को हो हिन्दु, को होइन ?

Loading...

एक नेपाली पुरुषले अमेरिकामा श्वेत स्त्रीसँग विवाह गरे । तीनजना छोराछोरी भए । कुनै नेपाली आकारका, नेपाली कदका र नेपाली अनुहारका निस्के । कुनै श्वेत अमेरिकी देखिए । अमेरिकी उचाइ, रंग र चेहरा लिएर जन्मिए । एकजना छोरी अमेरिकीको रुपरंगमै हुर्र्किइन् । ठूली भएपछि आफ्नो बाबुसित नेपाल आइन् ।

एक दिन पशुपतिनाथको दर्शन गर्न गए दुवै । पशुपतिनाथको मुख्य द्वारमा छोरीलाई प्रहरीले रोके र भित्र जान दिएनन् । बाबुले नेपालीमा आफ्नी छोरी भएको र हिन्दु भएको व्याख्या गरे । तर प्रहरी छोड्न मानेनन् । बाबुले आफ्नी छोरीले दसैं, तिहार, तीज सबै उत्सव मनाउने गरेको र पशुपतिनाथको मूर्ति घरैमा राखेर पूजा गर्ने गरेको पनि बताए । तर केटी श्वेत वर्णकी भएकी, नेपालीको कदभन्दा अग्ली भएकी र नेपाली पनि नबोल्ने भएकीले तिनी एक हिन्दु नारी हुन सक्छे भनेर प्रहरीले विश्वास गर्न सकेनन् । आखिरमा बाबु प्रहरीसामु हार खाए र पशुपतिनाथको दर्शन नगरी फर्केर आए । उनले गुनासो गर्दै हिँडे, तर उनको कुरा सुन्ने कोही भएन।

यो कुनै असाधारण घटना होइन । पशुपतिनाथमा प्रायः भइरहने घटना हुन् । किनभने त्यहाँ हिन्दुहरूलाई मात्र प्रवेश भनेर सूचना टाँसिएको छ । प्रहरीलाई लाग्यो, त्यो केटी हिन्दु होइन, त्यसैले प्रवेश गर्न दिएनन् । उनले आफ्नो कर्तव्य निर्वाह गरे । तर घटना साधारण देखिए पनि यसले अनेक प्रश्न खडा गरेको छ । यसको उत्तर खोज्नु जरुरत छ ।

पहिलो प्रश्न हो, एउटा हिन्दु कस्तो देखिनुपर्ने ? यसको एउटा उत्तर हुन सक्छ । या नेपाली जस्तो देखिनुपर्‍यो या भारतीय जस्तो हुनुपर्‍यो । त्यो नेपाली या भारतीय एकदम सेतो देखिनुभएन, अफ्रिकीजस्तो कालो पनि देखिनुभएन र चिनियाँ या जापानी जस्तो अनुहार भएको पनि देखिनुभएन । नेपाली हिन्दु हुनको लागि पाँच साढे पाँच फिटको हुनुपर्‍यो, गहुँगोरो हुनुपर्‍यो, पहाडी अथवा मधेसी देखिनुपर्‍यो । त्यसपछि ऊ सजिलै प्रवेशद्वारबाट छिर्न सक्ने भयो । अथवा भारतीय हुन् भने कालो कालो छाला हुनुपर्‍यो, हिन्दी बोलेको हुनुपर्‍यो अथवा दक्षिणी भारतीय भाषा बोलेको हुनुपर्‍यो ।

उनीहरूले पनि सजिलै प्रवेश पाउने भए । के हिन्दुको पहिचान यस्तै रुपरंगबाट छुट्टिने हो ? दोस्रो सवाल उठ्छ- यस्ता पुरुष तथा नारीहरू जो हिन्दु धर्म मान्दैनन् र जो क्रिस्चियन हुन् या मुस्लिम हुन्, पशुपतिनाथ मन्दिरभित्र सजिलै प्रवेश पाउने भए । यदि गैरहिन्दुहरू मन्दिरभित्र प्रवेश गर्दा बिटुलो पर्ने भए यस्ता गैरहिन्दुहरू जाँदा बिटुलो पर्ने भयो । के यस्तो बिटुलो परेको संकेत कतै पाइन्छ ? पाइने भए त आजसम्म थाहा हुनुपर्दथ्यो । तर पूर्ण स्वतन्त्र रहेको नेपालको सञ्चारमाध्यममा यस्तो बिटुलो परेको घटना पढ्न पाइएको छैन ।

पशुपतिनाथ मन्दिर प्रवेशमै हुने गरेको पक्षपात र अव्यवहारले पनि गैरहिन्दुवादीहरूलाई आफ्नो धर्म प्रसार गर्न के प्रोत्साहन मिलेको छैन त ?
के यसको मतलब नेपाली क्रिस्चियन र मुस्लिमलाई पशुपतिनाथमा खुला प्रवेश पाइन्छ भन्ने होइन ? यदि यो हो भने त्यहाँ टाँसिएको सूचनाको केही मतलब भएन । किनभने नेपाली या भारतीय देखिनेसित तपाईं कुन धर्मको हो भनेर सोध्ने चलन छैन । के यसको माने हिन्दु धर्म मान्नेले प्रवेश पाउने र अरू धर्म मान्नेहरूले नपाउने प्रकाशित नीति गलत निस्कन्न ?

तेस्रो प्रश्न । गैरधर्मावलम्बीहरूलाई पशुपतिनाथमा प्रवेश नदिने कुरा अरू धर्मका मुख्य पवित्र स्थलहरूमा पनि गैरधर्मावलम्बीलाई प्रवेश निषेध गरिएकाले हो भनेर मानिएको छ । हुन त इस्लाम धर्मको केन्द्र मक्कामा पनि यो नियम लागू हुन्छ । तर सो धर्म संसारभर फैलिएकाले त्यहाँ जान कसैको अनुहार, रंग रोगन र भाषाबाट छुट्ट्याउँदैनन् । किनभने कुनै पनि देश, कुनै पनि जाति र कुनै पनि भाषीले सो धर्म पालन गरेको हुन सक्छ । यही नियम भ्याटिकन सिटीमा पनि लागू हुन्छ ।

किनभने संसारमा सबभन्दा ठूलो जमात क्रिस्चियनहरूको नै छ । सात अर्ब विश्व जनसंख्यामा उनीहरूका अनुयायीहरू दुई अर्बभन्दा बढी छन् । दोस्रो ठूलो संख्याका धर्मावलम्बीहरू जो एक अर्बभन्दा बढी छन्, इस्लाम धर्म मान्दछन् । उनीहरूको भेषभूषा, नाम आदिबाट उनीहरूको पहिचान खुल्छ । तर कसैको अनुहार, छालाको रंगरोगनबाट छुट्ट्याउन सकिन्न । त्यसको माने के हिन्दुहरू मात्र अनुहार र रंगरोगनबाट छुट्ट्याइनुपर्ने ? के त्यो मापदण्ड सही हो ? के यसबाट पनि पशुपतिनाथमा प्रवेश आज्ञाको उल्लंघन भएको छैन ?
चौथो प्रश्न ।

केको हिन्दु हो, को होइन भन्ने छुट्ट्याउने अधिकार एउटा प्रहरीलाई दिनु उचित हो ? पशुपतिनाथको सुरक्षा गर्ने कर्तव्य र अधिकार प्रहरीले पाउनु उचित हो । तर धार्मिक आस्था छुट्ट्याउने र आफ्नो स्वविवेक लगाएर निर्णय गर्ने र कारबाही गर्ने अधिकार पनि प्रहरीलाई सुम्पिनु के उचित हो ? अधिकार प्राप्त भएपछि आफ्नो स्वविवेक लगाएर कारबाही गर्ने नै भयो । त्यसमा प्रहरीलाई दोष दिने ठाउँ छैन । उसको ज्ञान र समझले जति बुझ्न सक्छ, उनले त्यहीअनुसार गर्ने भयो । यसबाट के बुझिन्छ भने हिन्दुहरूको पहिचान माथि भनिए झैं अनुहार र छालाको रंगबाटै हुने भयो । त्यसैले होला पश्चिमी मुलुकका कृष्णका अनुयायीहरूले भजन गर्दा, टीका लगाउँदा र टुप्पी राख्दा पनि पशुपतिनाथमा प्रवेश पाउँदैनन् ।

उनीहरूको सेतो छाला नै प्रवेश निषेधको कारण बन्द छ।
पाँचौं प्रश्न । हिन्दु धर्मले अहम् ब्रह्मास्मी भन्ने मन्त्र मान्छ । म नै ब्रह्म हुँ भनेर कसैले आत्मसात गर्न सक्यो भने उनलाई एउटा ज्ञानी हिन्दु मानिन्छ । चाहे त्यो मानिसले हिन्दुका देवदेवीहरू नमानून्, चाहे उनले हिन्दुको कुनै उत्सव नमानून्, चाहे अरू पाठपूजा नगरुन् उनलाई एक सच्चा हिन्दु मानिन्छ । यसको छिनोफानो के पशुपतिनाथको प्रवेशद्वारमा हुने गरेको छ ? त्यसैगरी यसै धर्मले तत्वमसीमा जोड दिएको छ । यसको माने हो त्यो तिमी नै हौ । यहाँ त्यो भनेको आत्मा जसलाई परमात्माको अंश मानिएको छ तिमी नै हौ ।

त्यसको माने हिन्दु धर्मले मानिसलाई एउटा आत्मा मानेको छ र त्यो आत्मा-परमात्माको अंश भएको विश्वास गरिन्छ । आत्मा-परमात्माबाट आएको र उतै फर्कने विश्वास पनि लिइन्छ । के यी आस्था विश्वासको छिनोफनो पनि प्रवेश द्वारमै हुने हो ?
छैटौं प्रश्न । नेपालको संविधानले नेपाल राज्यलाई धर्म निरपेक्ष भनेर घोषणा गरेको छ । यसको माने नेपाल सरकारले कुनै पनि धर्ममा हस्तक्षेप गर्न निषेध गरिएको छ ।

तर पशुपतिनाथको मन्दिरमै राज्यको उपस्थिति रहनु के असंवैधानिक हुँदैन ? त्यसमा पनि हिन्दु को हो र को होइन भनेर निर्णय गर्नु के संविधानको अवहेलना भएन ?
सातौं प्रश्न । धर्म निरपेक्षताको नाउँमा नेपालमा क्रिस्चियन धर्म व्यापकरूपमा फैलियो भनेर धेरै सिकायत सुनिन्छ ।

त्यसको एउटा कारण पशुपतिनाथ मन्दिर प्रवेशमै हुने गरेको पक्षपात र अव्यवहारले पनि गैरहिन्दुवादीहरूलाई आफ्नो धर्म प्रसार गर्न के प्रोत्साहन मिलेको छैन ? हिन्दु हुनको लागि हिन्दु परिवारमै जन्मनुपर्ने तर अरू धर्म ग्रहण गर्न जुन परिवारमा जन्मे हुने भएपछि धर्म प्रसारमा को प्रोत्साहित हुने र को हतोत्साही हुने भन्ने छुट्टिन्छ । ठूलो कुरालाई सानो कुराले पनि असर गरेको देखिन्छ । के मन्दिरमा हुने सानो कुराले हिन्दु धर्मको व्यापकतालाई संकुचित गरेको छैन ?annapurna post

Loading...



Loading…