किन पटक–पटक डोटी नै पुग्छ भारतीय प्रहरी ?

Loading...

-वीरेन्द्र रावल 

कञ्चनपुर जिल्लाको पुर्नवासस्थित आनन्दबजारमा सहिद गोविन्द गौतमको हत्याकाण्ड सेलाउन नपाउँदै भारतीय दमनको अर्को पराकाष्टा डोटीमा देखा परेको छ ।

नेपाल र नेपालीमाथिको नांगो हस्तक्षेपका रुपमा पटक–पटक भारतले टेलरहरू दिने गरेको छ । सानो भएपनि नेपाल देशको आफ्नै राष्ट्रियता र सार्वभौमिक अधिकार छ भन्ने कुराको ज्ञान भारत र भारतीय शासकलाई नभएको होइन । तर, नेपालमाथि दमन गर्नु र नेपाली जनतालाई जहिले पनि आतंकित पारिराख्नु उसको नियति नै बनिसकेको छ ।

नेपाल–भारत सीमानादेखि १ सय ९२ किलोमिटर दिपायलसम्मको यात्रा तय गरिसकेपछि त्यहाँबाट पनि २ घण्टाको यात्रामा पर्ने स्थानसम्म पुगेर अर्काको भूमिमा बर्दीधारी भारतीय प्रहरीले गरेको अत्याचारको सीमा नै छैन । नेपाल र नेपालीमाथि भारतीय शासक वर्गले विगतदेखि नै विभिन्न बहानामा दादागिरी प्रदर्शन गर्ने कार्यहरू भइरहेका छन् । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न देश हो भनेर भारत र भारतीय शासक वर्गलाई राम्ररी नै थाहा भएको कुरा हो । यसका बाबजुत पनि नेपालीमाथि भारतीयले गर्दै आइरहेका व्यवहारहरू मानवीय होइनन्, दानवीय खालका छन् ।

एउटा देशको नागरिकले अर्को कुनै देशमा चोरी, हत्या वा अन्य कुनै प्रकारका आपराधिक क्रियाकलाप गरेको खण्डमा त्यो देशको सरकारले परराष्ट्र मन्त्रालयमार्फत् समस्याको जानकारी दिएर समाधानका उपायहरू खोज्नुपर्छ । २ पक्षीय सहमतिका आधारमा दुबै देशका सुरक्षा प्रतिनिधिको रोहवरमा निकास खोज्ने प्रावधानलाई भारतीय प्रहरीले लत्याउँदै भारतीय साम्राज्यवाद र विस्तारवादको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । नेपालमा भारतीय शासक वर्गले गर्दै आइरहेका विभिन्न खालका दमन, अन्याय, अत्याचारका उदाहरणमध्येको लडागडा काण्ड पछिल्लो एवम् आपत्तिजनक घटना बनेर आएको छ । यस घटनालाई भारतीयले डोटी जिल्लामा गरेको अर्को ताण्डव नृत्यका रुपमा हेर्न र बुझ्न सकिन्छ ।

घटना अनुसार भारतमा चोरी गरेको आरोपमा २०७४ जेठ १७ गते राति भारतीय प्रहरीका डीएसपी नागराजको नेतृत्वमा आएको प्रहरी टोलीले डोटीको दिपायलसिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई अपहरण शैलीमा नियन्त्रणमा लिई गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा जनताले जानकारी गरेपछि डोटी प्रहरीले पक्राउ गरेको थियो । आउजीको मुख बाँधेर घरबाट कुटपिट गर्दै दानवीय तरिकाले भारत लैजाने खालका दुष्साहस भारतीय प्रहरीले गरेको छ । यो अमानवीय कार्य त हो नै, यसका बाबजुद पनि भारतले बर्दीमै नेपालको एक कुनामा पुगेर नेपालको सार्वभौमिकतामाथि प्रहार गर्ने कार्यले नेपाली राष्ट्रियतामाथि प्रहार गरेको प्रमाणित भएको छ ।

नेपालमा बर्दीसहित प्रवेश गर्दा अर्को देशको सम्प्रभूता र उसको सार्वभौम अधिकारमाथि हस्तक्षेप गरेको हुने कुराको पूर्ण जानकारी भारतीय प्रहरीलाई अवश्य पनि हुँदो हो । यी कुराको जानकारी बिना नै नेपालमा ८ देखि ९ घण्टा यातायातको यात्रा तय गरेर नेपालीलाई डाँका शैलीमा अपहरण गर्ने कार्यलाई भारतीयको दादागिरीको पछिल्लो कदम हो भनेर सहजै बुझ्न सकिन्छ । २ देशबीचका सुपुर्दगी सन्धी होस् या अन्य कानूनी प्रावधानलाई समेत आत्मसाथ नगरिकनै नेपाल प्रहरीलाई कुनै जानकारी नै नदिई नेपाल भूमि र नेपाली नागरिकमाथि फौजी हस्तक्षेप गर्ने भारतीय साम्राज्यवादको आततायी कदमले आमनेपाली जनताको सार्वभौम अधिकारमाथि नै अब प्रश्न चिन्ह खडा गरिदिएको छ ।

भारतीय पक्षको यो हर्कत कुनै नयाँ घटना नभई विगतदेखिकै निरन्तरता भएकाले यसलाई सदाको लागि रोक्न पहल गर्नुपर्छ । यो घटना नेपाली सार्वभौमसत्तालाई सम्मान होइन, अपमान गर्ने कार्य हो भनेर सहजै अनुमान गर्न सकिन्छ । नेपाली जनताको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने कार्यले अब कुनै पनि नेपाली नागरिक सुरक्षित छन् भनेर भन्न सकिने अवस्था छैन । नेपाली जनतामाथि भारतीय बर्दीधारी प्रहरीले स्वेत आतंक मच्चाउने कार्यलाई सशस्त्र प्रहरी बलले अनदेखी गर्नु पनि यसको अर्को कारक हुन सक्छ । भारतीय प्रहरीको टोली बर्दीसहित नेपाल छिरेको घटना अवश्य पनि नेपाल प्रहरीलाई जानकारी हुँदो हो ।

भारतीय प्रहरीको जत्था नेपालमा आएको कुरा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई जानकारी हुनुपर्ने हो । नेपाल प्रवेश गरेको भारतीय टोली समयमै किन भारत फर्किएन र कुन ठाउँमा जाँदैछ रु केका लागि नेपाल पुगेको हो रु भन्ने कुराको जानकारी पनि अवश्य हुनुपर्छ । यस्तो अवस्थामा हरेक प्रहरी पोस्टमा जानकारी पनि अवश्य भएको हुनुपर्छ । तर, नेपाल प्रहरीले यस कुरालाई नदेखेझैं गरेको हो भने पनि यसको उचित छानविन हुन जरुरी देखिन्छ । नेपालको सार्वभौम अधिकारलाई चुनौती दिँदै गरिएको यस प्रकारको ज्यादतिलाई राष्ट्रवादी नेपालीले सामान्य रुपले हेर्नु पनि हुँदैन । नेपालको सार्वभौम अधिकारमाथि भारतीय पक्षबाट भएको दमन र अत्याचारपूर्ण कार्यलाई नेपालको राष्ट्रियतासँग जोड्न सकिएन भने यसले अवश्य पनि नेपाल र नेपालीलाई फाइदा गर्न सक्दैन । यस घटनाले भारतीय दादागिरीको पुनरावृत्तिदेखि लिएर निरन्तरता दिने खतरा समेत देखिएको छ ।

देश स्थानीय तह निर्वाचनको दिशाबाट अगाडि बढिरहेको छ । नेपालमा आचारसहिंता समेत लागू भएको अवस्था विद्यमान छ । तर, यसैबीचमा भारतीय बर्दीधारी प्रहरी नेपाल प्रवेश गर्नुले नेपालको सुरक्षाको अवस्थामा नै चुनौति थपिदिएको छ । नेपालको सुरक्षा संयन्त्र कति कमजोर छ र नेपाल सरकार कतिसम्म निरीह छ भनेर पनि यस घटनाबाट सहजै अनुमान लगाउन सकिन्छ । देश चलाउने शासकले नेपाली नागरिकको अधिकार होस् या देशभित्र हुने गरेका यस प्रकारका घटनाबाट पाठ सिकेर सुरक्षा प्रबन्ध गर्नुपर्ने अवस्थामा नेपाल सरकारले यस घटनाका बारेमा चुइक्क समेत नबोल्नुले पनि यस घटनालाई थप रहस्यका रुपमा लिन सकिन्छ ।
भारतमा नेपाली नागरिकले चोरी, लुटपाट वा कुनै प्रकारका अपराध गरेको खण्डमा २ देशीय सहमतिका आधारमा न्यूनतम मूल्य र मान्यतालाई अवलम्वन गर्दै अगाडि बढ्नुपर्ने बेलामा उल्टै नेपालमा आपराधिक क्रियाकलाप गरिन्छ भने यस घटनामा संलग्नलाई कारवाही गराउने दिशामा नेपाल सरकारले भारतीय पक्षसँग कुटनीतिक पहल चाल्नु जरुरी देखिन्छ । यदि यस घटनाका दोषीमाथि नेपाल सरकारले कारवाही गराउने पक्षमा कदम चाल्ने होइन भने फेरि–फेरि यस्ता घटना नदोहोरिएलान् भन्न सकिँदैन ।

Loading...



Loading…