वायु प्रदुषण बढ्नुमा हाम्रो दोष छैन्ः केयूकेएल

प्रकाशित मिति :2017-02-17 21:50:16

काठमाडौंः काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल) अन्र्तगतको आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्नुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।

मेलम्चीको पानी वितरणका लागि पाइपलाइन विस्तार गर्न सडक खन्दा निस्किएको धुलोले उपत्यकावासीले निकै सास्ती व्यहोर्दै आएकामा आयोजनाले शुक्रबार पत्रकार सम्मेलन गरी वायु प्रदूषणमा आफ्नो दोष नरहेको दाबी गरेको हो ।

आयोजनाका निर्देशक तिरेशप्रसाद खत्रीले वातावरणमा असर नपरोस् भनेर आयोजनाले निकै सजगतापूर्वक काम गरिरहेको बताए । उनले पाइपलाइन विस्तारका कारण वातावरणमा १५ प्रतिशतभन्दा बढी असर नपरेको दाबी गर्दै यसबारे एक साताभित्र विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

पाइपलाइन विछ्याउनका लागि आयोजनाले दैनिक एक हजार दुई सय कामदार परिचालन गरेर विभिन्न ४० स्थानमा काम गरिरहेको छ । मेलम्चीको खानेपानी वितरणका लागि आयोजनाले काठमाडौं उपत्यकामा सडक खनेर ५ सय ३३ किलोमिटर पाइपलाईन विछ्याइसकेको छ ।

पाइपलाइन विछ्याउन सडक खनिंदा त्यसबाट निस्किएको धुलोका कारण उपत्यकावासीले निकै असहज महसुस गर्दै आएका छन् । आयोजना प्रमुख खत्रीले भने धुलो नउडोस भनेर आयोजनाले सडक खनिएका स्थानमा विहान र बेलुका दुई पटक पानी छर्कने तथा निर्माण कार्य सकिएका स्थानमा तत्कालै सडक पुर्नस्थापना र कालोपत्रे गर्ने गरिएको बताए ।

Notes Nepal

ताजा समाचार