डडेल्धुरामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, ओलम्पिक खेलाडि भट्टराई सम्मानित

प्रकाश पार्की।
डडेल्धुरामा यस बर्षको राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ ।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो ।

DSC_0269

शुक्रबार बिहान जिल्ला सदरमुकाम नजिकै रहेको टुडिखेल खेल मैदानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का निर्वतमान सदस्य सचिव तथा वर्तमान सदस्य शकुन्तला नगरकोटीले पानसमा वत्ती बालेर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी रहेकी नगरकोटीले खेल गौरब र चिनारी भएकोले यसको विकासमा सबैले लाग्नु पर्ने बताउनु भयो । उहाँले डडेल्धुराबाट ओलम्पीक खेल्न योग्य खेलाडीहरु उत्पादन गरेका भन्दै अझै जिल्लाको खेल विकासका लागि आफु प्रतिबद्ध रहेको समेत धारण राख्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । जिल्ला खेलकुद विकास समिति डडेल्धुराका अध्यक्ष राजेन्द्र बहादुर मगरको सभापत्विमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह रहेको थिए । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी लगायत खेल प्रमीहरुको उल्लेखिनिय सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा केही महिना अघि बिराटनगरमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधीत्व गरि पदक जित्ने तीन जना खेलाडीहरुलाई नगद सहित प्रमाणपत्रका साथै दोसल्ला ओडाई सम्मान गरिएको छ । सम्मानित हुनेमा कुँस्तिका राजु दुवे, तेक्वान्दाकी हेमा सिंजाली र सेपाकताक्रोको दिपेश किशोर आले रहेका छन् ।

साथै उक्त कार्यक्रममा डडेल्धुराको पोखरामा जन्मेकी ब्राजिलमा भएको रियो ओलम्पीकमा नेपालको प्रतिनिधीत्व जनाएकी सरस्वती भट्टराईलाई पनि जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको छ ।

यसैबीच शुक्रबारबाट सुरु भएको नवौँ राष्ट्रपति रनिङ्ग शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगितामा शुक्रबार पहिलो दिन केही खेलहरु सम्पन्न भएका छन् ।

पहिलो दिन सम्पन्न बिभिन्न खेलहरुबाट बैजनाथ मावि मौरडा र उग्रतारा मावि पोखराले समान १२–१२ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेका छन् । यस्तै शिद्धनाथ मावि जोगबुढाको ११ अंक रहेको छ भने घटाल मावि नुवाकोटको अंक नौँ रहेको छ ।

सटफुटको फाईनल खेलहरु पनि सकिएका छन् । सटफुटमा सिद्धनाथ मावि जोगबुडाका कृष्ण बोहरा पहिलो, शैलेश्वरी मावि तुलाभाडीका जनक खाती दोस्रो र सरस्वती मावि बगरकोटका रोशन नाथ तेस्रोे भएका छन् ।

यस्तै आठ सय मिटर दौडमा भवनेश्वरी मावि बडबसन्तपुरका यज्ञराज भट्ट पहिलो, घटाल मावि नुवाकोटका आशिष रावल दोस्रो र उग्रतारा मावि पोखराका नरेश बुढाऐर तेस्रो भएका छन् ।

यस्तै ज्याभलिङ्ग थ्रोमा बीरबलभद्र मावि कोटेलका राजेन्द्र ऐर पहिलो, बैजनाथ मावि मौरडाका देव खड्का दोस्रो, घटाल मावि नुवाकोटका मनिश भण्डारी तेस्रो भएका छन् ।

उक्त प्रतियोगितामा ३२ बिद्यालयका खेलाडिहरुको सहभागिता रहेको छ । जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डम्बर भण्डारीका अनुसार गत वर्ष २६ बिद्यालयले मात्रै सहभागिता जनाएका थिए ।

रनिङ्ग शिल्ड तथा बिद्यालय खेलकुद प्रतियोगिता अन्तरगत समावेश गरिएका सबै खेलहरुमा छात्र र छात्रा दुबै तर्फ प्रतिस्पर्धा भईरहेको छ ।

फागुन ८ गते सम्म सञ्चालनमा रहने प्रतियोगिता टुँडिखेल मैदानमा सञ्चालन भईरहेको छ ।

 

Notes Nepal
loading...

Loading...

Loading...

ताजा समाचार