गौरिका सिंह दुई वर्षपछि राष्ट्रिय प्रतियोगिता खेल्दै

प्रकाशित मिति :2017-08-11 16:25:09
Loading...

रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी गौरिका सिंह घरेलु प्रतियोगितामा सहभागी हुन लन्डनबाट काठमाडौं आएकी छन् ।

Loading...

नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले साउन ३१ देखि तीनदिने सातौं एनएसए कप स्वीमिङ च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएपछि गौरिका लन्डनमा दुई प्रतियोगिता छाडेर आइतबार स्वदेश फर्किएकी हुन् । उनी काठमाडौं आएयता दरबारमार्गस्थित अन्नपूर्ण होटलको स्वीमिङ पुलमा प्रशिक्षण गरिरहेकी छन् ।

उनी ‘इङलिस एज ग्रुप च्याम्पियनसिप’ मा ५० मिटर फ्रिस्टाइल, ५० मिटर ब्याकस्ट्रोक र १ सय मिटर ब्याकस्ट्रोकको फाइनल चरणमा छनोट भएकी थिइन् । त्यससँगै उनको ब्रिटिस ओपन वाटर च्याम्पियनसिपको ३ किमिमा सहभागी हुने योजना थियो । ‘पौडी संघका अध्यक्षले राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएपछि गौरिका इङलिस एज ग्रुप फाइनल र ब्रिटिस ओपन वाटर च्याम्पियनसिप त्यागेर घरेलु प्रतियोगितामा सहभागी हुन आएकी हुन्,’ गौरिकाका पिता पारस सिंहले भने ।

नेपालको घरेलु पौडीमा महिलातर्फ सोफिया शाह छाइरहेकी थिइन् । उनको एकछत्र राज तोडै गौरिकाले २०७१ साल साउनमा सातदोबाटोस्थित स्वीमिङ पुलमा सम्पन्न १९ औं राष्ट्रिय पौडीमा आठ कीर्तिमानसहित आठ स्वर्ण र एक रजतपदक जितेकी थिइन् । त्यसैले गौरिकालाई चर्चामा ल्याएको थियो । त्यति बेला उनी ११ वर्षकी मात्र थिइन् ।

लन्डनस्थित बार्नेट कोप्टहल स्वीमिङ क्लबमा प्रशिक्षण गरिरहेकी उनले २०७२ वैशाखमा भूकम्पलगत्तै भएको २० औं राष्ट्रिय पौडीमा पनि कीर्तिमानसहित ६ स्पर्धामा स्वर्णपदक कब्जा गरेकी थिइन् । उनले कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप, दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकप र आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २–२ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

उनले तहल्का मच्चाउँदै गुवाहटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा एक रजत र तीन कांस्य पदक जित्ने क्रममा १० राष्ट्रिय कीर्तिमान सुधार गरेकी थिइन् । १३ वर्ष २ सय ५५ दिनको छँदा गत वर्ष ब्राजिलको रियो दी जेनेरियोमा भएको गृष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरेकी उनी दुई वर्षयता पहिलोपल्ट स्वदेशी प्रतियोगितामा सहभागी हुन लागेकी हुन् ।

उनले सातौं राष्ट्रिय खेलकुदमा आर्मीबाट प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर प्रतियोगिता पटक–पटक सारिएपछि उनी सहभागी भएकी थिइनन् । ३० पल्ट राष्ट्रिय कीर्तिमान बनाएकी उनले यसपालि सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

‘अब राष्ट्रिय पौडी’
नेपाल पौडी संघले साउन ३१, ३२ र भदौ १ मा सातौं ‘एनएसए कप स्वीमिङ च्याम्पियनसिप’ आयोजना गर्ने भन्दै सातदोबाटोस्थित पौडी परिसरमा महिना दिनअघि नै ब्यानर टाँगेको थियो । त्यसमा खेलाडीले नाम दर्ता गर्ने अन्तिम मिति २६ साउनलाई तोकिएको थियो । तर च्याम्पियनसिप नजिकिँदै जाँदा प्रतियोगिता नै एक महिना पछाडि सार्ने पौडी संघकै केही पदाधिकारीहरूले बताइरहेका थिए ।

यसबीच संघका अध्यक्षकै सूचना आधार मानेर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गौरिका सिंह नेपाल आइसकेकी थिइन् । लन्डनमा परिवारसँगै रहेकी उनलाई घरेलु प्रतियोगितामा सहभागी नभएको आरोप लाग्ने गरेको छ । उनी भने नेपाल पौडीको कुनै निश्चित क्यालेन्डर नभएकाले योजना बनाएर प्रतिस्पर्धा गर्ने अवसर नपाएको बताउँछिन् । तर यसपालि स्वदेश फर्केर पनि च्याम्पिनसिप हुने/नहुने निश्चित नभएपछि उनी अलमलमा थिइन् । ‘नेपाल आएर पनि प्रतिस्पर्धा गर्न नपाई फर्कनुपर्ने हो कि भन्ने लागेको छ,’ उनले भनिन् ।

पौडी संघमा पनि च्याम्पियनसिप सार्ने/नसार्ने भन्नेमा विवाद उठेको थियो । ‘पहिले एनएसए कप सञ्चालन गर्ने तयारी गरेका थियौं । अब २२ औं राष्ट्रिय पौडी प्रतियोगिता नै आयोजना गर्ने निर्णय गरेका छौं । प्रतियोगिता भदौ पहिलो साता सातदोबाटोमा हुनेछ,’ पौडी संघको कार्यसमिति बैठकपछि शुक्रबार अध्यक्ष बज्राचार्यले भने ।

Loading...
Loading...