जयपृथ्वी राजमार्गमा यात्रु जोखिम मोल्न बाध्य

Loading...

बैतडीको खोड्पेसँग बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

भिर, साँघुरो सडक, अनि ठूल्ठूला सवारी साधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको छ । यसका साथै धेरै ठाउँमा खोलामा पुल नहुँदा सडकमा माटो जम्मा भई भिरालो बन्न जान्छ र पहिरो गएको ठाउँको सडक हिलाम्ये बन्छ ।जयपृथ्वी राजमार्गमा यात्रुहरु डर र त्रासमा यात्रा गर्न बाध्य छन् । सडक निकै नै डरलाग्दो रहेकाले डरैडरमा चैनपुरदेखि खोड्पेसम्म पुगेको पवित्रा राईले सुनाउनुभयो । उहाँले भन्नुभयो – “साघुँरा सडकमा ठूलो गाडीमा यात्रा गर्दा कतिखेर खोड्पे पुगौं जस्तो भइरह्यो । वर्षात्को समयमा त यात्रा निकै नै जोखिम हुने रहेछ ।”

पहिलोपटक जयपृथ्वी राजमार्गमा यात्रा गरेको बताउने पवित्राले सधैं यो सडकमा यात्रा गर्नेले त भगवान् भरोसामा हिड्नुपर्ने अनुभव सुनाउनुभयो ।जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापु लगायतका ठाउँ र बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला र नारुगाडमा बेलाबेलामा खसिरहने पहिराले राजमार्ग अवरुद्घ हुने गरेको छ । यसले दुर्घटना निम्त्याउने जोखिम त छँदैछ ।

बझाङलाई राजधानी काठमाण्डौ, धनगढी, महेन्द्रनगर जोड्ने एकमात्र राजमार्ग भएकाले यो मार्ग अवरुद्घ हुँदा धेरैलाई समस्या हुने गरेको छ । “बर्खायाम भएकाले कतिखेर के हुन्छ थाहा छैन,” जयपृथ्वी राजमार्गमा गाडीमा सवार यात्रु मुना राईले भन्नुभयो – “भिरको बाटोमा बाहिर हेर्न न निकै डर लाग्छ । सडक निकै साँघुरो रहेछ । यात्रा अवधिभर छिटो गन्तव्य पुगे हुन्थ्यो जस्तो लागिरहन्छ ।”

पहिराका कारण असारदेखि अहिलेसम्म १२ पटक जयपृथ्वी राजमार्ग अवरुद्घ भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलाबेलामा जाने पहिराका कारण यात्रु हैरानी बेहोर्न बाध्य भएका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।बेलाबेलामा पहिरो जाने भएकाले डिभिजन सडक कार्यालयसँग समन्वय गरी एउटा डोजर तयारी अवस्थामा राखिएको बताउँदै उहाँले भन्नुभयो – “सडकको अवस्था खतरापूर्ण छ । सडक माथिबाट ढुङगा खसिराख्छ ।”

माथिबाट पहिरो झरिरहँदा पनि जोखिम मोलेरै गाडी चलाउनुपर्ने बाध्यता रहेको चालकहरुले बताउँछन् । ना ५ ख २८३१ नं का बस चालक रघुवीर भण्डारीले भन्नुभयो – “कतिबेला पहिरो खस्छ भन्ने डरैडरले माथितिर हेरी गाडी चलाउनुुपर्छ । जोखिम मोलेर गाडी हाक्नुपर्छ । दुई टायर पड्किसके । सडकको अवस्था खतराजनक छ ।”

बैतडीको खोड्पेदेखि चैनपुरसम्मको जयपृथ्वी राजमार्गको कूल लम्बाइ १०८ किलोमिटर रहेको छ ।

पाल्पा घर भएर आठ वर्षदेखि जयपृथ्वी राजमार्गमा गाडी चलाइरहनुभएका ना ४ ख ५०७४ नं का ट्रक चालक कृष्ण थापाले पनि साँघुरो सडकमा सवारी हाँक्न निकै अप्ठेरो हुने गरेको अनुभव सुनाउनुभयो । ठूलो गाडीका लागि सडक साँघुरो भएकाले समस्या हुने गरेको र वर्षात्को समयमा त निकै कठिन हुने गरेको उहाँ बताउनुहुन्छ ।

कमजोर भौगर्भिक अवस्था र भिरालो भूबनौटका कारण जाने पहिरो तथा राजमार्गसँगै समानान्तर ढंगले निर्माण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुंगामाटोले वर्षात्मा सडक बढी अवरुद्घ हुने गरेको डिभिजन सडक कार्यालयको भनाइ छ । शाखा सडकबाट बगेर आएको माटो र ढुंगा थुप्रिएर बढी जसो राजमार्ग बिग्रने गरेको कार्यालय प्रमुख ललितजंग खनालले बताउनुभयो । उहाँले भन्नुभयो – “शाखा सडकबाट बगेर आएको माटो थुप्रिएर प्रत्येक वर्ष बर्खामा राजमार्ग अवरुद्ध हुने गरेको छ ।”

चीनको तिब्बतसँग जोडिँदै गरेको सडक अन्तर्राष्ट्रिय सडक भनिएपनि राजमार्गको स्थिति भने कहालिलाग्दो छ ।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १०८ किलोमिटर लम्बाइ रहेको यो सडकलाई विश्व बैंकको सहयोगमा ५ वर्षअघि कालोपत्र गरिएको थियो । कालोपत्र गरिएको अधिकांश ठाउँमा उप्किएर बाटो कच्चीजस्तै बनेका छन् ।जयपृथ्वी राजमार्गलगायत सुदूरपश्चिमका दशरथचन्द राजमार्ग र महाकाली राजमार्गमा दुर्घटनाको बढ्दै गएकाले विश्व बैंकको करिव रु २० करोडको सहयोगमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार लगाइसकिएको निर्माण कार्यको ठेक्का पाएको गौरी पार्वती सूर्य जेभी कन्सट्रक्सनले जनाएको छ ।

दुर्घटना न्यून गर्न विसं २०७२ फागुनदेखि विश्व बैंकको सहयोगमा सडक विभाग वैदेशिक महाशाखा, सडक तथा ट्राफिक सुरक्षा योजनाअन्तर्गत बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको सतवाझ झुलाघाट सडकखण्ड र महाकाली राजमार्गअन्तर्गत बैतडीकै सतवाझदेखि दार्चुला सदरमुकाम खलंगा जोड्ने सडकखण्डमा स्टिलबार लगाइएको आइओडब्लुका सुपरभाइजिङ कन्सल्टेन्ट पंकज चन्दले जानकारी दिनुभयो ।

खोड्पेदेखि बझाङ सडकखण्डको दुर्घटना बढी हुनसक्ने ११.४५ किलोमिटर क्षेत्र, बैतडीको सतवाझ झुलाघाट सडकखण्डको बढी दुर्घटना हुनसक्ने ४.७९ किलोमिटर क्षेत्र र सतवाझ गोकुलेश्वर दार्चुला सडकखण्डको बढी दुर्घटना हुनसक्ने १०.३३ किलोमिटर क्षेत्रमा स्टिलबार लगाइएको छ ।

पहाडको बाटो त्यसैमा पनि ‘सिंगल लेन’ को साँघुरो बाटोमा बढी दुर्घटना हुने सम्भावना हुन्छ । आइओडब्लुका चन्दले भन्नुभयो – “स्टिलबार लगाइसकेपछि अब दुर्घटनामा कमी आउने छ । यात्रुहरुले पनि यात्रा गर्दा सुरक्षित महसुस गर्नेछन् ।”पहाडी सडक, भिर, घुमाउरो अनि सिंगल लेन भएका यी सडकमा नयाँ तथा पहिलो पटक गाडी चलाउने चालक डराउने गर्छ । स्टिलबार लगाइसकेपछि भने त्यो समस्या धेरै हदसम्म हट्ने विश्वास गरिएको छ । रासस

Loading...



Loading…