‘ऐश्वर्य’को गीत रिलिज, कस्तो देखियो रमेश र दीपिकाको केमेष्ट्री ?

Loading...

कात्तिक २ गते लक्ष्मी पूजाको दिनबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को पहिलो गीत रिलिज भएको छ । नायक रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ ‘तिमी रोएको पल’ बोलको गीतको छायाँकन र लोकशन लोभलाग्दो छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्री हुन् ।

शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक कार्यक्रममा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्य‘ऐश्वर्य’लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

फिल्ममा रमेश र दीपिकाको अलावा केकी अधिकारी, केशव भट्टराई, निर्मल शर्मा लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । लामो समय अमेरिका बसाईपछि नेपाल फर्किएका रमेश उप्रेतीले ‘ब्रासलेट’मार्फत फिल्ममा कमब्याक गरेका थिए । यो फिल्मलाई रमेश उप्रेतीको होम प्रोडक्शन कम्पनीले निर्माण गरेको हो ।

फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसअघि उनले ‘स्टूपिड मन’को निर्देशन र ‘ड्रिम्स’मा सह-निर्देशकको भूमिका निर्वाहा गरेका थिए । फिल्ममा सुदीप बरालले क्यामेरा चलाएका छन् । अर्जुन श्रेष्ठ र किरन राणा उप्रेती निर्माता रहेको फिल्ममा निर्मल शर्मा सह निर्माताको रुपमा रहेका छन् ।

कार्यक्रममा फिल्मलाई चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, कलाकार दीपकराज गिरी, नायिका करिश्मा मानन्धर, नायिका झरना थापा, हास्यकलाकार जितु नेपाल लगायतले शुभकामना दिएका थिए ।

भिडियो हेर्नुस् :

Loading...



Loading…