निजी विद्यालयका बस /क्षमताभन्दा तेब्बर विद्यार्थी

प्रकाशित मिति :2017-08-13 15:25:42
Loading...

एउटा बसमा कति विद्यार्थी अटाउलान् ? हामी अनुमान लगाउन सक्छांै । प्राय: ३३ सिट क्षमताका यस्ता बसमा ४० जनासम्म स्वाभाविक लाग्ला । तर यहाँका विद्यालयले सिट क्षमताभन्दा तेब्बर विद्यार्थी ओसार्ने गरेका छन् । यहाँ दुई सिटमा ६ विद्यार्थी, गल्लीमा उभ्याएर र केही झुन्डिएरसमेत विद्यालय जाने र आउने गरेको देखिन्छ । वर्षौंदेखि यही समस्या भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा सामान्य दुर्घटनामा समेत ठूलो क्षति पुग्ने सम्भावना रहेको अभिभावकको गुनासो छ ।

Loading...

जिल्ला ट्राफिक प्रहरीले सञ्चालन गरेको एक महिने ट्राफिक सचेतना कार्यक्रम समापन कार्यक्रम सकेर फर्किंदै गर्दा तिलकपुरमा एक निजी विद्यालयको बसमा १३० भन्दा बढी विद्यार्थी कोचाकोच भरेर सडकमा दौडिरहेको देखेपछि ट्राफिक इन्स्पेक्टर धर्मेन्द्र रावलले आश्चर्य व्यक्त गरे । शैक्षिक संस्थाजस्तो ज्ञान र अनुशासन सिकाउने संस्थाकै यस्तो अमानवीय व्यवहार देखेपछि तत्काल बस रोकेर हेर्दा विद्यार्थी झुन्डिरहेको र क्षमताभन्दा तेब्बर विद्यार्थी हालेको देखेपछि विद्यार्थी ओरालेर अर्को गाडीमा लैजान विद्यालय प्रशासनलाई सुझाव दिएको बताए । गाडी चालक र विद्यालयलाई अबदेखि यस्तो नगर्न चेतावनीसमेत दिएको उनले बताए ।
‘जिल्लाका अधिकांंश निजी विद्यालयले क्षमताभन्दा धेरै विद्यार्थी ओसार्दा सम्भावित दुर्घटनाको जोखिम बढ्ने र दुर्घटना भइहालेमा पनि बिमादेखि क्षतिपूर्तिसमेत नपाउने जान्दा जान्दै समेत बालमैत्री विपरीत काम भइरहेको छ,’ रावलले भने, ‘बालबच्चालाई जोखिम मोलेर सवारीमा नराख्नुस् भनेर विद्यालयहरूलाई समेत गराएको भए पनि केही विद्यालयले अटेरी गरेकाले तत्काल कारबाही प्रक्रिया अगाडि बढ्दै छ ।’ जिल्लामा केही निजी विद्यालयबाहेक अधिकांशमा पुराना बस सञ्चालनमा छन् । पुरानालाई पेन्टिङ गरेर नयाँरूप दिने र धमाधम क्षमताभन्दा बढी विद्यार्थी बोकिरहेको अभिभावक सिर्जना कट्टेलले बताइन् ।
आफूहरूले बारम्बार भन्ने गरे पनि विद्यालयले आश्वासन मात्र दिने गरेको अभिभावकको भनाइ छ । स्कुल बसको शुल्कबापत महिनामा ३ सयभन्दा बढी रकम असुल्ने गरेका छन् । विद्यार्थी तान्ने होडबाजीमा अधिकांश विद्यार्थीलाई सवारीबापतको रकम छुट गरिदिने कारण पनि जोखिम मोलेर विद्यार्थी आवातजावत गर्न बाध्य भएका छन् । प्याब्सन जिल्ला अध्यक्ष रामप्रसाद पाण्डेका अनुसार नियमसंगत क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी चलाउन नपाइने भए पनि निजी विद्यालयहरूको आफ्नै बाध्यता रहेको बताए ।
‘मासिक ३ सयमा ३ किमिसम्मका विद्यार्थी ओसार्न आर्थिक रूपमा नोक्सान हुन्छ, त्यसैले कहीं कतै त्यस्तो भएको होला,’ उनले भने, ‘स्कुल बस विद्यार्थीको सुविधाका लागि मात्र सञ्चालनमा छन्, यिनीहरूबाट आर्थिक लाभ कुनै पनि विद्यालयले लिएको छैन ।’ जिल्लमा २ सय ५० भन्दा बढी निजी विद्यालय सञ्चालनमा छन् जसमा २ सय विद्यालयका १ भन्दा बढी स्कुल बस छन् । शैक्षिक संस्था भएकाले सरकारी निकाय उदासीनता हँुदा समस्या झन् बढ्दो छ ।

ekantipur.com

Loading...
Loading...