बाढीपीडितहरुका उद्धारका लागि एमालेले तोक्यो कमान्डर ,काङ्ग्रेस सभासदहरुले एक महिनाको तलब दिने

प्रकाशित मिति :2017-08-13 13:33:03
Loading...

काठमाडौं – मुलुकका विभिन्न भागमा भएको जनधनको क्षति तथा राहतस्वरुप नेपाली कांग्रेसका सांसदहरुले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् ।

Loading...

नेपाली कांग्रेसले पनि उक्त राहत कोषमा सकेजति रकम संकलन गर्ने निर्णय गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकले उद्धारका लागि कुनै कसर बाँकी नराख्न सरकारलाई सुझाव दिएको जानकारी दिए । त्यसैगरी कांग्रेसका सबै सांसदहरुको एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पनि बताए ।

उद्धार तथा राहतका लागि एमालेले तोक्यो ‘कमान्डर’
शुक्रबार बेलुकीदेखि परेको अविरल वर्षातका कारण तराई–मधेस जलमग्न भइ जनधनको क्षति भएपछि उद्धारका लागि एमालेले स्वयम्सेवक परिचालन गर्ने भएको छ । आइतबार बसेको मोर्चा संगठनको बैठकले कार्यविभाजनसहित जिम्मेवारी फाँडफाँट गरेको हो ।

त्यस्तै एमालेले समयमै कोसीका बाँधका ढोकाहरु नखोल्दा पूर्वी तराईमा विकराल समस्या उत्पन्न भएको परिस्थितिमा तुरुन्तै कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । साथै एमालेले राज्यको सम्पूर्ण शक्ति पीडितहरूको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन सरकारसमक्ष माग समेत गरेको छ ।

कुन जिल्लामा को खटिने ?
एमालेले बाढीग्रस्त सप्तरीमा युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठनलाई परिचालन गर्ने भएको छ । सिरहा अनेरास्ववियुको भागमा परेको छ । धनुषामा अखिल नेपाल महिला संघ खटिने भएको छ । महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, मा सर्लाहीमा अखिल नेपाल किसान महासंघ तोकिएका छन् ।

यसैगरी रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकुद महासंघ, पर्सामा नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)र झापामा जनसाँस्कृतिक महासंघ र मुक्ति समाजलाई राहत तथा उद्धारमा पठाइने एमालेले जनाएको छ ।

मोरङमा पेसागत महासंघ, नेपाल सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले उद्धार र राहतको काम गर्नेछन् भने बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलान्य, कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ खटिनेछन् ।

बैठकले प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि आगामी भदौ १० गते काठमाडौंमा रहेका सम्पूर्ण मोर्चा संगठनका सदस्यहरू भेला गर्ने निर्णय गरेको छ ।

Loading...
Loading...