साफे–मार्तडी सडकखण्ड अवरुद्ध, जमिन धासिँदा १५ पसल खाली

Loading...

महेन्द्रनगर । अविरल वर्षाका कारण साफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ ।
सडकको विभिन्न स्थानमा खसेको पहिरोका कारण आईतबार रातिदेखि सडकको बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी उपरीक्षक दलबहादुर बोगटीले बताए । उनका अनुसार बजुराको बुढीगंगा, त्रिवेणी र बडीमालिका नगरपालिकाका दर्जनौं स्थानमा पहिरो खसेको छ । पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो हटाउन २/३ दिन लाग्ने उनले बताए ।

‘१ हप्तादेखि पानी पर्नाले विभिन्न ठाउँमा पहिरो खसेको छ, पहिरो हटाउन २/३ दिन लाग्छ,’ उनले भने । आईतबार रातिदेखि सडक अवरुद्ध हुँदा मार्तडी आउने सवारीसाधन बुढीगंगा नगरपालिकाको अम्कोट र मार्तडीबाट साफेबगर जाने सवारीसाधन बुढाबगरमा रोकिएको उनले बताए ।

जमिन धासिँदा १५ पसल खाली
साफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बाजुराको बुढीगंगा नगरपालिका–६ बम्का बजारमा रहेका १५ पसल खाली गरिएको छ ।
बम्का बजारमा सडकको छेउमा सञ्चालित पसल आईतबार राति परेको अविरल वर्षाका कारण जमिन धासिएर पसल बाङ्गो भएपछि पसल खाली गरिएको डीएसपी दलबहादुर बोगटीले बताए । वर्षाका कारण पसल बाङ्गो भएपछि पसल खाली गरेर सामान सुरक्षित स्थानमा राखिएको उनले बताए ।

गोठ भत्किँदा २ बाख्रा मरे
आईतबार परेको अविरल वर्षाका कारण गोठ भत्किँदा २ बाख्रा मरेका छन् । बाजुराको गौमुल गाउँपालिका–३ का जगत विकको गोठ भत्किँदा २ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी बोगटीले बताए ।

Loading...



Loading…