फोरजी सेवा देशभर पुर्‍याउँदै टेलिकम

प्रकाशित मिति :2017-08-01 05:08:25
Loading...

काठमाडौं : नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा देशैभर पुर्‍याउने गरी कार्ययोजना तयार गरेको छ । द्रुत गतिको मोबाइल इन्टनरेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्‍याउने गरी कार्यायोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

Loading...

संसद्को सार्वजनिक लेखा समितिमा सोमबार राजभण्डारीले टेलिकमले हाल डाटा सेवामा मात्रै सीमित फोरजीलाई भ्वाइस, भिडियोसहितको उच्च गतिको डाटा स्पिड पनि दिन लागेको बताइन् । हाल करिब पाँच लाख ग्राहकको पहुँचमा पुगेको यो सेवा काठमाडौं र पोखरामा मात्रै सीमित छ ।

टेलिकमले आवश्यक तयारी गरिरहेको र सञ्चालक समितिमा पेस गरेर तत्काल बोलपत्र आह्वान गर्ने गरी फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । टेलिकमले गत पुसदेखि फोरजी सेवा सञ्चालन गरेपछि यसका प्रयोगकर्ता २७ टीबी पुगेका छन् । यस अघि टेलिकमको मोबाइल डाटा प्रयोगकर्ता दैनिक १६ टीबी मात्रै थिए ।

टेलिकमका अनुसार हाल एक करोड ५१ लाख जीएसएम मोबाइल प्रयोगकर्तामध्य ७० देखि ८० प्रतिशत ग्राहक सक्रिय छन् । यीमध्य डाटा प्रयोगकर्ताको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । टेलिकमले पछिल्लो समय कुराकानीभन्दा मोबाइल इन्टरनेटलाई नै प्राथमिकता दिएकाले पनि डाटा प्रयोगकर्ता बढेको टेलिकमको भनाइ छ ।

टेलिकमले सार्वजनिक गरको तथ्यांकअनुसार गत जेठसम्ममा डाटा प्रयोगकर्ताको संख्या ८३ लाख ९५ हजार छ । यो तथ्यांक २०७३ असारको तुलनामा सात लाख ८८ हजारले डाटा प्रयोगकर्ता बढेको पनि उल्लेख छ ।

टेलिकमले कमायो १५ अर्ब नाफा
नेपाल टेलिकमले आव २०७३/०७४ मा करपछिको नाफा करिब १५ अर्ब ४२ करोड रुपैयाँ भएको अनुमान गरेको छ । आगामी वर्ष ४९ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गर्ने र १६ अर्ब २९ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य रहेको टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् ।

उनका अनुसार टेलिकमले आर्थिक वर्ष २०७३/२०७४ को चैतसम्ममा ३३ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानीबाट १७ अर्ब ५३ करोड खर्च गरेर ११ अर्ब २० करोड नाफा गरेको थियो । यस्तो नाफा करपछि अघिल्लो वर्ष २०७२/७३ मा १३ अर्ब ६८ करोड रहेको पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले आम्दानी बढाउन र दीर्घकालीन लाभका लागि विभिन्न तीनवटा जलविद्युत् कम्पनीमा लगानी गरेको छ । यो कम्पनीले निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा ६ प्रतिशत, ३७ मेगावाटको त्रिशूली तीन ‘बी’ मा ३० प्रतिशत र नेपाल विद्युत् विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको छ । ३५ अर्ब २९ करोड लागतको माथिल्लो तामाकोसीमा ६ प्रतिशतले हुन आउने ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमको भनाइ छ । त्रिशूली ३ बी मा भने आयोजना लागत आठ अर्बको ३० प्रतिशत रकम लगानी गरको उल्लेख छ ।
टेलिकम सरकारी कम्पनी भएकाले पनि यसले अन्तरआबद्धता शुल्क नतिरेका यूटीएल, स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन र हेल्लो नेपाललाई सेवा दिइरहेको बताइन् । यी चारवटै कम्पनीले टेलिकमलाई तिर्नुपर्ने रकम ३५ करोडभन्दा बढी छ ।

प्रतिस्पर्धी बन्न निर्देशन
संसद्को लेखा समितिले टेलिकमलाई सेवा र गुणस्तरमा प्रतिस्पर्धी बन्न निर्देशन दिएको छ । टेलिकमले गरेको लगानीको तुलनामा सेवाको गुणस्तर र उपलब्धि कमजोर देखिएकाले बजारमा खरो रूपमा प्रतिपस्र्धा गर्न सक्ने तीन महिने कार्यायोजना एक साताभित्र पेस समितिले टेलिकमलाई निर्देशन दिएको छ ।

टेलिकमलाई देशैभर फोरजी सेवा पुर्‍याउने कार्ययोजना १५ दिनभित्र तयार गर्न र समितिसमक्ष पेस गर्न पनि निर्देशन दिइएको छ । टेलिकमको आम्दानी घट्दै गएको बजार हिस्सा र सेवाग्राहीअनुसार बजार बढ्न नसकेकाले यसले नाफा बढाउने योजना तय गरेर पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिको बैठकमा सांसद रामहरि खतिवडाले टेलिकमको अन्तर्राष्ट्रिय कलबाट भएको आम्दानी घट्दै गएको र यसका नाफामा असर गरेको विषय उठान गरे । उनले टेलिकमको नाफा घट्नुको अर्थ निजी कम्पनीको बजारहिस्सा मात्रै बढ्दै जानु भएको भन्दै टेलिकमलाई प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्न आग्रह पनि गरे । ९२ प्रतिशत सरकारी लगानीको यो कम्पनीले गर्ने नाफा र यसको बजार रणनीतिले यसको भावी अवस्थाको चित्रण गर्ने समितिमा बोल्ने सांसदको भनाइ छ ।

इन्फोहाल करिब पाँच लाख ग्राहकको पहुँचमा पुगेको फोरजी सेवा काठमाडौं र पोखरामा मात्रै सीमित छ ।

Loading...
Loading...