हरियो पासपोर्ट– माया के.सी

प्रकाशित मिति :2017-07-26 18:25:21
Loading...

काठमाडौं, नेपाली साहित्यको विकास र विस्तारको खातिर देश तथा विदेशबाट नेपाली साहित्यका सर्जक स्रष्टाहरू लागि परेका छन् ।
प्रदेशमा बचेखुचेको समयमा पनि नेपाली साहित्यका विधा मार्फत आफ्ना पिर व्यथा, कथा कहानी र आफुले भोग्नुपरेका भोगाईहरूलाई रचनाको माध्यायम मार्फत मनको तृप्ति मेट्नु एक प्रकारको बाध्यता पनि हो ।

Loading...

 

लाखौ नेपाली यूवाहरु विदेश बनाउँनमा व्यस्त छन् । यो अर्को दुखको कुरा हो । मानिसको जीवनमा दुख र सुख एउटै आमाका सन्तानको रुपमा जीवनसँगै यात्रा गरिरहेका हुन्छन् भन्नेमा धेरैको दुईमत नरहला ।

अनेकन स्रष्टामध्यकी एक समाज सेवि एव्म साहित्यकार माया के.सी स्वदेश तथा विदेशमा व्यवसायीको हिसाबमा जीवन बिताई रहेकी छिन्। केसी कविता, गजल मुक्तक लगायत अन्यविधामा पनि कलम चलाउँ छिन्।

आजको सर्जक र स्रष्टामा माया केसीको लाखौ प्रवासि र नेपालीको मन छुने कविता :

कविता– ‘हरियो पासपोर्ट’

हरीयो पासपोर्ट बोकेर,
सपना साट्न मुग्लान पसेको पनि
अब त दस वर्ष पुगिसकेछ

यी बितेर गएका दस बर्षभरि
कतिकति बिहानहरु आएर गए
कतिकति साँझहरु आएर गए
तर आउँदै गएका यी साँझ बिहानहरु
जम्मै जम्मै एकै प्रहर लागिरहे मलाई
मुग्लान पसेको पहिलो वर्षभरी त
प्रत्येक बिहानहरुमा खोज्दोरहेछु
प्रियाका चुराका छुनछुने भाकाहरु
नेपथ्यमा बाबाको ख्वाक्क खुक्क
र आमाका आदेशहरु

तर यहाँ त मसित थियो
झिसमिसेमै मेरा सपना बिथोल्न आउने
मोबाइलको चर्को आलर्म मात्रै

त्यसपछि बर्षहरु छोडिँदै गए
सधैंझैं हरेक बिहान घरमा गुञ्जने
प्रिय ध्वनीहरु पुरिँदै गए मनको नेपथ्यमा
बरु कुल्चिँदै आए नयाँ ध्वनीहरुले
फरक फरक भाषाहरुमा
छिटो गर छिटो गर भनेको सुन्ने बानी पर्दै गयो मलाई

केही आवाज सुन्नु अघी नै
मनले दोहोर्याइ सकेको हुनेरहेछ
छिटो गर
छिटो गर
र छिटो गर मात्रै

यता प्रत्येक वर्ष थपिइरहे
हरियो पासपोर्टका पानाहरुमा
मिति फेरिएका रंगीबिरंगी लेबलहरु
तर
पासपोर्टको मेरो तस्बिर कहिले बदलिएन लेबलहरुजस्तो
हाँसिरह्यो मुसुक्क उही तस्बिर
र सजिइरह्यो सँधै टाइ कोटमा
जसरी म मुस्काएको थिएँ फोटो खिच्नु अघी
ऋखे दाइको फोटो स्टुडियोमा

यो दस बर्षमा
यो परदेशमा
निलो रङको पोसाकले
मेरो मन पनि निलै भइसकेको छ अहिले त
यो एक युगमा म पनि फेरिएँ युगझैं निलै निलो भएर
जब प्रत्येक शुक्रवारे बिदामा फेरिने आफ्नै शर्ट पाइन्ट हेर्छु
लाग्छ म दशैंमा नयाँ लुगा लगाइरहेको छु

पर्दे्सिएको यो दस बर्ष पछिको एकदिन
बिहानै ब्युँझिन्छु म
सिरानीमा बजेको मोबाइलको घन्टिले
तर सधैंझैं सपना बिथोल्ने आलर्म थिएन त्यो
त्यो त घरबाट प्रियाले छोडेको एउटा प्रिय आवाज थियो (
“अब त फर्केर सँगै बसे हुँदैन ? “

प्रियाको मधुरो आवाज
कानबाट कुदेर
मन सम्मै पुगेर खजमज्ज भएर बस्यो

सोचाइले थिचिएँ म आफै
फेरि सम्झिएँ एकपटक
बिर्सिसकेको प्रियाका छुनछुने धुनहरु
नेपथ्यमा बाबाको ख्वाक्क खुक्क
र आमाका आदेशहरु
अहो !
हरीयो पासपोर्ट बोकेर
सपना साट्न मुग्लान पसेको पनि
दस वर्ष पुगिसकेछ ।

माया के.सी

Loading...
Loading...