चितवनमा देखियो ‘ए मेरो हजुर २’ को क्रेज

Loading...

भाद्र १६ गतेलाई रिलिज कन्फर्म गरेको वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को टिम अहिले मोफसल दौडाहामा छ । हेटौंडाबाट पत्रकार भेटघाट र कन्सर्टको थालनी गरेको टिमले विहीबार चितवनमा दर्शकमाँझ साक्षात्कार गर्‍यो ।

बिहान चितवनमा पत्रकार सम्मेलनको आयोजना गरेको टिमले दिउँसो चितवनका दर्शकसँग तिज सेलिव्रेशन गर्‍यो । ‘ए मेरो हजुर २’ सँग तिज मनाउन सयौं दर्शकको उपस्थिति थियो । दर्शकले फिल्मको टिमसँग ‘ए मेरो हजुर २’ का हिट गीत गाउँदै रमाईलो गरे । ‘ड्रिम्स’बाट युवापुस्तामाझ राम्रो क्रेज बनाएकी साम्राज्ञीलाई हेर्न सयौं दर्शकको भिडले नै फिल्मप्रति दर्शकको प्रतिक्षा व्यग्र रहेको स्पष्ट हुन्थ्यो ।

‘ए मेरो हजुर २’ टिम चितवन, बुटवल, पोखरा हुँदै राजधानी फर्किनेछ । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको यो फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् ।

बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो । स्व.शिब रेग्मीको निर्देशन रहेको ‘ए मेरो हजुर’मा झरना थापा र स्व.नायक श्रीकृष्ण श्रेष्ठले मुख्य भुमिका थियो ।

Loading...



Loading…