खानेपानी मन्त्रीले ‘चप्पल’ मै सपथ लिए

Loading...

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। विस्तारित मन्त्रिपरिषद्का सदस्यका रुपमा नेपाली कांग्रेसबाट १०, नेकपा (माओवादी केन्द्र) बाट ६, नेपाल लोकतान्त्रिक फोरम बाट २ र नेकपा (संयुक्त) बाट १ गरी १९ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सपथ समारोहमा खानेपानी तथा सरसफाइ मन्त्रीका रुपमा सपथ लिएका महेन्द्र यादवको

चर्चा सुरु भएको छ । कांग्रेसको तर्फबाट मन्त्री बनेका यादव चप्पल लगाएरै सपथ समारोहमा सहभागी भएपछि सामाजिक सञ्जालमा उनको चर्चा सुरु भएको हो ।

धेरैले राष्ट्रपति कार्यालयमा चप्पल लगाएर जानु र सपथ लिनुलाई असामान्य ठानेका छन् भने कतिपयले स्वभाविक भएको उल्लेख गरेका छन् ।सामान्यतया मन्त्री सपथ समारोहमा उपस्थित हुँदा नयाँ ड्रेस, नयाँ जुत्ता र नयाँ टोपी लगाएर उपस्थित हुने परम्परागत मान्यतालाई तोड्दै यादवले चप्पलमै सपथ लिएपछि उनको चर्चा भएको हो । अन्य १८ मन्त्री भने नयाँ नयाँ पोशाक र जुत्तामा सजिएर शीतल निवास पुगेका थिए ।

बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापा (कानुन, न्याय तथा संसदीय मामिला), सञ्जय गौतम (सिँचाइ) , रामकृष्ण यादव (कृषि), राजेन्द्रकुमार केसी (युवा तथा खेलकुद), भीमसेनदास प्रधान (रक्षा), अम्बिका बस्नेत (सहकारी तथा गरिबी), मोहनबहादुर बस्नेत (सूचना तथा सञ्चार), वीरबहादुर बलायर (भौतिक पूर्वाधार तथा यातायात), मीनबहादुर विश्वकर्मा (वाणिज्य) र महेन्द्र यादव (खानेपानी तथा सरसफाइ) रहेका छन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) बाट गिरिराजमणि पोखरेल (स्वास्थ्य), टेकबहादुर बस्नेत (सामान्य), शिवकुमार मण्डल (आपूर्ति), महेन्द्रबहादुर शाही (ऊर्जा) र आशा कोइराला (महिला, बालबालिका तथा समाज कल्याण), सन्तकुमार थारु (पशुपक्षी विकास), नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्र देव (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन), गोपाल दहित (भूमि सुधार तथा व्यवस्था) र नेकपा (संयुक्त) बाट मिथिला चौधरी (जनसंख्या तथा वातावरण) बनेका छन्।

उद्योग, वन, विज्ञान र शान्ति तथा पुनःनिर्माण मन्त्रालय प्रधानमन्त्री स्वयंले राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको उपस्थितिमा बुधबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी छिन्।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, सांसद, उच्च सरकारी अधिकारीलगायत उपस्थित थिए।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचितभएका कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको शपथसँगै जेठ २४ गते आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।

साभार :अन्नपुर्ण पोस्ट बाट

Loading...



Loading…