बुद्धले पहिलोपटक ज्ञान बाँडेको सम्झनामा कार्यक्रम

Loading...

कृष्णराज गौतम : काठमाडौँ । चारुमति बुद्ध विहारले शाक्यमुनि बुद्धले समाजमा पहिलोपटक (धर्मचक्र सूत्र देशना) ज्ञान बाँडेको स्मरणमा बुद्धपूजा आज सम्पन्न गरेको छ ।

प्रत्येक वर्ष गुरुपूर्णिमाका अवसरमा सो विहारमा बौद्ध साहित्य, दर्शन तथा उपदेशका बारेमा धार्मिक गतिविधि सञ्चालन हुने गर्दछ ।

बुद्धको जीवन र जगत्सँग जोडिएका विभिन्न उपदेशकाबारेमा प्रवचन गरिएको उक्त कार्यक्रममा थेरवादी बौद्ध भिक्षुले गुरुपूर्णिमाका दिनदेखि तीन महिनासम्म गर्नुपर्ने वर्षावास तथा त्यसको महत्वबारे समेत सहभागीलाई जानकारी गराइएको थियो ।

शान्तिपूर्ण तथा सहअस्तित्वको समाज निर्माणका लागि बुद्धका शिक्षा तथा उपदेशलाई फैलाउन समय समयमा सर्वसाधारणलाई केन्द्रित गरी धार्मिक, नैतिक, सामाजिक शिक्षा उक्त स्थानमा दिइने भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो ।

करिब दुई हजार ३०० वर्ष पुरानो मानिने चाबहिलको बौद्ध चैत्य अगाडि आइतबार सुरु गरिएको कार्यक्रममा बौद्ध साहित्यका उपदेशमा प्रवचनका साथ विभिन्न धार्मिक गतिविधि गरी आज सम्पन्न गरिएको हो । कार्यक्रममा सम्बन्धित धर्मावलम्बीका साथै स्थानीयवासीको सहभागिता थियो ।

बुद्धले वैशाख पूर्णिमाका दिन बोधगयामा (बोधिसत्व) ज्ञान प्राप्त गरेपछि गुरुपूर्णिमाका दिन पाँचजना भिक्षुलाई सारनाथमा बौद्ध दर्शन तथा उपदेश दिनुभएको थियो । बौद्ध धर्मावलम्बीले सोही घटनाको स्मरणमा विभिन्न बौद्ध विहारमा धार्मिक कार्यक्रम गर्ने गर्दछन् ।

अन्तर्राष्ट्रिय युवा भिक्षु महासङ्घको उपाध्यक्षसमेत रहनुभएका धम्मले सहभागीलाई प्रवचन दिँदै विभिन्न बौद्ध साहित्यमा ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, मोह तथा लालच नै दुःखको मुख्य कारण हुन्’ भनी समाजमा शिक्षा र उपदेश फैलाइएको प्रष्ट पार्नुभयो ।

तत्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोदन तथा मायादेवीको कोखबाट इशापूर्व ६२३ मा लुम्बिनीमा जन्मनुभएका सिद्धार्थ गौतमले बोधिसत्व प्राप्त गरेपछि आफूले जानेका दार्शनिक मत, ज्ञान, सीप तथा शान्तिका उपदेश समाजमा फैलाउनका लागि एउटा समूहलाई ज्ञान दिनुभयो । बुद्धको जन्मकाबारेमा एकमत पाइँदैन ।

उक्त समूहमा महानाम, वप्प, भद्दीय, अस्सजित र कौडण्य थिए । बुद्धले ध्यानदृष्टिले अनुभूत गरी आफूले प्राप्त गरेको ज्ञानलाई बु्झ्न सक्ने समूहका रुपमा उनीहरुलाई ठहराएपछि ज्ञान दिनुभएको विभिन्न बौद्ध साहित्यमा वर्णन पाइन्छ । ब्राह्मण कुलका सो समूहलाई पञ्चवर्गीय भिक्षुसमेत भनिन्छ, उनीहरुले नै कालान्तरमा बौद्ध दर्शन तथा साहित्यको प्रचार गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यका अनुसार तत्कालीन समाजमा व्याप्त झैझगडा, त्यस समय प्रचलनमा रहेका विभिन्न आस्तिक धर्मभित्र पाइएका अतिवादी चिन्तन तथा परिवर्तनका नियमप्रतिका जिज्ञासा र कौतुहलताका कारण सिद्धार्थलाई ज्ञान खोज्ने अभिलाषा बढाएको थियो । सोही कारण नै बुद्धलाई बोधिसत्व प्राप्त गर्ने मार्ग बन्यो ।

सिद्धार्थले आफ्नो जीवनको २९ वर्षसम्म समाजका यथार्थलाई देखेको भोगेको भएपनि वृद्ध, रोगी र मृत शरीरको दृष्यले अनेक कौतुहलता जगाएपछि राजपरिवारको सुख सयल, पारिवारिक मोहभन्दा माथि उठेर मध्येरातमा गृहत्याग गरेको र छ वर्षपछि बोधिसत्व प्राप्त गरेको घटना समग्र मानव इतिहासमा उपलब्धि मानिएको विचार बौद्ध विद्वान् टीका शेर्पाले व्यक्त गर्नुभयो ।

बुद्धको मृत्यु (महापरिनिर्वाण) भएपछि ८२ हजार लिखित तथा अलिखित दुई हजार गरी ८४ हजार उपदेशलाई सङ्ग्रह गरिएको थियो । समयको परिवर्तनसँगै बौद्ध दर्शनमा आएका नयाँ चिन्तनले बौद्ध धर्मावलम्बीमा विभाजन आई थेरवाद र महायान सम्प्रदायको विकास भएको पाइन्छ । रासस

Loading...



Loading…