संशोधन प्रस्ताव फिर्ता लिन प्रतिपक्षी एमालेको आग्रह

Loading...

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित भए त्यसले दीर्घकलीन असर गर्ने भन्दै फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । व्यवस्थापिका संसदमा दफावार छलफलका क्रममा एमालेका सांसदले संशोधन विधेयक पारित गर्ने भए आफुहरुले दर्ता गरेको संशोधन समावेश गरेर पारित गर्नुपर्ने बताएका हुन् ।

एमाले सांसद भीम रावल, भरतमोहन अधिकारी, रामेश्वर फुयाँल लगायतले संविधान कार्यान्वयनका बेला सरकारले संशोधनको नाममा राजनीतिक गतिरोध निम्त्याउन खोजेको आरोप लगाएका थिए । संविधानको कार्यान्वयन अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्दै उनीहरुले आवश्यकताका आधारमा संशोधन गर्न सकिने भएपनि त्यसका लागि अहिले उपयुक्त समय नभएको धारणा राखे ।

विधेयकले घुमाउरो शैलीमा हिन्दीलाई कामकाजी भाषा बनाउन खोजिएको, भारतीयलाई वंशजको नागरिकता दिन खोजिएको तथा प्रदेश सभाको अधिकार संकुचन गर्न खोजिएको एमालेको आरोप थियो । यद्यपी सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सांसदले भने विधेकयको बचाउ गरेका छन् । कांग्रेसका मूख्य सचेतक चीनकाजी श्रेष्ठले संविधान समय सापेक्ष बनाउन र सबैका हक अधिकार समावेश गर्न परिमार्जन गर्न लागिएको बताउनुभयो । उहाँले सस्तो लोकप्रियताका लागि संशोधन विधेयक रोक्ने प्रयास नगर्न प्रतिपक्षी दललाई आग्रह गर्नुभयो । संसदको आजको बैठकमा विधेयकमाथीको दफावार छलफलका क्रममा संशोधनकर्ता र अन्य १० जना सांसदले धारणा राखेका छन् ।

सांसदले बोल्ने क्रम नसकिएकाले भोली दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा विधेयकमाथीको दफावार छलफल जारी रहने सभामुख ओनसरी घर्तीले बताउनुभयो । भोलीको बैठकमा संशोधन विधेयकमाथीको दफावार छलफल सकेर भोली नै पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

संविधान संशोधन पारित हुन संसदमा रहेका ५ सय ९२ सांसदमध्ये दुई तिहाइ अर्थात ३ सय ९५ मत आवश्यक पर्छ । राजपाको माग सम्वोधन गर्न सरकारले भाषा, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र सीमांकनको विषय समेटेर गत चैत २९ गते संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयकमा ५० वटा संशोधन परेको छ ।

Loading...



Loading…