कोशीब्यारेज भत्किन थाल्यो : ढोका नेपालमा, चाबी भारतसँग ! के हो कोशीब्यारेज ?

प्रकाशित मिति :2017-08-13 03:33:52
Loading...

काठमाण्डौ । हरेक वर्षायाममा पत्रपत्रिका, टेलिभिजन, अनलाइन र रेडियोहरुको हेडलाइन बन्छ–कोशी नदीको पीडा । पहाडी क्षेत्रमा भारी वर्षा भएपछि जब जब कोशी नदीमा पानीको बहाब बढ्न थाल्छ, तब खतराको घण्टी(साइरन) बज्यो, खतराको झण्डा गाडियो भन्ने आशयका समाचारहरुको ओइरो लाग्छ ।

Loading...

त्रासै त्रासको बीच जब बर्षायाम सकिन्छ, फेरि सेलाउँछ कोशीको मुद्धा । स्थानीय स्तरदेखि सरकारी प्रतिनिधि र सत्ता संचालन गर्नेहरुले समेत कोशीको मुद्धा बिर्सिन्छन् ।

 

यस्तै–यस्तै नियमिततामा ६ दशक बढी समय बितिसकेको छ । यो अवधिमा न कोशी समस्या समाधान भयो, न त कोशीको पानीमा भारतीय एकाधिकार र दादागिरी नै ।

अचम्म त के छ भने कोशी सम्झौतापछि नै हाम्रा शासकहरुले कोशी ब्यारेजको सम्पूर्ण नियन्त्रण भारतीय पक्षलाई सुम्पिने आत्मघाती काम गरे । त्यही कामको सजाय र पीडा अहिलेको पुस्ताले भोग्दैछ ।

शनिवार बिहानदेखि नै तराई–मधेशमा बाढीले बितण्डा मच्चाएको छ । सानातिना खोलाको समेत समयमै नियन्त्रणमा ध्यान नपुुग्दा र शहरीकरणको नाममा भद्धा र अव्यवस्थित काम हुँदा हिउँदमा चिटिक्क र सुन्दर देखिने शहरहरु समेत बाढीका कारण कुरुप बनेका छन् ।

स्थानीय नेतृत्वको अदूरदर्शी नीति र विकास भनेको घर र बाटो बनाउनु मात्र हो भन्ने मूर्ख बुुझाईका कारण इटहरीजस्तो ठाउँ डूूबानमा परेको छ । कथा सुनाउँदै आफूसँगै निद्रादेवीको काखमा लुटपुटाएका दूधे बालकहरुलाई बिहान उठ्दा बाढीले खोसेर यमराजमा पुर्याइसकेको नियति एउटी आमाका लागि कति पीडादायी होला ?

इटहरीसँगै सप्तरी, विराटनगर लगायतका क्षेत्र समेत डूूबानको चपेटामा परेका छन् । विराटनगर एयरपोर्ट समुन्द्री बन्दरगाहजस्तो भएको छ । यसरी डूूबान र बाढीपहिरोको कहरका समाचार आइरहँदा कोशी मुद्धा फेरि एकपटक चर्किएको छ ।

बर्षा अविरल छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार समेत भारी बर्षा हुने प्रक्षेपण गरेको छ । पहाडी क्षेत्रमा समेत वर्षा रोकिएको छैन । जसका कारण कोशीमा पानीको बहाब बढेको बढ्यै छ । आजै(शनिवार) साँझसम्म कोशी नदीमा पानीको बहाब प्रति सेकेण्ड २ लाख ८३ हजार क्यूसेक थियो ।

बहाब २ लाख ५० हजार माथि कट्ने बित्तिकै कोशी ब्यारेजको कन्ट्रोल रुममा भारत सरकारबाट खटिएका कर्मचारीहरुले खतराको संकेत स्वरुप रातो बत्ती बालेर रातो झण्डा फहार्याउँछन् । बहाब ३ लाख क्यूसेक प्रतिसेकेण्ड भन्दा माथि गयो भने कोशीमा पूर्ण खतरा भएको मानिन्छ ।

पूर्ण खतराको जोखिमतर्फ कोशीको बहाब बढिरहँदा कोशी ब्यारेजका ५६ मध्ये ३७ ढोका मात्र खोलिएको छ । कारण, कोशी ब्यारेज नेपालमै भूमिमै पर्ने भए पनि त्यसको चाबी भने भारतीयहरुसँग छ ।

त्यहीकारण सधैंको वर्ष झै कोशीले बितण्डा मच्चाउने डर बढिरहँदा समेत उनीहरुले सबै ढोका खोलेनन्, वा खोल्न मानेन् । हामीले ढोका खोल्नैका लागि प्रत्येक वर्ष भारतसँगै लम्पसार परेर हारगुहार गर्नुपर्ने अवस्था छ ।

ढोका खोल्न किन मान्दैन भारत ?

कोशी ब्यारेजमा भारतीय प्राविधिक लगायतको कर्मचारीहरुको टोली सधैं कार्यरत हुन्छ । ब्यारेजमा उनीहरुले कार्यालय नै खोलेर कोशीको गतिविधिमाथि निगरानी गरिरहेका हुन्छन् ।

पानीको बहाब खतराको लेभल भन्दा माथि गइसकेपछि बढी भन्दा बढी ढोका खोल्न सकिए मात्र त्यसबाट नेपाली भूूभाग र बस्ती जोगाउन सकिन्छ ।

 

तर, कोशी कन्ट्रोल रुमका कर्मचारी त्यसो गर्दैनन् । सुनसरी र सप्तरी गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सयौ अनुरोध गर्दा पनि उनीहरु मरिगए ढोका खोल्दैनन् ।

हरेक वर्षायाममा कोशीको ढोका खुलाउनका लागि परराष्ट्रमन्त्रीले नै प्रयास गर्नुपर्ने तीतो बिडम्बना छ । आज पनि त्यही भयो ।

कोशीमा पानी उर्लिएपछि सुनसरीको प्रमुख जिल्ला अधिकारी राजेश गिरीले गृहमन्त्रालयलाई लेखी पठाए र गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेपछि भारतीय राजदूतलाई परराष्ट्रमन्त्री कृष्णबहादुर महराले तत्काल थप ढोका खोल्ने वातावरण बनाउन आग्रह गरे । थप ढोका खोल्न पहल गर्ने भारतीय दूतको प्रतिबद्धता आएको भनिए पनि यो आलेख तयार गर्दासम्म थप ढोकाहरु खोलिएका छैनन् ।

कोशी नदीलाई भारतीयहरु ‘बिहारको आँसु’ उपनामले चिन्छन् । यसको अर्थ हो, कोशी ब्यारेजको ढोका धेरै खोले पानी भारततर्फ जान्छ र त्यसले बिहार तहसनहस बनाउने डर हुन्छ ।

आफ्ना नागरिकलाई सुरक्षित बनाउने यही स्वार्थका कारण बरु नेपाली भूूभाग जति डूूबानमा परे पनि टुलुटुलुु हेर्दै बस्ने भारतीय कर्मचारी ब्यारेजको ढोका खोल्न कञ्जुस्याई गर्छन् ।

भारतीयहरु माथि पर्ने यही व्यवस्था र हाम्रो सरकारको बेवास्ताकै कारण केही वर्षअघि कोशीको तटबन्ध भत्किएर नेपाली बस्तीमा बितण्डा मच्चिएको थियो । हजारौं घरबारविहीन भएका थिए । कयौंले सो क्रममा ज्यान गुमाएका थिए ।

के हो कोशीब्यारेज ?

नेपाल र भारतका तत्कालीन राज्यप्रमुखहरु राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोशी ब्यारेजको सामूहिक उद्घाटन गरेका थिए । कोशी सम्झौता अनुसार कोशीब्यारेजको रेखदेख, नियन्त्रण, मर्मतसम्भार सहितका सम्पूर्ण जिम्मेवारी भारतको बिहार सरकार अन्तरगत रहेको छ ।

सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा स्पातको ढोका रहेका कोशी ब्यारेजसँग निर्माणपछिको सुरुवातीकालमा ९ लाख ५० हजार क्यूूसेक प्रतिसेकेण्ड दरको पानी थेग्नसक्ने क्षमता थियो । यसको लम्बाई एकहजार १ सय ४९ मिटर रहेको छ ।

एकदशक लगाएर सन् १९६२ मा भारतको कोलकातास्थित जोसेफ एण्ड कम्पनी लिमीटेडले कोशी ब्यारेज निर्माण गरेको हो । सन् १९९० यता कोशीमा पानीको बहाब ५ लाखभन्दा कमै रहेको तथ्यांकले देखाउँछ, तर २ लाख क्यूसेकको हाराहारीमा पानीको बहाब रहेकै अवस्थामा ०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्किएको थियो ।

ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो । कोशी ब्यारेज भारतीय सीमादेखि एककिलोमिटर भित्र(नेपालतर्फ) पर्छ ।

जुनसुकै बेला भत्किनसक्ने खतरा

सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजको आयुु ५० वर्ष मात्र हो । आयूू लम्बिदै जाँदा यसको पानीको बहाब सहन क्षमता समेत कमजोर बनेको छ ।

यहीकारण ०६५ साल भदौ २ गते सामान्य बहाबमै कोशीको पूर्वी तटबन्ध भत्किएर बितण्डा मच्चिएको थियो । सो बेला ३२ जनालाई कोशीले बगाएको थियो भने ७ हजार ५६५ घरपरिवार पूर्ण विस्थापित बन्न पुुगेका थिए ।

निर्माणको मितिबाट हिसाब गर्ने हो भने कोशी ब्यारेजको आयुु ५५ वर्ष पूरा भइसक्यो । यसको अर्थ कोशी ब्यारेज जुनसुकै बेला भत्किनसक्ने खतरा रहेको भारतीय प्राविधिकहरुले नै बताउने गरेका छन् ।

ब्यारेज जुनसुकै बेला भत्किनेसक्ने यही खतरा बुुझेको भारतीय पक्षले कहिलेकाही आइएसले ब्यारेज उडाउने धम्की दियो भन्दै हल्ला फैलाउँछ भने कहिलेकाही ब्यारेज नै सार्नेसम्मको प्रस्ताव गर्छ ।

समग्रमा कोशी र कोशीको पानीतर्फ कर्के नजर लगाएको भारतसँग तल पर्न ५५ वर्षअघि गरिएको सम्झौताको पुनरावलोकन नभएसम्म कोशीको कहर र त्रास कम हुने अवस्था छैन ।

आयुु नै सकिइसकेको ब्यारेज धेरै बहाब थेग्न नसकेर भत्कियो भने त्यसले नेपालको सुनसरी र सप्तरीको अधिकांश भूूभाग तहसनहस बनाइदिन्छ ।

कोशी बहुलाउँदा ठूलो घाटा भारतलाई पनि छ । बिहारको मधुवनी, दरभंगा, पूूर्णिया, सहर्सा, कटिहार, सुपौलजस्ता क्षेत्रहरु समेत कोशीका कारण हरेक वर्ष प्रताडित बन्दै आएका छन् । ०६५ सालमा कोशी फुट्दा नेपालमा भन्दा बिहारका यी क्षेत्रमा बढी धनजनको क्षति भएको थियो ।

Loading...
Loading...