस्नेछ । यतिबेला एकपटक फेरि हामी ख्रीष्टियानहरू चनाखो हुनुपर्ने बेला आएको छ । अहिले नै सरकारसम्म आफ्नो कुरा पुर्याएर ख्रीष्टमसको सार्वजानिक विदा कुनै पनि हालतमा नहटाउन खवरदारी गर्ने हो भने २०७३ सालमा झैं अन्योलको वातावरण २०७४ हुन पाउनेछैन । रोग लागिसकेपछि उपचार कठिन हुन्छ, रोग लाग्नुअघि नै हामी किन सचेत नहुने ? नेपाली ख्रीष्टियान समुदायको पक्षमा काम गर्न खडा भएका संघसंगठन तथा समूहहरूको ध्यान यसतर्फ जाओस् ।  जगदीश पोख्रेलको फेसबुक बाट

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार