श्रीमतीको पनि निधन, जसलाई कुर्दा कुर्दै बितेका थिए पत्रकार कर्ण बोहोरा

Loading...

काठमाडौं: स्वर्गीय कर्ण बोहोराकी पत्नी ममता कुमारी बोहोराको निधन भएको छ। मङ्गलबार बिहान भारतको उत्तराखण्डको खटिमामा उनको निधन भएको हो। दुवै किड्नीले काम गर्न छोडेको उनको भारतको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो।

उपचाररत उनलाई दुई दिनअघि माइती पक्षले डिस्चार्ज्ड गरेर लगेको कर्ण बोहोराका भतिज केशव बोहोराले बताए। उनले भने, ‘भाउजुले केही दिन अघि फोनमा स्वस्थ्य गम्भीर भएको र तुरुन्त भेट्न आउनु भनि खबर गर्नु भएको थियो। यो हप्ता जाने योजना सहित यता आफ्नो कामहरु मिलाउँदै थिएँ।’

केशवका अनुसार ममताको माइती पक्षले हाम्रो जिम्मामा छोड्नु भनेकै कारण उनी नेपाल फर्किएका थिए। ममताको नेपालदेखि नै कुरुवा रहँदै आएका भतिज केशवले भने, ‘उहाँको आँखा पनि बन्द हुँदै गएको थियो रे।’उनका अनुसार ममताको डिस्चार्ज भएको हो वा माइती पक्षले स्वेच्छाले घर फर्काएको हो भन्ने बारे जानकारी छैन।

२०७३ को साउन महिनादेखि थल्लिएकी बोहोरालाई लिएर पति कर्ण बोहोरा कञ्चनपुरबाट काठमाडौं आएका थिए। दुर्भाग्य! पत्नीको किड्नी फेल भएपछि पैसा जोहो गर्न खटिएका कर्णको कुरुवा बसेकै क्षण भेनस अस्पतालमा उक्त रक्तचापका कारण निधन भयो। गत मङ्सिर १० गतेको उक्त घटना पछि ममताको अवस्था गम्भीर बनेको थियो। पत्रकार महासंघले दिएको राहत रकम र व्यक्तिगत अकाउन्टमा जम्मा भएको आर्थिक सहयोगको भरमा उनको किड्नी ट्रान्सप्लान्ट रद्ध भएको थियो।

ममताको नाममा कञ्चनपुर र काठमाडौं लगायत देशका विभिन्न समूह र संघ संस्थाले आर्थिक सहयोग संकलन गरेका थिए। ती सम्पूर्ण रकम हस्तान्तरण नभएको केशव बोहोराले जानकारी दिए। गत पुस २८ गते उपचारका लागि दिल्ली जानुअघि उनले पहिलोपोस्टसँग भनेकी थिइन्, ‘मेरो उपचारको नाममा जम्मा भएका पैसा हस्तान्तरण नभए उपचार गराउन सक्ने स्थिति नै छैन। अन्तिम आशा तिनै समवेदना स्वरुप जम्मा हुने रकम न हुन्।’

सुदूर पश्चिममा सक्रिय रुपमा काम गर्ने चर्चित पत्रकार थिए कर्ण बोहोरा। उनी ‘पश्चिम नेपाल’ नामको पत्रिका र रेडियो चलाउँथे। पत्रिका मृत्यु हुनु केही समय अघिमात्र एक वर्षका लागि लिजमा दिएर रेडियोमा फोकस गर्न लागि परेका थिए। उनको रहर थियो सुदूर पश्चिमभरि आफ्नो रेडियो घन्काउँथेे। त्यसैका लागि बैतडीमा टावर राख्ने योजना पनि नबुनेका होइनन्। तर उनको असमायिक निधन भयो। र उनको सपना पूरा गर्ने बारे सोचेकी थिइन् ममता बोहोराले। पहिलोपोस्टसँग भनेकी थिइन्, ‘मलाई ठीक भयो भने म रेडियोकै लागि काम गर्छु। तर के गर्नु दुई महिना यता त ठप्पै भएको छ रे।’

अब उनको सपना पनि अपूरो रहने भयो। उनी पनि पति कर्ण लागेकै बाटो लागिन्।पहिलो पोष्टबाट साभार

Loading...



Loading…