नेपाली युवाको बाध्यता”चालीस कटेसी रमाउँला”

Loading...

( लेख/विचार)
-सुनिलकुमार लो

सुनिलकुमार लो

हालै सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो ।त्यो तस्वीर थियो खाडीमा काम गर्ने एक युवा डेविड लामाले पोष्ट गरेको तस्वीर ।जसमा उनी आफै तातो खुल्ला सडकमा अण्डा बनाइरहेका छन र स्टाटस लेखेका छ्न,”चालीस कटेसी रमाउँला । ” जुन केही समय अघि निकै लोकप्रिय गीतको लाईन हो । खाडीमा काम गर्ने पुरुषले पचास डिग्रीको तापक्रमले तातिएको खुला सडकमा अण्डा बनाईरहेको दृश्य हेर्दा त आश्चर्यलाग्दो र रमाइलो लाग्ला तर त्यो भोग्नेलाई रमाईलो छैन । नेपालमा रोजगारीको पर्याप्त अवसरको सिर्जना हुन नसक्दा कलिलो उमेरमा नै नेपाली युवायुवती खाडी मुलुकमा रोजगारीको लागि जान बाध्य भएको अवस्थालाई त्यो तस्वीरले प्रतिनिधित्व गर्दछ ।

हाम्रो जस्तो देश, जुन प्राकृतिक सम्पदा र रमाइलो हावापानीले सुसज्जित छ , तर सहि प्रकारको शासकीय संरचना र शासनको अभावमा देश द्रुतगतिमा अगाडी बढन सकेको छैन । कुनै बेला अङ्ग्रेजलाई आर्थिक सहयोग गर्न सक्ने हैसियत राख्ने हामी नेपाली आज किन विदेशी भूमिमा तुच्छ जीवन बाँच्न बाध्य छौ त ? आज विदेश जाने लाईनमा किन लाखौ युवा उभिएका छन ? प्रश्न स्वभाविक छ , तर उत्तर सजिलो छैन ।

आफ्नो देशको गरिबीबाट वाक्क भएर खाडीमा मिठो खाने, राम्रो लगाउने र आफ्ना घर परिवारलाई सुखमा राख्ने अनेकौ काल्पनिक सपना बुन्दै नचाहेरै पनि आफ्नो मातृभूमिलाई बिदाईका हात हल्लाउँदै आकाशको बाटो भएर धेरै जसो नेपाली साउदी, दुबई , कतार , मलेसीया पुग्ने गरेका छन । खाडीमा नेपालबाट वैदेशिक रोजगारीको लागि जाने युवायुवतीहरु चर्को घाममा काम गर्न बाध्य हुन्छन। र कैयौं होनहार नेपाली युवाहरू बाकसमा प्याकिङ भएर फर्कनु परेको प्रशस्त उदाहरण देख्न सक्छौ ।

हंगकंग, जापान, सिंगापुर जस्ता देशमा जानेहरु मध्ये केहिले आफ्नो भविष्य पनि राम्रै बनाएका छन् भने विशेषगरी खाडीमा काम गर्ने मजदुरहरुको जीवन कष्टकर बन्ने गरेको छ । मजदुरहरुले महिना भरी पसिना संग लुटपुटीएर २०/२५ हजारको भरमा खान, लाउन र मुश्किलले बचाएको पैसा घर खर्चको लागि नेपाल पठाउनु पर्छ ।खाडिको ५० डिग्रीको चर्को गर्मीमा सडकमा अण्डा पकाएको तस्वीरले यसले खाडी मुलुकमा काम गर्ने नेपालीको पिडा र भविष्यलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरेको छ ।

खाडी मुलुकमा दु:ख गरेर बगाएको पसिनाबाट कमाएको पैसा घर पठाउँदा कतिपयका श्रीमतीहरू त्यही पैसामा मोज मस्ति गर्ने गरेको तथ्य विभिन्न समयमा संचारमाध्यममा छाईरहेका हुन्छन ।

देशको अर्थतन्त्र मजबुत पार्न अमुल्य योगदान दिन सक्ने युवाहरुलाई विदेश पठाउने संस्कृति चाडो अन्त्य हुनु पर्छ । केहि समय रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा सहयोग पुगेतापनि त्यसले राष्ट्रलाई दूरगामी असर पार्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस । किनकी असार पन्ध्रमा खेताला हिडने किसानले त्यो दिन त मासुभात नै खाला तर बर्षभरी खाने अन्न उब्जाउन सक्दैन । अहिले विदेशिएर केही रकम कमाएर हाम्रा सपना पूरा त होलान तर त्यसले हाम्रो देशलाई दुरगामी भविष्यलाई नकारात्मक असर गर्छ ।

Loading...



Loading…