विचार नै तपाईको जीवनको नियति

प्रकाशित मिति :2017-07-26 15:56:23
Loading...

मनुष्य के हो ? यस प्रश्नका अनेक उत्तरहरू आउन सक्छन् । एउटा उत्तर हुनसक्छ – मानिस वास्तवमा विचारहरूको सङ्ग्रह हो । विचार मानसिक प्रक्रिया हो । जसरी माकुराले आफ्नो शरीरभित्रबाट तन्तुहरू निकालेर जालो बुनिरहन्छ र अन्त्यमा आफूले बुनेको जालोभित्र आफैं जेलिन्छ, त्यसरी नै मानिसले पनि आफूभित्र हरदम अनेकानेक मानसिक विचारहरूको जालो तुनिरहेको हुन्छ र त्यसै जालोभित्र आफैं कैद हुने गर्दछ । मान्छेले सद्विचारको जालो बुन्यो भने ऊ सद्विचारको जालोले आबद्ध हुन्छ तर उसले दुर्भावना र दुर्विचारहरूको जालो बुन्दै गयो भने ऊ स्वतः दुर्विचारहरूको फन्दामा पर्ने गर्दछ ।

Loading...

मानिसले कस्तो विचार ग्रहण गर्ने यस विषयमा मानिस स्वतन्त्र र बन्धनरहित छ । उसले चाहेमा ऊ सद्विचारहरूमा रमण गर्न सक्दछ र नचाहेमा दुर्विचारहरूलाई अँगाल्न सक्दछ । तर एकपटकमात्र मनुष्य दुर्विचारहरूको जालोमा फस्यो भने उसले आफ्नो विचार स्वतन्त्रतालाई क्रमशः गुमाउँदै जान्छ । कुनै व्यक्ति दुर्विचारको भावनामा अभ्यस्त भयो भने ऊ दुर्विचारहरूको प्रवाहमा सहजरूपले बग्न थाल्दछ र त्यसपछि दुर्विचार त्यागेर पुनः सद्विचारहरूमा रमण गर्न उसलाई अति कठिन हुन्छ ।

अभ्यस्त दुर्विचारले जीर्ण रोग जसरी नै मानिसलाई क्रमशः विनाशको बाटोतर्फ धकेल्दै जान्छ । जसरी जीर्ण रोग असाध्य र दु:साध्य हुन्छ, त्यसैगरी अभ्यस्त दुर्विचार पनि असाध्य र दु:साध्य हुन्छ । मानिसको शरीरमा जब रोगले जरो गाड्दै गहिराइसम्म अड्डा जमाउँछ, त्यसले मनुष्यलाई बल–वीर्यहीन बनाउँछ, पाचनक्रिया गड्बड गर्दछ, शरीरमा शुद्ध रगतको निर्माण हुन सक्दैन, हिंड्डुल गर्ने शक्ति क्षीण भएर जान्छ । यस्तो अवस्था देखेपछि हामी उक्त रोग असाध्य भएको ठान्दछौं, धामी, झाँक्री, ज्योतिषी, वैद्य र डाक्टर जहाँ धाए पनि उसले निराश भएर फर्कनु पर्दछ । तर रोग लागे पनि त्यसले मनुष्यको शरीरमा क्षीणता ल्याएन, ऊ बल–वीर्यले हीन भएन भने भन्ने गरिन्छ – रोग दु:साध्य त हो, तर औषधिसेवन गर्नाले र पथ्य ठीक राख्नाले कालान्तरमा रोगी रोगमुक्त हुनसक्दछ ।

दुर्विचारको असाध्य रोगी सद्विचारको नामसमेत सुन्न चाहँदैन । उसका लागि सारा जगत् दुर्विचारहरूको अड्डा हो । सद्विचार मृगमरीचिका तुल्य हुन्छ । उसलाई विश्वास हुँदैन – संसारमा वस्तुत: सद्विचारको समेत अस्तित्व हुन्छ । त्यसैले ऊ निरन्तर दुर्विचारहरूमा नै रमण गरिरहेको हुन्छ, विष्टामा रहेको किरो झैं त्यसैमा उसलाई रस प्राप्त भइरहन्छ । ऊ त्यसबाट बाहिरिन चाहँदैन । यसरी दुर्विचारको असाध्य रोगले रोगीलाई चुर्लुम्म डुबाउने गर्छ ।

दुर्विचारको दु:साध्य रोग पथ्य भोजन गर्नाले, सत्सङ्गबाट तथा सद्ग्रन्थहरूको स्वाध्याय गर्ने र त्यसलाई निरन्तर व्यवहारमा उतार्ने प्रयास गर्नाले सुसाध्य हुनसक्दछ । सत्सङ्गको अर्थ हो – राम्रो सङ्गति, भगवद्भावको अभ्यास र सद्विचारको अनुसरण । असत्सङ्ग अर्थात् नराम्रो सङ्गति, भोगासक्तहरूको सङ्गति र सद्विचारहरूको त्याग । दुर्विचार साङ्क्रामक रोग हो । दुर्विचारमा अभ्यस्त मनुष्य जहाँ जान्छ, आफ्नो दुर्विचारका कीटाणुहरूलाई फैलाइरहेको हुन्छ अर्थात् ऊ निरन्तर समाजमा दुर्विचारको वीजारोपण गर्ने गर्दछ । उसको शरीर दु:सङ्गतिको पुतला जस्तो हुन्छ । एउटा व्यक्तिले सामान्यतया आफुसँग जे छ, समाजले उसबाट त्यही पाउने हो, त्यसैले दुर्विचारले ग्रस्त मानिसले उसँग जे छ त्यही लुटाउँछ र समाजलाई दूषित पार्दछ । अपरिपक्व विचार भएकाहरू उपर दुर्विचारका कीटाणुहरूको असर अतिशीघ्र हुन्छ । परिपक्व विचार भएका मनुष्य उपर दुर्विचारका कीटाणुहरूले असर गर्दैन ।

सद्विचारको जीवन स्वर्गको नन्दनवनसमान सुखद र रमणीय हुन्छ । सद्विचारको अभ्यासी मनुष्य जहाँ जान्छ, समाजमा स्वस्थ जीवनको जीवनी शक्ति लिएर जान्छ र मानिसहरूलाई सद्विचारले प्रवृत्त गर्दछ । बाटो बिराएकाहरूको मार्गप्रदर्शक बन्दछ । सद्विचारद्वारा नै सभ्यता र संस्कृतिको उन्मेष हुन्छ । जुन समाजमा सद्विचारको साधना चल्दछ, त्यो समाज शक्तिशाली बन्दछ र उसबाट प्रवाहित प्रेरणाहरूले महापुरुषको जन्म हुन्छ ।
असद्विचारको अवलम्बनले व्यक्ति र समाजलाई अध:पतनतर्फ लिएर जान्छ । सद्विचार र असद्विचारको कसी बाह्य जगत् हो । मनुष्यले सोचोस् कि बाह्य जगत्को बारेमा उसले कसरी चिन्तन गर्दछ, सत् या असत् ? संसार नै दर्पण हो । संसारको विषयमा आफ्नो विचार नै आफ्नो स्वरूप हो । मनुष्यले जे सोच्दछ, त्यही नै उसको जीवन हो ।

फूलको आँखामा फूलै संसार भने जसरी नै संसाररूपी दर्पणलाई असत् दृष्टिले हेर्दा मनुष्यले असत् नै हेर्दछ । पाप हेर्दा पापमयी वृत्ति हुन्छ । पुण्य हेर्दा पुण्यमयी वृत्ति हुन्छ । त्यसैले – ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ पुण्य देख्ने व्यक्ति पुण्यफलको भागी बन्दछ, पाप देख्ने व्यक्ति पापफलको भागी बन्दछ । अर्को शब्दमा भन्न सकिन्छ – पुण्य देख्ने व्यक्ति पुण्यात्मा बन्दछ, पाप देख्ने व्यक्ति पापात्मा । एकपटक स्वामी रामतीर्थका समीपमा कलेजका दुई छात्रहरू गए । एउटा छात्रले भन्यो – स्वामीजी ! उसले मलाई भन्यो कि म मरिसकेपछि बिरालोको जन्म लिन्छु । अर्को छात्रले भन्यो – स्वामीजी ! उसले मलाई भन्यो कि मेरो मृत्युपछि म कुकुर्नीको पेटबाट जन्म लिन्छु । तपाईं नै भनिदिनुस् कि के हुन्छ ? स्वामीजीले उत्तर दिनुभयो – जसले अरूलाई कुकुर्नीको पेटबाट जन्म लिन्छ भन्दछ, ऊ स्वयम् कुकुर्नीको पेटबाट जन्मन्छ र जसले अरूलाई बिरालोको पेटबाट जन्म लिन्छ भन्दछ, ऊ बिरालोको बच्चा बन्दछ ।

साँचो हो – मन नै जगत् हो । मन राम्रो त जगत् नै राम्रो र मन नराम्रो त जगत् नै नराम्रो । अत: स्वामी रामतीर्थले भनेका छन् – हो, सुधारको आवश्यकता छ, तर अरूलाई सुधार गर्नका लागि होइन, स्वयम् आफूलाई सुधार गर्नका निमित्त । वास्तवमा मनुष्य आफ्नो शत्रु आफैं बन्दछ र आफ्नो मित्र पनि आफैं बन्दछ । जो आफूलाई ठीक राख्ने चेष्टामा लीन रहन्छ, ऊ आफ्नो मित्र आफैं हुन्छ र जसले यसको उपेक्षा गर्दछ, ऊ आफ्नो शत्रु आफैं हो ।

Loading...
Loading...