राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

ललितपुरको दुर्गम क्षेत्र, मकवानपुर बेतिनी, मन्थली र ललितपुरको गिम्दी ठूला दुर्लुङबाट आएका विद्यार्थी।

 

ललितपुर– मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।

‘तीन विषय पढ्न सधैं ६ घन्टाभन्दा बढी हिँड्नुपर्छ,’ उनले भनिन्, ‘मकवानपुरदेखि जंगलको बाटो छिचोल्दै स्कुल पुग्दा ११ बज्छ।’ कक्षा ६ मै पढ्ने प्रेम सिंगारको समस्या पनि सविनासँग मिल्दोजुल्दो छ। मन्थलीकै उनी पनि बिहान सातै बजे स्कुल लाग्छन्। ‘घरनजिक स्कुल छैन,’ उनी भन्छन्, ‘टाढाको स्कुल धाउनुपरेको छ। पढाइ पनि सधैं छुट्छ।’

दक्षिण ललितपुरको गिम्दीस्थित श्रीनारायण उच्च माविमा पढ्ने धेरै विद्यार्थी घरनजिक स्कुल नभएकाले टाढादेखि हिँडेर स्कुल आउन बाध्य छन्। बिहान ११ बजे स्कुल आएर दिउँसो २ नबज्दै घर फर्कने १० भन्दा बढी विद्यार्थी छन्।

‘बिहान ११ बजे स्कुल पुग्छौं,’ कक्षा ७ मा पढ्ने मकवानपुर बेतिनीका मनीष लामाले भने, ‘घर पुग्न लामो समय लाग्ने भएकाले दिउँसो २ बजे नै स्कुलबाट  फर्कनुपर्छ।’

लामो बाटो धाएर आउने विद्यार्थीको पढाइमा भने विद्यालयले खासै चासो दिएको छैन। टाढाका विद्यार्थीलाई लक्षित गरेर विद्यालयले शिक्षण क्रियाकलापमा ध्यान नदिएको विद्यार्थीको गुनासो छ।

विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेल विद्यालयको गाडी नभएको र खाजा कार्यक्रमका लागि स्कुलसँग आवश्यक रकम नभएको बताउँछन्। ‘टाढाका विद्यार्थी ढिला उपस्थित हुँदा पठनपाठनमा पनि समस्या आएको छ,’ उनले भने, ‘उनीहरु ढिला उपस्थित हुने गरेका कारण अन्य विद्यार्थीसँगै राखेर पठाउन अप्ठेरो परेको छ।’ उनले विद्यालयमा कम जनशक्ति भएकाले नजिक र टाढाका विद्यार्थीलाई छुट्टै कक्षामा राखेर पढाउन नसकिएको जानकारी दिए।

‘कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने विद्यालयमा जम्मा १६ शिक्षक छौं,’ पौडेलले भने, ‘थोरै शिक्षकले धेरै विषय पढाउनुपर्ने समस्या भएकाले हामीले दरबन्दी थप्न शिक्षा मन्त्रालयमा निवेदन पनि पठाएका छौं।’

ललितपुरको विकट क्षेत्रमा पर्ने श्रीनारायण उमाविमा कक्षा १ देखि १२ सम्म पढ्ने पाँच सयभन्दा बढी विद्यार्थी छन्। विद्यालयका शिक्षक अमिरकुमार थापाका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीलाई सरकारले पनि चासो नदिएकै कारण टाढाटाढाबाट पढ्न आउने विद्यार्थीलाई बेग्लै कक्षाको व्यवस्था गर्न नसकिएको बताए।

‘शैक्षिक क्रियाकलापअनुसारको पाठ्य सामग्री पनि अभाव छ,’ उनले भने, ‘विज्ञान प्रयोगशाला र कम्प्युटर नभएकाले विद्यार्थीलाई बुझाउन कठिन भएको छ।’

कक्षा १२ सम्म  पढाइ हुने यस विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नभएकाले प्रावि तहमा पढाउने शिक्षकले कक्षा १२ सम्म नै पढाउने गरेका छन्।

ढिला आउने र चाँडै फर्कने विद्यार्थीका लागि स्कुलले खाजाको व्यवस्था गर्नुपर्ने अभिभावक  श्याम सिंगारले बताए।

‘बिहान उठ्नासाथ हिँड्न हतार हुन्छ, कहिलेकाहीं त भोकभोकै स्कुल दाौडिन्छन्,’ उनले भने, ‘टाढा घर भएका विद्यार्थीलाई स्कुलले गाडी र खाजा कार्यक्रमको व्यवस्था गर्ने हो भने विद्यार्थीको पढाइ बिग्रिँदैनथ्यो।’

विद्यालयका प्राधानाध्यापक पौडेलले भने स्कुलसँग गाडी किन्ने र खाजा खुवाउन आवश्यक बजेट नभएको बताए । ‘पहिले त एनजिओ÷आइएनजिओ आएर खाजा कार्यक्रममा सहयोग गर्थे, तर अहिले सहयोग गर्न छाडेका छन्,’ उनले भने, ‘हामीसँग पठनपाठकका लागि चाहिने सामग्रीको पनि अभाव छ ।’

प्रधानाध्यापक पौडेलले जिल्ला शिक्षा कार्यालयले सहरका विद्यालयलाई जति ग्रामीण क्षेत्रका विद्यालयलाई नहेरेको गुनासो गरे ।

यता, जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरी गाउँका विद्यालयलाई त्यस्तो छुट्टै कार्यक्रमको व्यवस्था नभएको बताए । ‘हामीले मन्त्रालयको निर्देशन अनुसारका काम गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘मन्त्रालयले नै दुर्गम क्षेत्रका विद्यालयलाई लक्षित गरेर बेग्लै कार्यक्रम ल्याएको छैन ।’ उनले  जिल्ला शिक्षा कार्यालयको टोली समयसमय ग्रामीण क्षेत्रका विद्यालयको अनुगमन गर्ने गरेको पनि बताए ।’

त्यसो त गत वर्ष गएको भूकम्पमा लडेको विद्यालय भवन अहिलेसम्म पनि बन्न सकेको छैन । विद्यालयले टहरामा पठनपाठन गराउँदै आएको  शिक्षक थापाले बताए ।

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार