बाढीपीडितका लागि बेनीमा राहत संकलन

प्रकाशित मिति :2017-08-13 16:29:43
Loading...

निरन्तर परिरहेको वर्षाका कारण हालै आएको देशको तराई क्षेत्रमा बाढीबाट पीडित बनेकाहरुका लागि राहत सङ्कलन अभियान शुरु भएको छ ।

Loading...

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा राहत सङ्कलन गरिएको हो । अनेरास्ववियुको शनिबार बसेको आकस्मिक वैठकले बाढी पीडितहरुलाई लक्षित गरी तीन दिनसम्म राहत सङ्कलन अभियान चलाउने निर्णय गरेको हुँदा सोहीअनुसार कार्यक्रम अघि बढाइएको अनेरास्ववियुले जनाएको छ ।

आइतबार बेनी नगरपालिका–२ हाँडेभिरबाट शुरु गरेको अभियान शहिद स्तम्भचोक, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक, कालीपुल बसपार्क हुँदै पिपलचोकसम्म राहत सङ्कलन गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्वकर्माले बताए ।

अभियानको पहिलो दिन नगद ३२ हजार १२० रुपैयाँसहित केही लत्ताकपडा समेत सङ्कलन गरिएको उनले जानकारी दिए । राहत सङ्कलन अभियानमा बजारवासी लगायतले खुलेर सहयोग गरेको उनको भनाई छ । मङ्गलबारसम्म चल्ने अभियानका क्रममा पर्वत बेनी, गलेश्वर र बेनी नगरपालिकासहित विभिन्न ठाउँमा पुगेर राहत सङ्कलन गरिने अनेरास्ववियु जिल्ला सचिव तथा म्याग्दी बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत रहेकी सावित्रा खत्रीले बताइन् ।

अनेरास्ववियुले शुरुवात गरेको राहत सङ्कलन अभियानमा सहयोग गर्न जनप्रतिनिधिसहित सरोकारवाला निकाय सबैलाई आग्रह गरिएको छ । सङ्कलित राहत रकम सम्बन्धित बाढी डुबान क्षेत्रमै पुगेर पीडितहरुलाई वितरण गरिने अनेरास्ववियु अध्यक्ष विश्वकर्माले बताए । राहत सङ्कलन अभियानमा स्वतस्फूर्त रुपमा नगद, खाद्यान्न, लत्ताकपडा सबै प्रकारका सहयोग गर्न आग्रह गरिएको अनेरास्ववियुले बताएको छ ।

Loading...
Loading...