प्रचारप्रसारको यो होडबाजीले गर्दा कतै उत्कृष्ट, राम्रा प्रतिभा ओझेलमा पर्ने त होइन ? पढ्नुहोस

प्रकाशित मिति :2017-08-09 03:29:36
Loading...

नेपाल आइडल मेगा रियालिटी सोमा उत्कृष्ट अठारदेखि उत्कृष्ट सातसम्म आएका प्रतिस्पर्धी हेर्दा जन्मजातै प्रतिभा बोकेर आए जस्तो लाग्छ । गायकी क्षमता, संगीतप्रतिको लगाव तिनीहरूको रगतमै वा उनीहरूको कुनै पुस्ताबाट हस्तान्तरण हुँदै आएको थियो जस्तो देखिने । त्यो दुईचार महिनाको मात्र मेहनतको फल होइन ।

Loading...

उनीहरू त वनका काँडा हुन् जसलाई तिखो बनाउन तिखार्न पर्दैन । यसो भनिरहँदा नेपाल आइडलभित्र ती प्रतिस्पर्धीलाई ग्रुमिङ गर्न गरिएको मेहनतलाई कम आँक्न मिल्दैन ।

कसरी प्रस्तुत हुने, दर्शक र श्रोताको मन कसरी जित्ने, कस्तो कस्तो हाउभाउ गर्ने आदि पनि समयसापेक्ष हुनुपर्छ । नेपाल आइडलको मञ्चमा उत्कृष्ट प्रतिस्पर्धी खोज्ने दौडमा संलग्न निर्णायकको भूमिकालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

नेपाल आइडलको मञ्चबाट गला र कला दुवै उत्कृष्ट भएको एक मात्र बहुआयामिक व्यक्तित्वको खोजी भइरहेको छ । त्यस्तो व्यक्तिको खोजी गर्नु कठिन काम हो ।

यसो गरिरहँदा उत्कृष्ट प्रतिस्पर्धी ओझेलमा पर्ने खतरा हुन्छ । उत्कृष्ट पाँच वा तीनभित्र संयुक्त रूपमा त्यो पात्र खोज्न सकिएला तर उत्कृष्ट एकभित्रै नेपाल आइडल खोज्नु आफैंमा असम्भव झैं लाग्छ ।

उत्कृष्ट एक बनाउने परम्परा संसारभर विद्यमान भएपनि यो पुरानै परम्परा हो । उत्कृष्ट पाँच वा तीनभित्र पर्ने जो कोहीको संयुक्त प्रयासले पनि नेपाली गीतसंगीतलाई प्रतिनिधित्व गर्न सक्छ । नेपाल आइडल-१ ले नै नेपाली गीतसंगीतको भावी पुस्तालाई प्रतिनिधित्व गर्न सक्छ भन्ने केही आधार छैन । नेपाल आइडलको निर्णायक इन्दिरा जोशीलाई हेरौं ।

इन्डियन आइडल विजेता प्रशान्त तामाङलाई नै हेरौं उनी र दोस्रो हुनेबीचको दूरी कति छ, यो जगजाहेर छ । यस कारणले पनि यसअघिका रियालिटी सोबाट उत्पादित-१ हुने व्यक्ति नेपाली गीतसंगीतमा छाउन सकेका छैनन् र हामीले उत्कृष्ट-१ छानेकै कारणले ऊप्रति बढीभन्दा बढी आशा र अपेक्षा छ ।

उत्कृष्ट छान्ने क्रममाखउत्कृष्ट-१ मै सीमित गर्दा त्यो उत्कृष्ट-१ ले दिने योगदान सीमित नै हुन्छ । उसले सिंगो नेपाललाई भन्दा पनि कुनै क्षेत्र, समुदायविशेषलाई नै प्रतिनिधित्व गर्ने हो । उत्कृष्ट-१ खोज्ने क्रममा कतै हामी मोरङका निशान भट्टराई, पोखराका बुद्ध लामा, ललितपुरका प्रताप दास, दाङका सुरज थापा, चितवनका सागर आले, बुटवलकी सुजाता पाण्डे, बालाजुकी प्रमिला राईप्रति अन्याय गरिरहेका त छैनौं ?

यसअघि नै प्रताप लामा, राहुल विश्वास, मेनुका पौडेल, केञ्जल मेयर श्रेष्ठ, उल्सन श्रेष्ठ जस्ता होनहार प्रतिस्पर्धीलाई गुमाइसकेका छौं । यही प्रक्रियामा निशान भट्टराई वा बुद्ध लामा वा जो कोही सात प्रतिस्पर्धीलाई गुमाउनु नेपाली गीतसंगीतको भावी पुस्ताप्रति कतै अन्याय त हुने छैन भन्ने डर पनि उत्तिकै छ ।

गला र कलाको उत्कृष्ट प्रतिभा खोज्ने क्रममा यो सीमित घेरामा नखुम्चिओस् । हारजितको खेलभन्दा माथि उठोस् नेपाल आइडल ।
यी सात प्रतिस्पर्धीलाई के कारणले कम र बढी भन्ने, कसको नाम अगाडि र पछाडि लिने ? फेरि यो प्रतिस्पर्धाको बागडोर सम्हालेका निर्णायकको भूमिका पनि सीमित बन्दै छ ।

उनीहरूको प्रतिक्रियाले पनि बेलाबखत काम गरिरहेको छैन कि जस्तो लाग्छ । हुन त कलेक्टिभ डिसिजन वा जनताको अभिमत सही नै हुन्छ, तर पनि यो राजनीतिक व्यक्तिको चयन त होइन । प्रचारप्रसारको यो होडबाजीमा कतै उत्कृष्ट प्रतिभा ओझेलमा पर्ने त होइन ?

नेपाल आइडलको मञ्चमा केही पाहुना निर्णायकको रूपमा यसअघि कोमल वली, लोचन रिजाल, तुलसी घिमिरे, प्रेमध्वज प्रधान र राजनराज शिवाकोटीलाई ल्याइयो । यो आफैंमा गर्वयोग्य कुरा हो । सीमित निर्णायकको सीमित घेरा विशेषको कमेन्टबाट माथि उठेर फराकिलो भएर कमेन्ट गर्दा उत्कृष्ट प्रतिस्पर्धीप्रति न्याय हुनेछ भनेरै यसो गरिएको होला । तर पनि कतिपय अवस्थामा प्रतिक्रिया व्यक्त गर्दा फितलो पाराले गरिरहेको भान हुन्छ । शब्दहरू तौलिएर बोलिरहेको जस्तो लाग्दैन ।

नेपाल आइडलको मञ्चमा देखिने पाँच वा तीन प्रतिस्पर्धी जो कोही पनि नेपाल आइडल हुन् । उनीहरूको प्रतिभा,उनीहरूको क्षमता जसरी प्रस्तुत भइरहेको छ त्यस्तो लाग्दैछ उनीहरूप्रति न निर्णायकले नै न्याय गर्न सक्छन् न त जनताको भोटबाटै । प्रत्येक निर्णायकको आआफ्नो अनुभवको घेरा हुन्छ, उसले जे जान्दछ, जे बुझ्दछ उसको सीमित घेराभित्रै रहेर गर्ने हो उसले सबैखाले प्रतिस्पर्धीप्रति न्याय गर्न सक्दैन ।

जनताको भोट पनि, को कति सामाजिक सञ्जालमा छाएको छ, को कहाँबाट आएको छ, कुन क्षेत्र विशेषलाई प्रतिनिधित्व गरेको छ, प्रचारप्रसारमा उसको लागि के कति खर्चिएको छ आदि कुराले प्रभावित पार्न सक्छ । यस अर्थमा पनि नेपाल आइडल-१ को खोजी उत्कृष्ट पाँच वा तीनसम्म पुर्‍याएर सामूहिक टाइटल दिने पो हो कि ?

नेपाल आइडलको राम्रो पक्ष भनेको देशको कुनाकुनामा रहेका, समाजबाट ठगिएका, आफ्नै आफन्त र परिवारबाट प्राथमिकतामा नपरेका अनि भौतिक रूपमा कमजोर प्रतिभाहरूको उजागर गर्न सफल हुनुमा छ । निर्णायकले कतिपय प्रतिस्पर्धीलाई तुरुन्त छनौट नगरी फरक-फरक तरिकाले छनौट गर्दा तत्काल प्रतिस्पर्धीका भावनामाथि खेलेझैं लागे पनि त्यसपछि प्राप्त हुने असीम खुसी सयौं गुणा गुणात्मक भएर प्रस्तुत भएको हेर्न पाउनु पनि सुखद् संयोग नै थियो ।

समग्रमा नेपाल आइडल खोजीकार्य आफैंमा उत्कृष्ट छ । केही गल्तीकमजोरी हुँदाहुँदै पनि यो प्रक्रिया निरन्तर अघि बढ्नेछ र निर्णायक बन्ने छ । गला र कलाको उत्कृष्ट प्रतिभा खोज्ने क्रममा यो सीमित घेरामा नखुम्चिओस् । हारजितको खेलभन्दा माथि उठोस् नेपाल आइडल सबैलाई सफलताको शुभकामना ।

Loading...
Loading...