बैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिने म्याद थप

प्रकाशित मिति :2017-02-17 21:18:31

फागुन ६,धनगढि । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले घोषणा गरेको बैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन दिने म्याद थपिएको छ । यस वर्षको बैदेशिक रोजगार छात्रवृत्तिका लागि छात्रवृत्ति पाउन योग्य विद्यार्थीहरुले यही फागुन मसान्तसम्म आवेदन दिन पाउने छन् । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले २०७३ फागुन ३ गते पुनः सूचना प्रकाशित गरी सो म्याद तोकेको हो । यसअघि, बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले पुस २५ र शिक्षा विभागले २०७३ माघ १ गते गोरखा पत्र दैनिकमा सूचना प्रकाशित गरेको जिल्ला शिक्षा कार्यालयले नै थाहा नपाउँदै सकिएको थियो ।

सरकारले बैदेशिक रोजगार छात्रवृत्ति योजना जिल्ला शिक्षा कार्यालय मार्फत् सम्बन्धित विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाएको छ । बैदेशिक रोजगार छात्रवृत्ति पाउने विद्यार्थीको विवरण पेश गर्न जिल्लाका सबै विद्यालयलाई जानकारी दिने जिम्मेवारी जिल्ला शिक्षा कार्यालयको हो । बैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ (संसोधन सहित) ले बैदेशिक रोजगारमा रहेका कामदारको करार अवधिभित्र मृत्यु वा सो अवधिका दुर्घटनामा वा विरामी परी पूर्ण घाइते तथा अशक्त भएका कामदारका सम्पूर्ण विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था गरेको छ ।

कार्यविधि अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले कक्षा ८ सम्म वार्षिक आठ हजार र कक्षा ९ देखि १२ सम्म १२ हजार रुपैयाँ छात्रवृत्ति पाउने छन् । छात्रवृत्तिका लागि विद्यार्थीले कार्यविधिको अनुसूचि १ अनुसारको ढाँचामा विद्यालयमा बैदेशिक रोजगार सम्बन्धि सबै कागजात र करार अवधिमा मृत्यु तथा पूर्ण घाइते वा अशक्त भएको प्रमाण सहित निवेदन दिने र विद्यालयले अनुसूचि २ अनुसारको ढाँचामा जिल्ला शिक्षा कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको छ ।

साथै जिल्ला शिक्षा कार्यालयले अनुसूचि ३ अनुसारको ढाँचामा संलग्न कागजात सहित सिफारिस शिक्षा विभागमा पठाउने व्यवस्था छ । सोही प्रक्रिया हुँदै छात्रवृत्ति रकम विद्यालयबाट सम्बन्धित विद्यार्थीले पाउने व्यवस्था कार्यविधिले गरेको छ । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्दका अनुसार कैलाली जिल्लाका नौं जना आप्रवासी कामदारको विगत दुई वर्षमा मृत्यु भएको छ । पूर्ण अशक्त तथा घाइतेको तथ्यांक केन्द्रमा नरहेको परामर्शकर्ता लक्ष्मी चौधरीले बताइन् । उनले गतवर्ष पनि केही विद्यार्थीले विद्यालयमा सो छात्रवृत्तिको लागि आवेदन दिएपनि नपाएको बताइन् ।

Notes Nepal

ताजा समाचार