विश्वकै ठूलो शंख पार्क निर्माण एक महिनादेखि अलपत्र

प्रकाशित मिति :2017-02-17 15:24:17

फागुन ६, काठमाडौं । ललितपुरको शंखमूलस्थित वाग्मती किनारमा निर्माणाधिन शंकपार्क अलपत्र परेको छ । स्थानीयको विरोधपछि उक्त पार्क निर्माण कार्य एक महिनादेखि रोकिएको हो ।

गैरआवासीय नेपाली (एनआरएन)को सहयोगले दुई करोड रुपैयाँ संकलन गरी पार्क निर्माणको प्रक्रिया अगाडि हुन् । ललितपुरतर्फका स्थानीय संघसंस्था र राजनीतिक दलले पार्कअगाडिबाट बाटो निर्माण गर्नुपर्ने माग अघि सारेपछि एक महिनादेखि पार्क निर्माणको काम अवरुद्ध भएको हो ।

शंखमूलको वाग्मती किनारस्थित ३२ रोपनी क्षेत्रफलमा उक्त पार्क निर्माणको काम आधाआधी सम्पन्न भइसकेको छ । नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र एनआरएनका अध्यक्ष शेष घलेले संयुक्त रूपमा २०७१ साल असोजमा पार्कको शिलान्यास गरेका थिए ।

पार्क निर्माण गर्दा स्थानीय समुदायसँग कुनै छलफल नगरी निर्माण प्रक्रिया अगाडि बढाएको भन्दै शंखमूलका स्थानीयहरूले विरोध जनाएका हुन् । पार्कअगाडिबाट पक्की बाटो निर्माण गर्नुपर्ने स्थानीयको माग छ । स्थानीयको विरोधपछि शंखमूल निर्माणको ठेक्का लिएका स्पेस क्राफ्ट कन्स्ट्रक्सन प्रालिले एक महिनादेखि निर्माण प्रक्रिया रोकेको छ ।

shankhamul-park

पार्क निर्माण शुरु गर्दा स्थानीयको कुनै विरोध नभएको र त्यहीअनुसार नै मास्टरप्लान अनुसार निर्माण प्रक्रिया अगाडि बढाएको थियो । स्पेस क्राफ्ट निर्माण कम्पनीले निर्माणको बीचमा स्थानीयले विरोध जनाएपछि पार्क निर्माण गर्न गत महिनाबाट रोकिएको छ ।

एनआरएनले वाग्मती सेवा समिति र एकीकृत वाग्मती विकास समितिको सहकार्यमा उक्त पार्क निर्माण थालेको थियो । शंखपार्क निर्माण गर्नका लागि एनआरएनले आफ्ना सदस्यलगायत विभिन्न पक्षसँग गरी रकम संकलन गरेको हो ।

पार्कमा पाँचवटा घाट, पोखरी र चौबीसै घण्टा पानी बग्ने ठूलो शंख र रुद्रधाराको निर्माण योजना रहेको स्पेस क्राफ्ट निर्माण कम्पनीले बताएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष स्थानीय श्याम व्यञ्जनकारले पार्क निर्माणबारे स्थानीयसँग कुनै छलफल नगरिएको गुनासो गरे । स्थानीयलाई अत्यावश्यक पर्ने बाटो बनाइदिएमा निर्माण प्रक्रिया अगाडि बढाउन अवरोध नहुने उनको भनाइ छ । ।

ललितपुर युएनपार्कदेखि च्यासलस्थित फुटबल मैदान अगाडिसम्मको बाटो निर्माण नभई पार्क निर्माण सम्भव नहुने उनले बताए । सन् २०१७ को अप्रिलसम्ममा पार्क निर्माण सम्पन्न गर्ने योजना एनआरएनको थियो । निर्माण शुरु गर्नेबेला पार्क अगाडिबाट बाटो जाने कुनै योजना नबनेकोले सोही अनुसार पार्क बनाइएको निर्माण कम्पनीका त्रिपाठीले बताए ।

पुरातात्विवक महत्वको क्षेत्र अगाडि बाटो निर्माण गर्दा यसले त्यहाँको संंरचना अशोभनीय हुने कारणले पनि बाटो निर्माणको योजना नराखिएको निर्माण कम्पनीले जनाएको छ ।

Notes Nepal

ताजा समाचार