‘अचानक’ कार्यवाहक सभापति

Loading...

यतिबेला प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भलाकुसारी गर्दैछन्। भारतीय प्रधानमन्त्रीको ‘अचानक कूटनीतिसँगै सुरु भएको प्रधानमन्त्रीको भारत भ्रमण निकै रोचक भएको हुनुपर्छ। नरेन्द्र मोदीले ‘अचानक कूटनीति’को प्रयोग पहिलोपल्ट गरेका हुन्। यद्यपि, यसको कुनै व्याख्या आएको छैन।

तर, परिस्थिति जसरी विकसित भएको छ त्यसबाट यो अनुमान लगाउनु गलत हुनेछैन कि दुई प्रधानमन्त्री बीचको वार्ता भारत र चीनका बीच अहिले विवादको केन्द्र बनेको भुटानी भूमि ‘दोक्लममा नै केन्द्रित थियो।

नेपाल र भारतका बीचमा सयौं समस्या ‘विद्यमान र ‘वरकरार रहे पनि ‘अचानक’कुटनीतिको प्रयोग गर्नपर्ने तहका समस्या छैनन्। आशा गरौं, प्रम देउवाले ती समस्याहरुको क्रमवध्द समाधान खोजेर आफ्ना विरोधीहरु र राष्ट्रवादको नाममा उल्क्याइएका अराजक भिडको मुख बन्द गर्ने प्रयत्‍न गर्नेछन्।

यो टिप्पणी प्रम देउवाको निर्णयमाथि भए पनि उनको भारत भ्रमणमा केन्द्रित छैन। यो टिप्पणीको केन्द्र नेपाली कांग्रेस हो। यतिबेला कांग्रेस सभापति देउवाको ‘अचानक’ निर्णयबाट कांग्रेसका सबै तहका नेता हलचलमा छन्।

दिल्ली प्रस्थान गर्नुअघि सभापति देउवाले सभापतिको ‘कार्यवाहक’ बिमलेन्द्र निधिलाई तोकेपछि सुरु भएको यो हलचल कांग्रेस राजनीतिमा निर्णायक रहेको छ। सभापतिले आफ्नो कार्यभार कसलाई देलान भन्नेमा पार्टीभित्र रहेको ठूलो उत्सुकताको अन्त्य गर्दै विमलेन्द्र निधिलाई कार्यवाहक सभापति बनाएपछि कांग्रेस परिवर्तनको दोस्रो चरण र दोश्रो चक्रमा प्रवेश गरेको छ।

यो निर्णयले पौडेल समूहको नाममा चिनिएका कांग्रेसीहरुलाई निकै अप्ठेरोमा पारेको छ। किनभने, उनीहरु सभापतिको निर्णयलाई चुनौति दिन सक्ने अवस्थामा छैनन्। स्पष्ट भएको छ, सभापति देउवाले पार्टी नेतृत्व तेस्रो पुस्तामा सार्न खोजेका छन्। निधिको चयन त्यो प्रक्रियाको प्रारम्भ हो।

नेपाली कांग्रेसको राजनीतिमा नेताका सन्तानहरुको बर्चस्व खासै स्थापित भएको छैन। पार्टीको महाधिवेशनमा चुनाव जितेरै कोइराला परिवारबाट नेतृत्वमा आएका नयाँ पुस्ताका उल्लेख्य सदस्य शशांक कोइरालामात्रै जसको व्यक्तिगत पृष्ठभूमि राजनीतिक छैन। विशेषज्ञ नेत्र चिकित्सकका रुपमा स्थापित भइसकेका शशांकको राजनीतिमा आगमनको एउटा कारण आफ्ना गौरवशाली पिता वीपी कोइरालाको उत्तराधिकारीका रुपमा स्थापित हुने मोह मुख्य हो।

कोइराला परिवारबाट राजनीतिमा सक्रिय अर्का सदस्य शेखर कोइराला पेशाले डाक्टर हुन्। कालाजार रोगका विशेषज्ञ शेखरमा कोइराला परिवारको बिँडो थाम्ने मोह पक्कै रहेको छ। तर, उनी आफ्नै राजनीतिक हैसियत र खुवीको भरमा अगाडि बढ्न चाहन्छन्। शशांक राजनीतिक मैदानमा ओर्लिसकेपछि कोइराला परिवारका ‘अन्य’ सदस्य शेखर र सुजाताको कांग्रेसको उत्तराधिकारमा दावी रहन नसक्ने अवस्था त आफ्नो ठाउँमा छँदैछ।

उत्तराधिकारको लहरमा प्रकाशमान सिंह पनि रहेका छन्। गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहमा पिताको जस्तो राजनीतिक खुवी र उदारता देख्न पाइएको छैन। त्यस्तो खुवी र उदारता भएको भए कुनैबेला प्रकाश आफैँले तयार गरेको ‘टिम’ तहस–नहस हुने थिएन। चाहे कांग्रेसले मेयरमा उठाएका राजु जोशी हुन्, नवीन्द्र जोशी हुन्, भीमसेनदास हुन् र अरु हुन – यी सवै प्रकाशका सहयोगी थिए। कालान्तरमा यी सबै सहयोगी प्रकाशबाट अलग भए। प्रकाशको महत्वाकांक्षाको आगोमा काठमाडौं उपत्यकाको कांग्रेस संगठन नराम्रोसँग जल्यो।

यतातिर प्रकाशले ध्यान दिएको भए स्थानीय तहको चुनावमा कांग्रेसले पराजयको महामारी बोक्नुपर्ने थिएन। प्रकाशको अभिमान र अनुदार राजनीतिले उनलाई र पार्टी संगठनलाई फाइदा भन्दा बढी हानी नै गरेको छ। गणेशमान सिंहको सुपुत्रका रुपमा प्रकाशमान सिंहलाई जनताले कदर गर्नु अलग कुरा हो। उनैलाई गणेशमान सिंहको अवतार मान्न कोही तयार हुने कुरै आउँदैन।

कोइराला र सिंहपछि कांग्रेसका महत्वपूर्ण नेता हुन् – महेन्द्र नारायण निधि। पन्चायती सरकारले भारतीय भूमिमा घुसेर सरोजप्रसाद कोइरालाको हत्या गरेपछि तराई मधेशमा नेपाली कांग्रेस पार्टीको पूरै जिम्मेवारी निधिको काँधमा आयो। मधेशमा उनको स्तरको अर्को नेता पनि थिएन। कोइराला र निधि राजनीतिमा प्रतिद्वन्द्वी पनि थिए र घनिष्ठ मित्र पनि। नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष विमलेन्द्र निधि उनै महेन्द्र नारायण निधिका कान्छा छोरा हुन्। पार्टीभित्र निधिको छवि गान्धीवादी थियो। अहिंसाका कट्टर पक्षपाती।

निधिजीको वौध्दिक व्यक्तित्व मधेश पहाड सबैतिर चर्चित थियो। देशको राजनीतिमा निधिजीको ‘डोमिनेटिङ’ भूमिका रहेको अवस्थामा विमलेन्द्र निधि विद्यार्थी राजनीतिमा लागेका थिए। २०३६ सालको जनमत संग्रह र त्यही वर्ष जनकपुरमा भएको नेपाल विद्यार्थी संघको अधिवेशनले उनलाई आफनो पिताको राजनीतिमा आश्रित हुनुपर्ने आशंकाबाट पूर्णतया मुक्त गर्यो।

विद्यार्थी नेताहरुमा नेविसंघको अध्यक्ष बन्ने अप्रिय होडवाजी वढ्दै गएपछि वीपीले त्यतिवेला जुँगाको रेखी पनि राम्ररी नबसेका विमलेन्द्रलाई नेविसंघका सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने विचार प्रकट गर्नुभयो। मानिसहरु छक्क परे। वीपीले मधेशको भर्खरको एउटा कलिलो केटोलाई नेपाली कांग्रेसको विद्यार्थी संघको शीर्ष नेतृत्वमा स्थापित गरेर पहाड मधेश सबैतिर एकताको सन्देश दिनु भयो। यसरी भएको थियो राजनीतिज्ञका रुपमा विमलेन्द्रको जन्म।

त्यो घटनाको झण्डै चार दशकपछि सभापति देउवाले विमलेन्द्रलाई कार्यवाहक सभापति तोक्‍नु संयोगमात्र होइन। देउवाले आफू पाँच पटक देशको प्रधानमन्त्री हुने ‘ठट्टा’गरेपनि कांग्रेसको राजनीति तेस्रो पुस्ताको जिम्मा लगाउने रणनीति अनुरुप नै विमलेन्द्रलाई अहिले कार्यवाहक र पछि उप–सभापति बनाउने सोचेको हुनुपर्छ। यसमा सभापति देउवाकै स्वार्थ पनि अनुप्रेरित रहेको हुन सक्छ। तर, निधिको वढुवाले स्थानीय चुनावको सन्दर्भमा दुई नम्बर क्षेत्रमा कांग्रेस नेतृत्वको रिक्तता हटाएको छ। उनको हातमा आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनको कमाण्ड रहेको छ।

उनले दुई नम्बर क्षेत्रमा कांग्रेसलाई चुनाव जिताएर अन्यत्र भएको पराजयको प्रभाव न्यून बनाउनु छ। कांग्रेसमा आन्तरिक विरोधीलाई सहमत तुल्याएर अघि बढ्नुपर्ने अवस्था रहेका बेला निधिका लागि बाटो त्यति सजिलो छैन। तर, वर्तमान राजनीतिको चरित्र राम्ररी बुझेका निधि समाधान निकाल्न पनि उत्तिकै तिक्ष्ण छन्।

कसैलाइ मन परे पनि र मन नपरे पनि, विमलेन्द्र स्वयं वीपी कोइरालाद्वारा नेतृत्वमा स्थापित व्यक्तित्व हुन्। त्यसको पूरै गर्व छ उनलाई। सत्ता राजनीतिमा सधैँ कांग्रेसभित्रको संस्थापन पक्षका प्रखर विरोधी रहेका विमलेन्द्र अहिले आफै संस्थापन पक्षका सूत्रधार बनेका छन्। कांग्रेसभित्रको समीकरण बुझ्न उनका आगामी राजनीतिक योजनाहरुको अनुगमन चाखलाग्दो र महत्वपूर्ण हुनेछ।

Loading...



Loading…