बैंकहरुले झर्को नमानी सेवा दिनुपर्छ

Loading...

रमेश पोख्रेल, कार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक

वित्तीय साक्षरता आर्थिक उपार्जनसँग सम्बन्धित छ । वित्तीय चेतना नभएसम्म आर्थिक उपार्जन गर्न सकिँदैन । हामीमा पैसा कसरी कमाउने, कसरी बचत गर्ने, कहाँ प्रयोग गर्ने, कसरी प्रयोग गर्ने लगायतको ज्ञान नभएसम्म हामी आर्थिक रुपले सबल बन्न सक्दैनौँ । त्यसैले, पछिल्लो समय वित्तीय पहुँच विस्तार र वित्तीय साक्षरताका कुराहरु उठिरहेका छन् ।

वित्तीय चेतना र उद्यमशीलता
हामीमा वित्तीय चेतना भएर मात्र पनि हुँदैन । आफूसँग भएको ज्ञानको प्रयोग गरेर उद्यमशीलतामा लाग्न सक्नुपर्छ । बैंकबाट कर्जा लिने, उद्यम सुरु गर्ने, उक्त उद्यमलाई विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने लगायतको ज्ञान वित्तीय चेतना हो । तर, जबसम्म यी सबै कुरा प्रयोगमा आउँदैन, उद्यमशीलताको सुरुवात हुँदैन, तबसम्म वित्तीय साक्षरता निरर्थक हुन्छ । थोरै थोरै मिलेर नै धेरै बन्छ भन्ने कुरा सबैले बुझ्नु जरुरी छ । यसको मतलब हामीले बचत गर्ने बानी बसाल्नुपर्छ । बचत पनि सही तरिकाले गर्नुपर्छ । फजुल खर्चलाई कटौति गरेर बचत गर्ने र बचत गरेको पैसालाई सही ठाउँमा लगानी गरेर पुँजी बढाउनेतर्फ लाग्नुपर्छ । कसैको खाने कुरामा, लत्ताकपडामा अति नै खर्च गर्ने, देखावटी गर्ने बानी हुन्छ । यो बानी त्यागेर बचत गर्ने बानी बसाल्नुपर्छ । अनि, बचत गरेको रकम घरमै थन्क्याएर राखेर पनि हुँदैन । त्यही रकम लगानी गरेर सानो उद्यम सुरु गर्न सकिन्छ । कुनै पनि उद्यम सुरु गर्दा एकैपटक ठूलोमा हात हाल्ने सपना देख्नु राम्रो होइन । ससानो पुँजीबाट सुरु गरेर त्यसलाई विस्तार गर्दै ठूलो उद्यममा विकास गर्न सकिन्छ । बचत आफ्नै भविष्यका लागि गर्ने हो भन्ने कुरा सबैले बुझ्नुपर्छ ।

विश्वासको आबश्यकता
उद्यमशीलता गर्ने व्यक्तिसँग म गर्न सक्छु र गरेरै छाड्छु भन्ने उर्जा र आत्मविश्वास हुनु पनि अत्यन्तै जरुरी छ । काम सुरु गर्न लाग्दा सक्दिन कि भन्ने थोरै मात्र शंका पनि मनमा भयो भने काम सुरु हुनुभन्दा पहिले नै बिग्रिन्छ । यो आत्मविश्वास, उद्यम सुरु गरिसकेपछि पनि आवश्यक पर्छ । उद्यमलाई सञ्चालन गर्ने, विकास गर्ने लगायतका कुरामा आफूमाथि दृढ विश्वास हुनुपर्छ । बचत गर्ने बानीले आत्मविश्वास बढाउन बद्दत गर्छ । आफूसँग पुँजी छ भनेपछि कतै लगानी गर्न पनि डर हुँदैन ।

बैंकले झर्को नमानी सेवा दिनुपर्छ
सर्वसाधारणलाई उद्यमी बनाउन बैंकहरुको ठूलो हात हुन्छ । कुनै उद्यम सुरु गर्नका लागि ऋण लिन बैंक पुगेको व्यक्तिलाई बैंकले झर्को नमानीकन सबै जानकारी दिनुपर्छ । ऋण लिने तरिका, आवश्यक कागजात, व्याजदर, व्याज बुझाउने समय लगायत बैंकको नीति नियमहरु सबै कुराको बारेमा राम्रोसँग जानकारी दिनुपर्छ । बैंकले उद्यम सुरु गर्न चाहनेलाई निरुत्साहित कहिल्यै पार्नुहुँदैन । बरु, हौसला दिने गर्नुपर्छ । ऋणीले पनि बैंकसँग उचित व्यवहार गर्नुपर्छ । समयमा नै व्याज चुक्ता गर्ने, समयसमयमा बैंक गएर कर्जाको बारेमा बुझिरहने गर्नुपर्छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, बैंक र सर्वसाधारण दुवैले देशविकासको भावना लिएर काम गर्नुपर्छ । बैंकले लगानी गर्दा मुलुकको हित हुने गरी उत्पादनमूलक क्षेत्रमा, विकास निर्माणका कामहरुमा मद्दत पुग्ने गरी गर्नुपर्छ । सर्वसाधारणले बैंकबाट ऋण लिएर उचित ठाउँमा खर्च नगर्ने, ऋण लिएर भाग्ने गर्नुहुँदैन । बैंकको रकम सदुपयोग गर्ने तथा आफ्नै कमाईको उचित प्रयोग गर्ने गर्नुपर्छ । मुलुकभित्रै उद्योग व्यवसाय सुरु गर्ने, रोजगारी सिर्जना गर्ने जस्ता जिम्मेवारी सर्वसाधारणको काँधमा पनि छ । राष्ट्र बैंकले पनि वित्तीय पहुँच सबैतिर पुगोस भन्ने उद्देश्यले थुप्रै कदमहरु चालेको छ । बैंकहरुको वर्गीकरण गर्नुको पछाडी पनि राष्ट्र बैंकको यही उद्देश्य छ । सबै क्षेत्रलाई वित्तीय पहुँचमा समेट्नका लागि बैंकहरुको वर्ग तोकेर फरकफरक जिम्मेवारी दिइएको छ । यसका अलावा, बैंकहरुलाई स्थानीय स्तरमा जान प्रात्साह, उत्पादनशील क्षेत्रमा लगानी गनुपर्नेमा जोड दिँदै आएको छ । त्यसका साथै ‘वित्तीय जागरण राष्ट्रिय अभियान’ लगायत राष्ट्र बैंकले अन्य कार्यक्रमको माध्यमबाट वित्तीय पहुँच विस्तार गरिरहेको छ ।
(धादीङको बेनीघाटमा आयोजित वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रममा प्रमुख अतिथिका रुपमा उहाँले व्यक्त गर्नुभएको भनाईमा आधारित)

Loading...



Loading…