केन्द्रबाट प्रतिनिधि छनोट

Loading...

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघको पाँचौं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रबाट सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ ।

खुलातर्फ २०, महिला आरक्षणमा ३ र श्रेणीविहीनमा १ गरी जम्मा २४ प्रतिनिधि सुदूरपश्चिमाञ्चलको धनगढीमा भदौ १३ र १४ गते हुने राष्ट्रिय अधिवेशनका लागि निर्वाचित भएका हुन् । श्रेणीविहीन बाहेक सबैमा निर्वाचन भएको थियो । खुलामा २० पदका लागि २९ र महिला आरक्षणमा ३ पदकका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । श्रेणी विहीनमा आपूर्ति तथा भण्डार शाखाका बद्रीकुमार खत्री निर्विरोध निर्वाचित भए ।

आर्थिक प्रशासन शाखाका फणिन्द्र पछाईंले सर्वाधिक ११९ मत ल्याएर विजयी भए । त्यस्तै प्रचार प्रसार शाखाका बासुदेव निरौला ११५, आर्थिकका रामकृष्ण घिमिरे ११२, आन्तरिक लेखा परीक्षण शाखाका कुमार बस्नेत १११, प्रचारका लोकेन्द्रकुमार बस्नेत र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विकासविक्रम शाहले समान ११०–११०, खेलकुद प्रतियोगिता तथा योजना विभागका सुनीलकुमार दाहाल १०९, निर्माण शाखाका राजु श्रेष्ठ १०६, आर्थिकका सुभाषकुमार पोखरेल १०४, आर्थिककी रमा कोइराला १०२, आर्थिककी ज्ञानु घिमिरे ९९, पर्यटन तथा परम्परागत खेलकुद शाखाका फणिन्द्रप्रसाद पौडेल ९४, खेलकुद चिकित्सा तथा अनुशन्धानकी सरस्वती केसी (भण्डारी) ९०, योजना विभागका सुदिलकुमार विक र आर्थिकका डिल्लीराम काफ्लेले समान ८९–८९, अन्तर्राष्ट्रिय खेलकुद परिसरका दोबे तामाङ र सदस्य–सचिवको सचिवालयका बाबुकाजी श्रेष्ठ (विके) समान ८८–८८, हक्की प्रशिक्षक अश्विनीकुमार अधिकारी ८७ तथा खेलकुद विकास विभागका एकनाथ मगर ८१ मतसहित विजयी भए । आर्थिकका प्रजापति दाहाल विजयी हुने उम्मेदवारमा भाग्यमानी ठहरिए । उनको र परिसरका गोपाल बस्नेतले समान ८०–८० मत भएपछि विजेताको टुंगो गोला प्रथाबाट गरिएको थियो । त्यसमा दाहाल भाग्मानी सावित भएका हुन् ।

महिला आरक्षणमा परिसरकी विमला कार्की, निर्माणकी धनपुर्ण घले र खेलकुद चिकित्साकी ढाकादेवी पराजुली निर्वाचित भए । कार्कीले ७५, घलेले ७३ र पराजुलीले ६७ मत प्राप्त गरे ।
केन्द्रीय प्रतिनिधि चयनको निर्वाचनमा राखेपका विभिन्न विभाग र शाखा, सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर र लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा कार्यरत जम्मा १६३ स्थायी कर्मचारी रहेकोमा १५६ ले मतदान गरेको केन्द्रीय निर्वाचन आयोग कार्यालयका संयोजक वरिष्ठ अधिकृत कमल खनालले जनाएका छन् । खसेको मतमा ११ मत बदर भयो ।

Loading...



Loading…