मोबाइल अफ गरेर बेपत्ता भएका डिआइजी सिलवाल अझै भेटिएनन्

प्रकाशित मिति :2017-05-01 06:22:19
Loading...

काठमाडौं, वैशाख १८ – आइतबारदेखि वेपत्ता भएका प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल अहिलेसम्म सम्र्पकमा आएका छैनन् । एक हप्ताअघिदेखि बी एण्ड बी अस्पतालमा उपचाररत डिआइजी सिलवाल एकाएक अस्पतालबाट गायव भएका हुन् ।

Loading...

आइतबार बेलुका ६ बजे अस्पतालबाट शौचालय जान्छु भन्दै वेपत्ता भएका सिलवालको खोजीमा प्रहरी लागे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । अस्पतालबाट डिआइजी सिलावल गायव भएको खबर आएसँगै प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरलाई खोज्न आदेश दिएको थियो ।

प्रधान कार्यालयको आदेश सँगै ललितपुर परिसरले डिआइजी सिलवाललाई खोज्न महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी रामेश्वर यादवलाई आदेश दिएको जनाएको छ । परिसरको आदेशसँगै आइतबार रातिदेखि नै डिएसपी यादवको टोलीले सिलवाललाई खोजी गरेको जनाएको छ । सिलवाललाई अहिले पनि खोजी गरे पनि उहाँ नभेटिएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

‘हामीले बालकुमारी स्थित उहाँको घरमा गएर पनि खोज्यौँ तर उहाँ घरमा हुनुहुन्न’ डिएसपी यादवले उज्यालो अनलाइनलाई भन्नुभयो, ‘अन्त कतै आफन्तकोमा हुन सक्छन् ।’

डिआइजी सिलवाल अस्पतालबाट गायव भएको खबर आएसँगै उहाँका परिवार अस्पताल आएर डिस्चार्ज रिपोर्ट लिएर गएको र उपचारमा लागेको खर्च समेत तिरेको अस्पताल प्रशासनले जनाएको छ । डिआइजी सिलवाल बी एण्ड बी अस्पतालको भिआइपी कक्षमा उपचाररत थिए ।
सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएसँगै उनी गायव भएका हुन् । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते भएको प्रमाणित भएको थियो ।

अपराध अनुसन्धान विभाग अन्तर्गत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको अध्ययन गर्दा कीर्ते भएको प्रमाणित भएको हो । डिआइजी सिलवालले आफूले प्राप्त गरेको अंक भन्दा बढी देखाउन अरुको अंक सारेर फाइल बनाएको प्रमाणित भएको हो ।

प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन अभिलेख र सर्वोच्च अदालतमा पेस भएको फाइलमा दुई अंकको फरक पाइएको थियो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पेश गरिएको भन्दा सर्वोच्चमा पेश गरिएको कार्यसम्पादन मूल्याकंन फाइलमा दुई अंकको फरक पाइएको होे । सर्वोच्चमा पेश गरिएको फाइलमा दुई अंक बढी देखिएको थियो ।

अभिलेख रहने तीन निकायमध्ये लोकसेवा आयोगको मूल्याकंन फाइल भने भोलि मंगलबारको पेशीमा खोलिने तय भएको थियो । सिलवालको कागजात फर्जी रहेको दाबीसहित मन्त्रिपरिषद् कार्यालयले छानबिनका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रहरी प्रधान कार्यालयले डीआईजी विजयकुमार भट्ट, एसएसपी पवन खरेल, एसपी राजुबाबु श्रेष्ठ, डीएसपी मोहन थापा र इन्सपेक्टर मदन कुँवर सम्मिलित छानबीन समिति गठन गरेको थियो । समितिले बयानका लागि बोलाउँदा सिलवाल उपस्थित नभएको भन्दै पक्राउ समेत गरेकोे थियो ।

डीआइजी जयबहादुर चन्द प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि डीआइजी नवराज सिलवालले आफूलाई अन्याय परेको भन्दै अदालतमा ज्येष्ठता तथा कार्य
सम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए । सिलवालले अदालतमा बुझाएको उक्त फाइल कीर्ते भएको प्रहरी विधि विज्ञान प्रयोगशालाको अध्ययनबाट भेटिएको हो । आफूले बुझाएको फाइल किर्ते ठहरिएपछि सजाय हुने डरले सिलवाल गायव भएको जानकारहरु बताउँछन् ।
सिलवालको तीन घण्टा अघिको ट्वीट यस्तो छ

अस्पतालवाट घर फर्किएर स्वास्थ्य लाभ गरिरहेको छु।
शुभेक्षाका लागि सवैलाई धन्यवाद !
न्याय, लोकतन्त्र र समानताको मिसनमा मेरे समर्पण रहिरहनेछ।

डिआइजी सिलवाल गायव भएको भनिए पनि उहाँ सामाजिक सञ्जालमा देखिने गर्नुभएको छ । मोबाइल अफ गरेर सम्पर्क बिहीन भएका सिलवालले तीन घण्टा अघि दुई वटा ट्वीट लेख्नुभएको छ ।
ट्वीटमा उहाँले आफू अस्पतालबाट डिस्चार्ज भएको र घरमा आराम गरिरहेको बताउनुभएको छ । तर सिलवालको घरमा बुझ्न गएको प्रहरी टोलीले सिलवाललाई घरमा फेला पारेका छैन ।

-उज्यालो अनलाइन बाट 

Loading...
Loading...